बन्दीपुरमा गाउँमै स्वास्थ्य सेवा अभियान : “अस्पताल टाढा थियो, डाक्टर गाउँमै आए – सेवाग्राही”
भञ्ज्याङन्यूज

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा बुधबार बन्दीपुर अस्पतालले घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । अस्पतालले गाउँमै शिविर सञ्चालन गर्ने थाहापाएपछि स्थानीय सुशिला गुरुङ पनि उपचार सेवा लिनका लागि आइपुगेकी थिइन् ।
२८ वर्षीया सुशिला ३२ हप्ताको गर्भवती थिइन् । आफ्नो गर्भ र गर्भमा भएको शिशुको अवस्थाका विषयमा जानकार हुन चाहेपनि त्यसका लागि उनलाई सहज थिएन । अस्पतालले सञ्चालन गर्ने शिविरमा डा. राजेश रेग्मीबाट अल्ट्रासाउन्ड जाँच गराएर आफ्नो गर्भ र शिशुको अवस्था जानकार हुँदा उनि निकै खुशी देखिन्थिन् ।
अल्ट्रासाउन्ड गराउन बन्दीपुर, डुम्रे, दमौली वा पोखरा जानुपर्ने अवस्था थियो। खर्च, यात्रा र साथमा लैजान मान्छे खोज्नुपर्ने झन्झटले उनले जाँच गराउन सकेकी थिइनन् । तर बुधबार धरमपानी स्वास्थ्य चौकीमै बन्दीपुर अस्पतालको चिकित्सकीय टोलीले दिएको उपचार सेवाले उनि खुशी हुँदै भनिन्, ‘पहिलो पटक गाउँमै यस्तो सेवा पाएँ, अस्पताल टाढा थियो, डाक्टर गाउँमै आए ।’

सुशीलाजस्तै धेरै स्थानीयका लागि गाउँपालिका र अस्पतालको सहकार्यमा सञ्चालन भएका घुम्ती स्वास्थ्य शिविर राहत मात्र होइन, आशाको आधार बन्दै गएका छन् ।
बन्दीपुर गाउँपालिका र गाउँपालिका अन्तर्गतको बन्दीपुर अस्पतालले ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गर्दै ‘गाउँमै स्वास्थ्य सेवा अभियान’ सञ्चालन गर्दै आएका छन् । यसरी सञ्चालन गरिएको स्वास्थ्य सेवा प्रभावकारी बन्नुका साथै ग्रामीण क्षेत्रका बासिन्दाले सहज रुपमा स्वास्थ्य सेवा लिदै आएका छन् ।
गाउँपालिका र अस्पतालको सहकार्यमा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएका घुम्ती स्वास्थ्य शिविर तथा विशेषज्ञ स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै गएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा बताउँछन् । माघ महिनामा सञ्चालन गरिएका विभिन्न कार्यक्रमबाट सयौंको संख्यामा स्थानीय लाभान्वित भएको उनले बताए ।

‘स्वास्थ्य सेवामा सर्वसाधारण नागरिकको पहुँच सहज बनाउन गाउँपालिकाले महिनामा एक दिन प्रत्येक स्वास्थ्य संस्थाबाट बन्दीपुर अस्पतालसम्म दुईतर्फी निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको छ’, अध्यक्ष थापाले भने, ‘दुर्गम क्षेत्रका नागरिकलाई अस्पतालसम्म ल्याउन–लैजान उक्त सेवा प्रभावकारी बन्दै गएको छ ।’
गाउँमै स्वास्थ्य, बढ्दो विश्वास
ग्रामीण क्षेत्रमा अस्पतालसम्म पुग्न समय, पैसा र यातायात सबै चुनौतीपूर्ण हुन्छन्। त्यसमाथि महिला र ज्येष्ठ नागरिकका लागि झन् कठिन । यस्ता घुम्ती शिविरले त्यो दूरी घटाइदिएको बन्दीपुर गाउँपालिका–६ धरमपानीकी केशु गुरुङ बताउँछिन् । उनले भनिन्, ‘यो कार्यक्रम सोचेभन्दा धेरै प्रभावकारी देखिएको छ। समुदायमा देखिएको उत्साहले आगामी दिनमा यस्ता कार्यक्रमको निरन्तरताका लागि गाउँपालिका र अस्पताललाई थप प्रेरणा समेत मिलेको देखिन्छ ।’
गाउँपालिका र अस्पतालबीचको सहकार्यले स्वास्थ्य सेवा पहुँच विस्तारमा स्थानीय तहको सक्रियता कति प्रभावकारी हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको वडा नं. १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठले बताए । उनले भने, ‘गाउँमै विशेषज्ञ सेवा, नसर्ने रोगको प्रारम्भिक जाँच, जनचेतनामूलक कार्यक्रम र खोप अभियान जस्ता कार्यक्रमले ग्रामीण स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने संकेत देखाएको छ ।’

