मुख्यमन्त्री पाण्डेको चीन भ्रमण : कोरला नाका सञ्चालन गर्न गण्डकीको प्रस्ताव, तिब्बत सरकार सकारात्मक

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चीन भ्रमणका क्रममा कोरला नाका नियमित सञ्चालनका लागि प्रस्ताव गरेका छन् । तिब्बत स्वायत्त क्षेत्रका लागि सिपिसीका महासचिव वाङ झोङजुनसँगको भेटमा उनले यस्तो प्रस्ताव राख्दा तिब्बत सरकारले सकारात्मक प्रतिक्रिया दिएको छ ।

एक हप्ते चीन भ्रमण सकेर मुख्यमन्त्री पाण्डे आज पोखरा फर्किएका हुन् । नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्ष प्रवेशको अवसरमा तिब्बत सरकारको आयोजनामा भएको कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ गएका थिए ।

भेटका क्रममा मुख्यमन्त्री पाण्डेले दुई देशबिचको व्यापार र पर्यटन प्रवर्द्धनका लागि कोरला नाका सञ्चालन गर्न, तिब्बतको नाका भएर मानसरोवर यात्रा सहजीकरण गर्न र चीनका सहरबाट पोखरा सीधा उडान थप्न आग्रह गरे । उनले तिब्बत र गण्डकीबिच लगानी प्रवर्द्धन गर्ने, चिनियाँ लगानीकर्ता आकर्षित गर्न कर छुटमा सहजीकरण गर्ने तथा पोखराबाट ल्हासा जाने पर्यटकका लागि भिसा र प्रवेश पासमा सहजीकरण गर्न पनि प्रस्ताव गरेका थिए ।

जवाफमा सिपिसीका महासचिव वाङले कोरला नाकालाई व्यवस्थित गर्ने गण्डकी सरकारको प्रयासबारे आफू जानकार रहेको र यो सहकार्यको राम्रो अवसर हुन सक्ने बताए । उनले पर्यटन, कृषि, उद्योग लगायतका क्षेत्रमा सहकार्य गर्न तिब्बत सरकार सकारात्मक रहेको उल्लेख गरे । वाङले २०२३ नोभेम्बरमा आफूले गरेको गण्डकी प्रदेश भ्रमणको स्मरण गर्दै सम्बन्धलाई थप प्रगाढ बनाउन भ्रमणको निरन्तरतामा जोड दिएका थिए ।

भ्रमणकै क्रममा मुख्यमन्त्री पाण्डेले सिपिसीका लिन्जी नगर समितिका पार्टी सचिव आओ लिउक्वान र सो नगरका मेयर बातासँग पनि भेट गरेका थिए । भेटमा पोखरा र लिन्जी सहरबिच पर्यटन, खेलकुद र व्यापार लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा द्विपक्षीय छलफल भएको थियो । मुख्यमन्त्रीको सचिवालयका अनुसार भ्रमण उपलब्धिमूलक रहेको र यसलाई दुवै पक्षले निरन्तरता दिने समझदारी बनेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker