भानुका केही करार कर्मचारीको म्याद नथपिएको प्रति कर्मचारी संघ संगठनको आपत्ती

तनहुँ । तनहुँको भानु नगरपालिकाले करारका कर्मचारीको म्याद नथपिएको प्रति कर्मचारी सम्बद्ध संघ संगठनहरुले आपत्ती जनाएका छन् । नेपाल निजामती कर्मचारी संगठन तनहुँ, स्थानीय तह कर्मचारी संघ नेपाल तथा भानुका करार कर्मचारीहरुले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी आपत्ती जनाएका छन् ।
भानु नगरपालिकाको हालै सम्पन्न १४औं नगरसभाद्वारा नगरपालिकामा कार्यरत ६ जना कर्मचारीहरूको करार सम्झौता अन्त्य गर्ने निर्णय गरेपछि कर्मचारी सम्बद्ध संघ संगठनहरुले आपत्ती जनाउँदै ध्यानाकर्षण भएको बताएका छन् ।
नगरपालिकामा कार्यरत कर्मचारीहरूको सेवा सुविधा तथा वृद्धि विकासको प्रत्याभूति मार्फत उनीहरूको मनोभावनालाई उच्च बनाई सेवा प्रवाहमा चुस्तता कायम गर्नुको सट्टा महालेखा परीक्षकको प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको परिपत्र लगायतका विषयवस्तुलाई जोडेर व्यक्तिगत पूर्वाग्रह तथा राजनीतिक पूर्वाग्रहको आधारमा कर्मचारीहरूको करार सम्झौता अन्त्य गरिनु असान्दर्भिक निर्णय भएको भन्दै उक्त निर्णय तत्काल पुनःविचार गर्न नगरसभाका अध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई अनुरोध गरिएको छ ।
विज्ञप्तिमा जनताको घरआँगनको सिंहदरवारको रुपमा रहने स्थानीय निकायहरुमा ‘जनताका आलीदेखि थालीसम्म’ तथा ‘गोठदेखि ओठसम्मका’ सेवा तथा विकास निर्माणका काम जनप्रतिनिधि र कर्मचारीहरुको सक्रिय समन्वयबाट मात्र सम्भव हुन्छ भनिएको छ । ‘जनप्रतिनिधि र कर्मचारी एक रथका दुई पांग्रा जस्तै हुन् । रथ आफ्नो गतिमा गुड्नको लागि दुबै पांग्रा चुस्त दुरुस्त हुनु आवश्यक भए जस्तै योजना तथा आयोजना रुपी रथ समयमै गन्तव्यमा पुग्नको लागि जनप्रतिनिधि तथा कर्मचारीको प्रभावकारी क्रियाशीलता, समन्वय र सहकार्य आवश्यक पर्छ’, नेपाल निजामती कर्मचारी संगठन तनहुँका अध्यक्ष रुद्रसिंह ठकुरी, स्थानीय तह कर्मचारी संघ नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा लगायतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
भानुको १४औं नगरसभाद्वारा नगरपालिकामा कार्यरत कर्मचारीहरुको सेवा सुविधा तथा वृत्ति विकासको प्रत्यभूती मार्फत उनीहरुको मनोभावनालाई उच्च बनाई सेवा प्रवाहमा चुस्तता कायम गर्नुको सट्टा व्याक्तिगत पूर्वाग्रहका आधारमा समग्र नगरको संस्थागत स्मृतिको रुपमा करिव दुई दशकदेखि कार्यरत ६ जना कर्मचारीहरुको मात्र करार सम्झौता अन्त्य गर्ने निर्णयले आम कर्मचारीहरुमा जनप्रतिनिधिहरु प्रतिको विश्वास र सेवाको सुरक्षाको विषयमा शंका पैदा गरेको संगठनले जनाएको छ ।
विज्ञप्तिमा महालेखा परिक्षकको प्रतिवेदन बमोजिम करार मार्फत पदपूर्ति गर्न नसकिने पदहरुको हकमा नगरपालिकाको आवश्यकता तथा औचित्यको आधारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण मार्फत नगरपालिकाले लोकसेवा आयोगको वार्षिक कार्यतालिका अनुसार माग आकृति फारम भरी पदपूर्तिको प्रक्रिया अगाडि बढाउने तथा तत्पश्चात लोकसेवाबाट सिफारिस भएका स्थायी कर्मचारीहरुद्वारा क्रमिक रुपमा करारको कर्मचारीहरुलाई विस्थापन गर्ने कानुनी प्रावधानको वर्खिलाप गर्दै सिमित कर्मचारीहरुको मात्र करार सम्झौता अन्त्य गरी नगरसभाले निज कर्मचारीहरुको प्राकृतिक न्यायको सिद्धान्त उपर गरेको असान्दर्भिक निर्णयको भत्र्सना गर्दै उक्त निर्णयलाई तत्काल पूनर्विचार गर्न कर्मचारी सम्वद्ध संघ संगठनले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नगरपालिकाले आइतबार नगरसभामा मार्फत ६ जना कर्मचारीहरूको करार अवधि नथपिने निर्णय गरेको थियो । महालेखा परिक्षकको कार्यालयले कानुनविपरीत नगरपालिकाले करारमा कर्मचारी राखेको भनी पटक–पटक प्रतिवेदनमा उल्लेख गर्दै आएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताएका छन्। यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत कानुन विपरीत राखेका कर्मचारीहरूको सम्पूर्ण कागजात १५ दिनभित्र उपलब्ध गराउने आदेश दिएसँगै मलेपको प्रतिवेदनमा नाम नै तोकिएका छ जना कर्मचारीहरूको करार अवधि नथप्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker