मुक्तिनाथ, हिन्दू र बौद्धको साझा तीर्थस्थल

के.बि मसाल

मुक्तिनाथ हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । जहा तीर्थाटनका पर्यटकहरु चारधामको तीर्थाटन गरेपछि पनि मुक्ति अथवा मोक्ष प्राप्त गर्नका लागि मुक्तिनाथ पुग्ने गर्दछन । मुक्तिनाथ गण्डकी प्रदेशको मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मा पर्दछ । मुक्तिनाथ समुद्र सतहदेखि ३ हजार ७१० मीटरको उचाईमा पर्दछ । सुन्दर प्राकृतिक दृष्यावलोकन गर्दै मुक्तिनाथ पुग्दा तीर्थाटनका पर्यटकहरुलाई छुट्टै अनुभूती हुन्छ । मुक्तिनाथलाई हिन्दूहरुले मुक्तिक्षेत्र र बौद्धमार्गीहरुले तिब्बती भाषामा छुमिङ ग्यात्सा अर्थात सय पानी भन्दछन् । मुक्तिनाथको ज्वाला निस्कने स्थललाई हिन्दुहरुले ज्वालामाई भन्छन् भने बौद्धहरुले ज्वालामाईलाई गोन्पा बनाई तीर्थस्थलको रुपमा मान्दछन । तिब्बती बौद्धमार्गीहरुको २४ तान्त्रिक स्थानहरु मध्ये छुमिङ ग्यात्साको महत्व धेरै छ । मुक्तिनाथ वैष्णव सम्प्रदायहरुले पनि बिष्णुको अवतारको रुपमा मान्ने गर्दछन ।

मुक्तिनाथको मध्यकाल भन्दा अगाडीको प्राचिन इतिहास भेटिदैन । वि.स. ९३६ मा नेपाल संवत सुरु भएपछि नेपालको इतिहासमा मध्यकाल प्रारम्भ हुन्छ । वि.स ९३६ देखि नेपाल एकीकरण भएको अवधि १८२५ सम्म र लिच्छविकालको समाप्तिपछि र मल्लको पतन हुनुअघिसम्मको ९०० वर्षको अवधि नेपालको इतिहासमा मध्यकाल भनिन्छ । तर मुक्तिनाथको बारेमा निलगिरी, र दामोदर हिमालको पवित्र हिमश्रृंखला मात्र नभएर कृष्ण गण्डकीको उदगमस्थलका बारेमा स्कन्द पुराण र वराहपुराण जस्ता पौराणिक ग्रन्थमा भने मुक्तिनाथको महिमा भेटिन्छ । विश्वमा व्यवस्थित पर्यटनको इतिहास करिवन १ सय ८२ वर्ष भएको छ । र्सव प्रथम सन् १८४१ मा बेलायती नागरिक थोमस कुकले व्यवस्थित र संगठित रुपले मानिसहरुलाई घुमाउन सुरु गरे पछिनै पर्यटनको इतिहास सुरु भएको मानिन्छ । तर मानव जंगली युग पछि सभ्यताको क्रम देखिनै मानिसहरु यात्रामा निस्कने गरेको आकलन गर्न सकिन्छ । इतिहास पढने हो भने सिन्धुघाटी सभ्यताको प्रारम्भ इ.पू. पनि मानिसहरु घुमफिर गर्ने प्रचलन थियो । नेपालको इतिहासमा पनि पर्यटन ब्यवससायको सुरुवात हुनु भन्दा पहिले देखिनै तीर्थाटनका लागि लामो समय पैदल यात्रामा निस्कने प्रचलन थियो ।

