म्याग्देका कर्मचारीद्वारा निजामती सेवा दिवस बहिष्कार
भञ्ज्याङन्यूज

तनहुँको म्याग्दे गाउँपालिकाका कर्मचारीले निजामती सेवा दिवस बहिष्कार गर्ने निर्णय गरेका छन् । सरकारले स्थानीय तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा नसमेटेको विरोधमा गाउँपालिकामा कार्यरत कर्मचारीले भदौ २२ गतेको निजामती सेवा दिवस बहिष्कार गर्ने निर्णय गरेका हुन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितराज रानालाई मंगलबार ज्ञापनपत्र बुझाउँदै कर्मचारीहरुले उक्त दिन विरोध स्वरुप कालोपट्टी बाँध्ने निर्णय गरेका छन् ।
संघीय निजामती सेवा ऐनको मस्यौदामा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको मानमर्दन र विभेदपूर्ण मस्यौदा तयार भएकाले सो मस्यौदा सच्याउँदै संघीय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन हुनुपर्ने माग गरिएको छ ।
यस्तै स्थानीय तहमा कार्यरत कर्मचारी पदोन्नति भई संघ एवं प्रदेश निजामती सेवामा प्रवेश हुँदा सेवा अवधि गणना हुनुपर्ने, प्रदेश र संघीय निजामती सेवाको माथिल्लो तहको आन्तरिक प्रतिस्पर्धामा समावेश हुन पाउनुपर्ने, स्थानीय तहका सम्पूर्ण कर्मचारीको सेवा निवृत्त हुँदाको रकमको सुनिश्चितता हुनुपर्ने माग गरिएको छ ।










