मेरो भूमिका देशले खोजेको छ : कांग्रेस नेता पौडेल
भञ्ज्याङ समाचारदाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावपछि प्रधानमन्त्रीमा हुने इच्छा देखाएका छन् । गृह जिल्ला तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६औं वार्षिकोत्सवमा शनिबार वरिष्ठ नेता पौडेलले मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिन आफ्नो भूमिका देशले खोजेको बताए।
‘देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ । त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी छ’ पौडेलले भने, ‘देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म सक्रिय राजनीतिमा छु, देशको उन्नति र प्रगति भविष्यमा कसरी गर्न सक्छौं भन्ने दूरदृष्टि पनि मसँग छ। कार्यकारी भूमिका खेलेर सुशासन दिने सामर्थ्य पनि छ ।’
सुशासन भए मात्रै राष्ट्रले समृद्धि हासिल गर्न सक्ने र, सुशासन दिन कार्यकारी पदमा पुग्नेसंग नैतिक बल चाहिने उनले बताए । पौडेलले भने, ‘त्यो मसँग छ । म देश बनाउने कर्तव्यबाट भाग्ने मान्छे होइन । नडगमगाई, विचलित नभई १४ वर्षजेल बसे, देश बनाउने आँट मसंग छ ।’
पौडेलले युवा र पाको नेता दुवै मिलेर देश विकास गर्नुपर्ने बताए । युवाले राजनीतिमा आउनै हुन्न भन्ने होइन र पाकाले राजनीति गर्न हुँदैन भन्ने पनि नहुने उनको तर्क थियो ।
नेता पौडेलले केही दिन अगाडि आफूले हारेकै निर्वाचन क्षेत्रबाट जितेर मर्ने चाहना छ भन्ने अभिव्यक्ति दिएका कारण पनि तनहुँ-१ को भागबण्डा पेचिलो बनेको राजनीतिक वृत्तमा चर्चा छ। २०७४ को निर्वाचन जितेका कृष्णकुमार श्रेष्ठ (किसान) अहिले नेकपा एकीकृत समाजवादीमा छन्। श्रेष्ठको दावी पनि यही क्षेत्रमा छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि पौडेलले तनहुँ १ नछाड्ने संकेत गर्दै भाषण गरे । भाषणका क्रममा सांसद श्रेष्ठले दियो आफूलाई हस्तान्तरण गरेको भन्दै पौडेलले भने, ‘अहिलेको अवस्था पनि यस्तै हो ।’
कार्यक्रमका विशिष्ट अतिथि रहेका सांसद कृष्ण कुमार श्रेष्ठ -किसान)ले आफूले सम्मान गरेर दियो दिएको भन्दै प्रत्यक्ष राजनीतिका लागि आफूहरुलाई मैदान खाली गरिदिन पौडेललाई आग्रह गरे । उनले भने, ‘तपाईलाई माननीय भन्दा ठूलो पदमा पुर्याउँछौ, राष्ट्रपति बनाउन भूमिका खेलौला ।’
क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रम्हतत्त तिमिल्सिनाको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विक, प्रदेश सांसद सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, नेकपा एमाले तनहुँका अध्यक्ष एवं म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, नेपाली कांग्रेसका उपसभापति देवकुमार श्रेष्ठ लगायतले आ-आफ्नो धारणा राखेका थिए ।
यस्तै, सो अवसरमा क्याम्पस स्थापनाकालदेखि सहयोग पुर्याउनुहुने पूर्वराज्यमन्त्री अमरराज कैनी, तमबहादुर दरै र दामोदर खनाललाई सम्मान गरिएको थियो। हाल उक्त क्याम्पसमा तीन हजार एक सय विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।