मुक्तिनाथको बाटो भएर उत्तरी-पश्चिमी क्षेत्रका महान बौद्ध भिक्षु पद्मसम्भव बौद्ध धर्मको प्रचार-प्रसारका लागि मुस्ताङको कोरला नाका हुदै तिब्बत गएका थिए । मुक्तिनाथमा पनि मध्यकालीन युग देखिनै तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दथिए । तर त्यसबेला सबै तीर्थयात्रीहरु पैदल यात्रामा नै मुक्तिनाथ पुग्नु पर्ने थियो । मुक्तिनाथ पुग्नको लागि त्यो समयमा खासगरी चार ओटा नाका थिए । खासगरी पोखरा तिरबाट मुक्तिनाथ जाने तीर्थाटनका पर्यटकहरु पोखरा, हृयाम्जा, नाउडाडा, चन्द्रकोट भएर बिरेठाटी पुग्ने र बिरेठाटी देखि तिखेढुङगा, उल्लेरी, वनठाटी हुदै घोडेपानी पुग्दथिए । घोडेपानीबाट चित्रे, सिख, घार, कागढुङगा भएर भुरुङ तातोपानी पुग्ने गर्थे । अर्को मार्ग थियो म्याग्दीको बेनी बजार हुदै ।

पश्चिम नेपालबाट मुक्तिनाथ जाने तीर्थयात्रीहरु बिभिन्न पदमार्गबाट म्याग्दीको वेनी बजार हुदै गलेश्वर राखु, वेदखोला, चिप्ल्याङ, दोभा भएर तातोपानी पुग्दथिए । पछि कालिगण्डकी करिडोर निर्माण गर्ने क्रममा चित्ल्याङदेखि महभिर, पोखरे हुदै तातोपनी पुग्ने थिए । तातोपानीदेखि कालिगण्डकीको तिरैतिर दाना, घास, लेते हुदै जोमसोम भएर मुक्तिनाथ पुग्ने गर्दथिए । पदमार्गमा पर्ने टुकुचे र लेते नेपाल र तिब्बतको पुरानो मुख्य ब्यापारी केन्द्र पनि हो । मुक्तिनाथ जाने अर्को बाटो हो थोराङ लेक ! जुन बाटो आजभोली अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने पर्यटकहरु यात्रा गर्दछन । तर त्यो बाटो त्यस बेला त्यति चल्तीको भने थिएन । आठ महिनासम्म हिउ जम्ने थोराङ लेक पार गर्न कठिन थियो । तर पनि मनाङ र उत्तरी गोरखा सामागाउँ क्षेत्रका बौद्धमार्गी तीर्थाटनका मानिसहरु भने थोचे, चामे, हुदै माथिल्लो मनाङ भएर थोराङ लेक पार गरी मुक्तिनाथ पुग्ने गर्दथिए । उपल्लो डोल्पाको छार्का गाउँका मानिसहरु मुस्ताङको साङता पाक्लिङ हुदै एक्लेभट्टी भएर मुक्तिनाथ पुग्दथिए ।

मुक्तिनाथको मन्दिर तामाको छानो र पित्तलको गजुरमा सुनको जलप लगाइएको छ । मन्दिर भित्र भगवान् मुक्तिनाथको तामाको मूर्ति रहेको छ । मुक्तिनाथको दर्शनको लागि विशेषतः चैत्राष्टमी, रामनवमी, ऋषितर्पणी र बडादशैंको पर्वहरु महत्वपूर्ण मानिन्छन् । मुक्तिनाथ मन्दिरमा भगवान विष्णुको शालिग्राम शिलाको रुपमा पूजा गरिन्छ । यस शिलाको निर्माण प्रागैतिहासिक कालमा टेथिस सागरमा पाइने किराको जीवाश्मबाट बनेको मानिन्छ । त्यसबेला जहाँ टेथिस सागर थियो अहिले हिमालय पर्वत पर्दछ । पौराणिक मान्यता अनुसार शालिग्राम शिलामा विष्णुको निवास हुन्छ ।

