कांग्रेस गण्डकी प्रदेश सभापतिका ४ दाबेदार

भञ्ज्याङ समाचारदाता/पोखरा

नेपाली काँग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा उम्मेदवारी घोषणा गर्ने क्रम सुरू भएको छ । प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्ने एकजना संस्थापन समूह (देउवा) र तीन जना वरिष्ठ नेता पौडेल समूहका हुन् । हालसम्म कास्कीका शुक्रराज शर्मा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र पर्वतका अर्जुन जोशीले उम्मेद्वारी घोषणा गरेका छन् । उम्मेद्वारी घोषणा गरी नसके पनि कास्कीकै पौडेल पक्षका यज्ञबहादुर थापा प्रदेश सभापतिका आकांक्षी रहेको बताइएको छ ।

आकांक्षीमध्ये उम्मेद्वारी घोषणा गरेका शर्मा पाका नेता हुन् । कास्की कांग्रेसलाई १७ वर्ष नेतृत्व गरेका शर्मा ७५ वर्ष पुगेका छन् । गण्डकीमा कांग्रेसको संगठन बलियो बनाउन आफूले उम्मेदवारी दिएको बताउने शर्मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन् । २०२६ सालदेखि राजनीतिमा सक्रिय शर्मा आफूलाई पार्टीका सबै पक्षका नेता कार्यकर्ताको समर्थन रहने बताउँछन् ।

त्यस्तै कास्कीबाट नै उम्मेद्वारी घोषणा गरेका देवराज चालिसे पनि पौडेल समूहमै हुन् । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय चालिसे स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको पूर्व सभापति हुन् । बौद्धिक नेताका रुपमा परिचित चालिसे विगतमा २ पटक नेपाली कांग्रेसका तर्फाट उम्मेदवार रहेका थिए । पार्टीलाई स्वतन्त्ररूपमा अगाडि बढाउन र गण्डकीमा कांग्रेस बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको चालिसेको भनाइ छ ।

त्यस्तै तनहुँबाट उम्मेद्वारी घोषणा गरेका नेता रघुनाथ पौडेल पनि वरिष्ठ नेता पौडेलनिकट हुन् । तनहुँ कांग्रेसका पुराना नेता पौडेलले पनि तनहुँ सभापतिमा ३ कार्यकाल नेतृत्व गरिसकेका छन् । आफुलाई वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा. शशांक कोइराला लगायतको र्समर्थन रहेको उनको दावी छ । कांग्रेसका सबै कार्यकर्तालाई क्षमता अनुसारको जिम्मेवारी दिने एजेण्डासहित आफू उम्मेदवार बनेको पौडेल बताउँछन् ।

प्रदेश सभापतिमा पर्वतका अर्जुनकुमार जोशीले पनि उम्मेदवारी घोषणा गरेका छन् । सभापति शेरबहादुर देउवा निकट जोशी ३ कार्यकाल कांग्रेसको केन्द्रीय सदस्य रहिसकेका छन् । त्यसअघि उनी पर्वत कांग्रेसको जिल्ला सभापति थिए । संस्थापन पक्षबाट उम्मेदवारी दिएका जोशीले गण्डकी प्रदेशको संगठन सुदृढ बनाउन केन्द्रीय राजनीतिमा हुँदाहुँदै प्रदेश सभापति बन्न चाहेको बताए।

काँग्रेसको परिवर्तित तालिका अनुसार प्रदेशमा यही मंसिर १५ गते हुने भनिएको मनोनयन दर्ता १७ गतेका लागि सारिएको छ । कांग्रेसका नेताहरूले उम्मेदवार छनोट र निर्वाचन आफ्नो पक्षमा पार्ने भन्दा बलियो कांग्रेस बनाउन जोड दिनुपर्ने कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटको सुझाव छ । कांग्रेस गण्डकी प्रदेश समितिका लागि ११ जिल्लाका महाधिवेसन र प्रदेश प्रतिनिधि गरी करिब २ हजार जनाले मतदान गर्ने छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker