सबै तहको समन्वयमा विकासलाई प्राथमिकता : पूर्व मन्त्री गुरुङ
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं तनहुँ क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार किरण गुरुङले अधुरा योजना पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । भिमाद नगरपालिका वडा नं. ३, ४ र ५ का विभिन्न स्थानमा भएका मतदाता भेटघाट एवं कोण सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
‘प्रदेशको अर्थमन्त्री हुँदा थुप्रै योजना कार्यान्वयन भई सम्पन्न भएका छन् । कतिपय योजना अधुरै छन्’, उनले भने, ‘मैले शुरु गरेका योजना केदार सिग्देलले पुरा गर्नुहुने छ । सिग्देलले शुरु गरेका कामलाई मैले पूर्णता दिनेछु ।’
गुरुङ निर्वातमान प्रदेश सभा सदस्य हुन भने सिग्देल निवर्तमान प्रतिनिधी सभा सदस्य हुन् । नेता गुरुङले क्षेत्र नं. २ प्रदेश १ मा नेता श्यामराजा महत र २ मा सिग्देलसँगको समन्वय र सहकार्यमा तनहुँको २ नम्बर क्षेत्रलाई रुपान्तर गर्ने प्रतिवद्धता जनाए । उनले स्थानीय, प्रदेश र संघीय सरकारसंग समन्वय गरी विकास निर्माण अगाडी बढाउने बताए ।
विगतमा नेपाली कांग्रेसले लामो समयदेखि जितेको यस क्षेत्रलाई ५ वर्षमा विकास निर्माणमा महत्वपूर्ण आधार निर्माण भएको उनले दाबी गरे । उनले भने, ‘गफ र आश्वासन गर्ने भन्दा पनि कामै गर्ने व्यक्तिलाई संसदमा विजयी गराएर पठाउनुहोस ।’
तनहुँ-२ प्रदेश २ का उम्मेदवार केदार सिग्देलले जनताको घरदैलोमा पुग्दा मतदाताले देखाएको मायाले उत्साह थपेको बताए । उनले विगतमा भएका कामको मुल्याङ्कन गरी एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।