मुक्तिनाथको मन्दिर भित्रको एउटै शीलालाई हिन्दु र बौद्धमार्गीले आ-आफ्नै ढँगले व्याख्या र पूजा गर्छन । हिन्दुहरुले मूर्तिलाई बिष्णुका रुपमा पुज्छन् । बिष्णुका दायाँ बायाँका मूर्तिलाई लक्ष्मी र सरस्वती मान्छन् । बौद्धमार्गीका पूजारी झुमाले मूर्तिलाई लुवाङ ग्याल्बो अर्थात नाग राजा मानेर पूज्छन् । अनि लुवाङको दायाँ बायाँका मूर्तिलाई नागदेवी भनेर धुप धुँवार गर्छन । हिन्दु मान्यता अनुसार मुक्ति प्राप्तिका लागि ब्रहृमाले पनि मुक्तिनाथमा योगरुप यज्ञ गरेका थिए । त्यसबाट उनले सृष्टि गर्न शक्ति पाएको मान्यता छ । मुक्तिनाथमा प्राचीन नरसिंह गुम्बा छ । गुम्बाभित्र गुरु पद्मसंभवको मूर्ति छ । उनी तिब्बत जाँदा केही समय मुक्तिनाथमा ध्यानमा बसेका थिए । मुक्तिनाथमा अरु गुम्बा र ज्वालामाई मन्दिर पनि छन् । मन्दिर हातामा ढुँगैढुँगाको शाक्यमुनि बुद्ध र रानीपौवा बजारमाथि गुरु पद्मसंभवको मूर्ति बनाइएको छ ।

उपल्लो मुस्ताङको दामोदरकुण्डबाट उदगम हुने मुस्ताङ खोला र मुक्तिनाथको १०८ धाराको पानीबाट उदगम भएको कागखोला कागबेनीमा मिसिय पछि कालीगण्डकी भनिन्छ । हिन्दूहरुका लागि मुक्तिक्षेत्र र कालीगण्डकी अत्यन्तै पवित्र मानिन्छन् । तीर्थाटनका पर्यटकहरुले विशेषगरी कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हुने विश्वास गर्दछन । प्राचीनकालमा अनेकौ ऋषिगणले कालीगण्डकीको महिमा र पवित्रताबाट आकर्षित भइ गण्डकी क्षेत्रलाई आफ्नो तपस्यास्थल बनाएका थिए ।

कालीगण्डकीको किनारमा पाइने ढुंगालाई शालिग्राम भनिन्छ शालिग्राम भित्र पाइने जीवात्माका अवशेषमा अमोनाइट जीवावशेष पाइन्छ । यो पानीमा बग्ने ब्राकियोपोड जीवात्मा हो । शालिग्रामको भित्रि भागमा सुनलगायतको धातु र भगवान् विष्णुको हतियार सुदर्शन चक्रको आकार बनेको हुन्छ । चार रंगमा पाइने शालिग्राम कालो रंगको महत्व मानिन्छ । विश्वकै एकमात्र शालिग्राम पाइने नदीका रुपमा कालीगण्डकीको बेग्लै पहिचान बनेको छ । कागवेणीबाट कालीगण्डकी गलेश्वरधाम, वेणी, रुरुक्षेत्र, राम्दीघाट, हुंगीघाट, खोरीयाघाट, केलादीघाट, रामपुर हुँदै देवघाटमा पुगेपछि त्रिशूली नदीमा मिसिन्छ र नारायणी बन्दछ ।

मुक्तिनाथ पुगेपछि इतिहासमा रुचि राख्ने तीर्थाटनका पर्यटकहरुले मुक्तिनाथको इतिहास खोज्दछन । पाँच दशक अगाडीसम्म मुक्तिनाथ जाने तीर्थाटनका पर्यटकहरुले यात्रामा खाने बस्ने सबै प्रवन्ध आफैले गर्नु पर्दथ्यो । महिनौ दिनसम्मको यात्रामा बास बस्नको लागि अहिले जस्तो होटल, जल र होमस्टेका कुनै सुबिधा थिएन । बाटोमा भेटिने गोठ, भेटीगोठ र पहरा मुनी समेत रात बिताउनु पर्द थियो । त्यो ससमयमा राजा रणबहादुर शाहले बि.स. १९६२ मा मुक्तिनाथ जाने तीर्थाटनका पर्यटकहरुका लागि म्याग्दीको राखु गाउँमा पौवा निर्माण गरी फलफूलको बगैचा समेत लगाएका थिए । पछि बि.स. १९६६ मा गीवार्णयुद्धले पनि रणाबहादुरले राखेको गुठीमा थपि दिएका थिए । त्यसपछि बि.स. १९९४ मा राजेन्द्र शाहले पनि मुक्तिनाथका लागि केहि जमिन गुठीमा राखेका थिए ।