वडाअध्यक्ष श्रेष्ठले भने, ‘ग्रामीण क्षेत्रका बासिन्दालाई त धेरै ठूलो कुरा चाहिँदैन, समयमै उपचार पाउनु पनि ठूलो कुरा हो, स्वास्थ्य सेवा गाउँमै पुग्दा परिवर्तनको सुरुआत त्यहीँबाट हुन्छ भन्ने हामीले महशुस गरेका छौ । बन्दीपुरमा त्यो सुरुआत देखिन थालेको छ ।’
यस्तै, अस्पतालले मंगलबार सारङ्घाट शहरी स्वास्थ्य केन्द्रमा सञ्चालन गरेको शिविरमा ३३ महिला र १३ पुरुष गरी ४६ जनाले सेवा लिएका छन्। बुधबार धरमपानी स्वास्थ्य चौकीमा आयोजित शिविरमा ४४ महिला र १८ पुरुष गरी ६२ जना सेवाग्राही लाभान्वित भएका छन्। दुई दिनमा कुल १०८ जनाले गाउँमै स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि सेवा पाएको अस्पतालका प्रमुख डा. अनिल गिरीले बताए ।
गाउँपालिकाले उच्च रक्तचाप, मधुमेह, मुटुरोग र क्यान्सरजस्ता नसर्ने रोगको समयमै पहिचानका लागि समुदायस्तरमै ‘मास स्क्रिनिङ’ अभियान सञ्चालन गरिरहेको जनाएको छ । सारङ्घाटमा सञ्चालित शिविरमा सेवा लिन आएका अधिकांश सेवाग्राहीले शिविरमार्फत पहिलो पटक आफ्नो रक्तचाप असामान्य रहेको थाहा पाएको बताएका थिए । अस्पतालका अनुसार, प्रारम्भिक परीक्षण र जनचेतना अभिवृद्धिले दीर्घकालीन स्वास्थ्य जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

मासिक निःशुल्क स्वास्थ्य परीक्षण
यस्तै, महिनामा एक दिन सञ्चालन हुने निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत माघ २० गते बन्दीपुर गाउँपालिका–२ स्थित कुकुर्दी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ८४ जनाले सेवा लिएका थिए । कार्यक्रममा डा. रजनी कुमारी यादव, स्वास्थ्य सहायक दिवस पौडेल लगायतको टोली सहभागी थियो ।
माघ २१ गते सुकौरा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित कार्यक्रममा ६९ जना लाभान्वित भएका छन्। तीमध्ये ४७ महिला र २२ पुरुष रहेका थिए । कार्यक्रममा डा. सुश्मिता खड्का क्षेत्री सहितको चिकित्सकीय टोली खटिएको थियो।
माघ १६ गते बन्दीपुर अस्पताल परिसरमा सञ्चालन गरिएको एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरमा कुल ३१४ जनाले सेवा लिएका छन्। तीमध्ये २२२ जना शिविरका सेवाग्राही र ९२ जना नियमित बिरामी रहेको अस्पतालले जनाएको छ ।

शिविरमा स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, छाला, मानसिक स्वास्थ्य, बाल रोग, दन्त सेवा, इन्टरनल मेडिसिन, रेडियोलोजी (भिडियो एक्स–रे), ईसीजी तथा ब्लड सुगर परीक्षण सेवा प्रदान गरिएको थियो । आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको जनाइएको छ ।
एचपीभी खोप अभियान सञ्चालन
यस्तै, पाठेघरको मुखको क्यान्सर रोकथामका लागि बन्दीपुर गाउँपालिकाले एचपीभी खोप अभियान विद्यालय केन्द्रित रूपमा सञ्चालन गर्ने भएको छ । खोप अभियान प्रभावकारी बनाउन पालिका स्तरीय समन्वय समिति, स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिएको छ ।
गाउँपालिका र अस्पतालको सहकार्यमा सञ्चालन भइरहेका कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तारमा सकारात्मक प्रभाव पारिरहेको गाउँपालिकाका अध्यक्ष थापाले बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।

गाउँपालिका अध्यक्ष थापाले भने, ‘ग्रामीण समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि गर्दै समयमै रोग पहिचान र उपचार सुनिश्चित गर्न यस्ता घुम्ती शिविरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्यले मात्रै यस्ता कार्यक्रम दीर्घकालीन रूपमा सफल हुने हुँदा सरोकारवालाले निरन्तर सहयोग र समन्वय खाँचो रहेको छ ।’











