निःशुल्क स्वास्थ्य शिविरबाट ३३३ जना लाभान्वित

तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारमा शनिवार एक दिने निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आरजे शाही फाउन्डेसनको आयोजना, व्यास नगरपालिका तथा वडा नं १४को सहकार्य एवम् फिस्टेल हस्पिटल पोखराको सहयोगमा निःशुल्क शिविर सम्पन्न भएको हो ।
शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ परिक्षण गरी सम्बन्धित रोगको निःशुल्क औषधि पनि वितरण गरिएको थियो । शिविरबाट केशवटार, कुलुङ्ग, ठिन, रामकोट लागयतका क्षेत्रका ३३३ जना बिरामीहरु लाभान्वित भएका छन् ।
फिस्टेल हस्पिटल पोखराका अध्यक्ष हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.भोला श्रेष्ठको नेतृत्वमा मुटु रोग सम्बन्धि डा.विश्व बराल, बाल रोग सम्बन्धि डा .दिलीप ओझा, महिला तथा स्त्रीरोग डा. पुर्णिमा गुरुङ, डा.एलिजा दुलाल, भुवन गिरि लगायतका चिकित्सकहरुले स्वास्थ परीक्षण गरेका थिए ।
शिविरमा ८० जनाको सुगर परीक्षण गरी बिरामीलाई निःशुल्क औषधी वितरण गरिएको थियो । व्यासका नगर प्रमुख बैकुण्ठ न्यौपानेले कार्यक्रमको उदघाटन गर्दै नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै वडा–वडामा स्वास्थ्य परीक्षणका योजना बनाएको बताए। नगरपालिका महिला, बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य प्रति संवेदनशील रहेको चर्चा गर्दै न्यौपानेले विभिन्न सेवामुलक संस्थासँग सहकार्य गरी स्वास्थ्यका क्षेत्रमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
व्यास–१४का वडाध्यक्ष काजीमान श्रेष्ठले सबै नागरिकलाई सर्वशुलभ र सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न आफु प्रतिवद्ध रहेको बताए । भौगोलिक कठिनाईका कारण नागरिकले स्वास्थ्य सेवा लिन टाढा धाउनुपर्ने अवस्थामा गाउँमै विशेषज्ञ सहितको सेवा पाएकोमा खुसी व्यक्त गरे ।