रणबहादुर शाहका पाँच जना रानीहरु थिए । माइली रानी सुवर्णप्रभा थिइन । राजा रणबहादुर शाह आफ्नै भाइ शेरबहादुर शाहबाट १८६३ वैशाख १४ गते काटिएर मारिए । रणबहादुर शाह मारिएको एक महिना नपुग्दै वि.सं.१८६३ मा रानी सुवर्णप्रभाले मुक्तिनाथ जाने तीर्थालुको भोजनको लागि धर्मशाला निर्माण गरिदिइन । रानी बनाएको धर्मशाला भएकोले धर्मशालाको नाम पनि रानीपौवा रहन गयो । सुवर्णप्रभाले धर्मशाला मात्र नभएर मुक्तिनाथको पुजाआजा चलाउनको लागि २ हजार ५३० मुरी माटोको गुठी राखि दिएकी थिइन । ०३२ सालसम्म मुक्तिनाथको मन्दिरको गुठीमा म्याग्दी जिल्लाको राँखु र दोवा गाउँमा २९ हजार नौ सय ९२ रोपनी गुठीको जमिन थियो । त्यसपछि गुठी संस्थानले मन्दिर सन्चालन गर्न भनी १३ हजार रोपनी गुठीको जमिन बिक्रीगरी अक्षयकोष राखेको थियो । गुठीको जमिन बिक्री गर्दा पनि झन्डै १८ हजार रोपनी जमिन बाँकी थियो । पछि जग्गा कमाउने मोहीहरुले मुक्तिनाथको जग्गा रैकरमा परिण गरी आफ्नै नाममा बनाए ।

मुक्तिनाथ क्षेत्रमा सोह्रौँ शताब्दीदेखि मात्र मानवको बसोवास भएको मानिन्छ । जर्मनीहरुले पुरातत्व विभागको अनुमतीमा उत्खनन गर्दा सन् १९८५ मा मुक्तिनाथ क्षेत्रमा नवपाषाण हतियार भेट्टाइएका थिए । उत्खनन गर्दा कतिपय शाल्रि्रामहरुमा ढुंगे चित्र भेटिएको थियो । इतिहासमा मुक्तिनाथको मन्दिर शाहको पालामा निर्माण भएको मानिए पनि कुन राजाको पालामा निर्माण भएको हो भन्ने कुरा खोजकै बिषय बनेको छ । तर मुक्तिनाथको तामाको मूर्ति भने जुम्लाका कल्यालवंशि राजाका पालामा बनेको हुदा मन्दिर पनि कल्यालवंशि राजाका पालामा बनेको र पहिले मन्दिर बनेकै ठाउमा पछि शाह राजाको पालामा निर्माण भएको हो कि भन्ने कुरा पनि छ । मध्यकालिन युगमा मुक्तिनाथको महिमाको बारेमा प्रचार गर्न सेन राजा, कर्णालीका खस मल्ल राजा, जुम्ली कल्यानी कत्याल राजा र पर्वतका मल्ल राजाको भूमीका रहेको पाइन्छ । कर्णालीका खस मल्ल राजाहरुले १५ औ शताब्दीमा मुक्तिनाथसम्म आफ्नो अधिकार फैलाएका थिए । कल्यालवंशि राजाहरुको बद्रीनाथ र मुक्तिनाथलाई आफ्नो इष्ट देवता मानेका थिए । मुक्तिनाथमा १०८ धारामा सबै तीर्थाटनका पर्यटकहरुले नुहाउँछन । सबै धारामा साँढेको मुखाकृति रहेको छ । यो सबै राजा मुकुन्द सेनले बनाएका हुन ।

