जनताको नासो जनतामा नै फिर्ता भएको छ : नेकपा केन्द्रीय सदस्यद्वय सिग्देल र श्रेष्ठ

- भञ्ज्याङ समाचारदाता (दमौली)
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यद्वय केदार सिग्देल र कृष्णकुमार श्रेष्ठ किसानले जनताको नासो सरकारले जनतालाई नै फिर्ता दिएको बताएका छन् । वहुमतको सरकारले आफुले काम गर्न नसकेको र प्रतिगामी तत्वहरुले देशलाई अराजकता तर्फ उन्मुख गराउन भन्दा जनताको नासो जनतालाई नै फिर्ता दिएर ताजा जनादेश लिनका लागि निर्वाचन जानुको विकल्प नभएको विघटित प्रतिनिधि सभा सदस्य समेत रहेका सदस्यद्वय सिग्देल र श्रेष्ठले बताएका छन्।
तनहुँको म्याग्दे गाउँपालिका-१ स्थित दभुङ्ग पान्धारे मन्दिर संरक्षण संस्था निर्माण गरेको पन्चेश्वर महादेव मन्दिरको आइतबार उद्घाटन गर्दै केन्द्रीय सदस्यद्वय सिग्देल र श्रेष्ठले उक्त कुरा बताएका हुन् ।
‘देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भइसक्दा पनि छापामार शैलीमा पद र शक्तिका लागि संसदमा फोहरी खेल खेल्ने दुस्साहस पार्टी भित्रबाटै भएकाले सरकार संसद विघटन गर्न बाध्य भयो’, सदस्य सिग्देलले भने, ‘जननिर्वाचित बहुमतको सरकारलाई पार्टीभित्रका केही अराजकतत्वहरुले देशको समृद्धि र विकास नचाहनेहरुबाट पटक पटक हमला भएपछि जनताको अधिकारलाई स्थापित गर्न जनताबाट निर्वाचित भएर शासन सत्ता सम्हाल्नका लागि चुनावको घोषणा गरिएको हो ।’ लोकतान्त्रिक विधिबाट चुनावमा गएर सत्ताको नेतृत्व गर्नुपर्नेमा जवरजस्ती गर्नु अलोकतान्त्रिक भएको समेत सदस्य सिग्देलले बताए ।
यस्तै, उक्त कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण कुमार श्रेष्ठ किसानले ओली सरकारले देशका लागि गरेका विकास देख्न नसकेको हुँदा आजको यो अवस्था आएको बताएका छन् । ‘ओली सरकारले जनप्रिय काम गर्दागर्दै पनि आफनै पार्टीबाट धोका भएको र अब जनताद्वारा अनुमोदित हुनका लागि पनि चुनावमा जानुको विकल्प छैन’, सदस्य श्रेष्ठले भने, ‘ओली सरकार नै देश र जनताको लागि आवश्यकता हो । तर पनि देशमा अराजकता मच्चाएर खेल्न खोज्नेहरु हावी हुँदा आफनै सरकारमाथी संसदमा अविश्वासको प्रस्ताव ल्याउनु लोकतन्त्रको मुल्य मान्यतामाथीको हमला हो ।’
संस्थाको अध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षतामा आयोजित मन्दिर उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य श्रीप्रसाद श्रेष्ठ, स्थानीय टेक बहादुर श्रेष्ठ, सन्तकुमार श्रेष्ठ, निर्माण समितिका सचिव राजकुमार श्रेष्ठ, उपाध्यक्ष धनन्जय श्रेष्ठ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










