प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत- ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातसम्बन्धी समझदारी हुने

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघबाट सीधै हुने चीनको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, कृषिलगायतका बिषयमा दुईपक्षीय छलफल र केही विषयमा समझदारी हुने उनले बताइन् ।
बैठकले संविधान दिवसका अवसरमा प्रदान गरिने विभूषण वितरणलाई मर्यादित बनाइ राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी कानून अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको छ ।
कार्यदलको अध्ययन प्रतिवेदन नआएसम्म हाललाई विभूषण प्रदान कार्य स्थगन गरिएको प्रवक्ता शर्माले जानकारी दिइन् । बैठकले कर प्रणाली सुधार गर्न समिति गठन गर्ने निर्णय पनि गरेको छ । पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा उक्त समिति गठन हुने मन्त्री शर्माले बताइन् ।
चाडपर्वलाई ध्यानमा राखेर साल्ट ट्रेडिङ र खाद्य व्यवस्थालाई ५० प्रतिशत भन्सार छुटमा १०-१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने निर्णय गरिएको उनले बताइन् ।
त्यस्तै बैठकले सिंचाइ नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल नागरिकता ऐन तेस्रो संशोधन नियमावली पनि स्वीकृत गरिएको छ ।
सरकारकी प्रवक्ता मन्त्री शर्माका विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय नि बैठकले गरेको छ ।
त्यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडित जनताको न्यायिक समस्या स्थायी रुपमा समाधान गर्न अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय गरिएको छ ।