बि.स. १९६१ सम्म मुक्तिनाथ मन्दिरमा अहिले जस्तो नित्य पुजा हुने थिएन । त्यसबेला स्थानिय लामा झोमाहरुले आफ्नै परमपरा अनुसार बत्ती बाल्ने र पानी चढाउने गर्दथिए । अहिले मुक्तिनाथमा बर्षेनी लाखौको सख्यामा तीर्थाटनका पर्यटकहरु पुग्दछन । मुक्तिनाथमा हिन्दु र बौद्धमार्गीले आ-आफ्नै परम्परा अनुसार पुजा गर्ने गर्छन् । पुजाको लागि मन्दिर चैतदेखि असोजसम्म बिहान ६ बजेदेखि १२ बजेसम्म र दिउसो १ देखि ६ बजेसम्म खुल्दछ । जाडो महिना कात्तिकदेखि फागुनसम्म भने बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म र दिउसो १ देखि ५ बजेसम्म खुल्दछ । मुक्तिनाथमा हिन्दु र बौद्धमार्गीको आस्था केन्द्र नभएर अन्नपूर्ण पदमार्गमा पर्ने भएकाले बिश्वका धेरै देशका पर्यटकहरु समेत मुक्तिनाथ पुग्दछन । मनाङ भएर थोराङ पास गर्ने पर्यटकहरु हुन् वा उपल्लो मुस्ताङको लोमन्थाङ जाने पर्यटकहरु हुन मुक्तिनाथ पुगेकै हुन्छन । हिन्दू र वौद्धमार्गीहरुले जस्तै पुजाआजा नगरे पनि वाहृय पर्यटकहरु मुक्तिनाथ क्षेत्रको प्रकृतिसंग रमाउछन । अध्यन अवलोकन गर्दछन । रानीपौवादेखि मुक्तिनाथको मन्दिर पुग्न करिब २० मिनेट उकालो सिढीमार्गमा पैदल यात्रा गर्नु पर्दछ । अक्सीजनको कमी हुने वृद्धवृद्धा एवं अशक्त तीर्थाटनका पर्यटकहरुले सिँढी चढेर जान सक्दैनन् । जान नसक्नेका लागि घोडाको व्यवस्था पनि छ । मुक्तिनाथमा हेलिकप्टर चार्टर गरेर पनि धेरै पर्यटकहरु पुग्ने गर्दछन । मुक्तिनाथमा भारतीय पर्यटकहरु धेरै पुग्दछन ।

मुक्तिनाथमा तीर्थाटन पर्यटनका लागि पुर्वाधारहरु थपिदै गएका छन । मुक्तिनाथमा १२ हजार ६ सय फिटको उचाईमा बुद्धमूर्ति स्थापना गरिएको छ । यो नेपालको सबैभन्दा अग्लो स्थानमा स्थापित सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्ति हो । मूर्ति भएको स्थलबाट मुक्तिनाथ क्षेत्रको धेरै प्राकृतिक सम्पदा अवलोकन गर्न सकिन्छ । धौलागिरी र निलगिरी लगायतका हिमालका साथै कोरला जाने बाटो र उपल्लो मुस्तांग जाने बाटोको दृश्य पनि बुद्धको मूति राखिएको ठाउबाट देख्न सकिन्छ । साथै मुस्ताङका आधादर्जन पूरातात्विक गाँउहरु पनि यहाँबाट देख्न सकिन्छ । तीर्थाटनका पर्यटकहरुको सुरक्षाको लागि मुक्तिनाथको रानीपौवा बजारक्षेत्र, झारकोट, खिङला र लुप्रा गाउँमा १३ वटा सीसी क्यामरा जडान भएको छ । मुक्तिनाथ बेस क्याम्प रानीपौवामा सुविधायुक्त होटल छन् । रानीपौवामा फूल, प्रसाद एवम आवश्यक अन्य समान बेच्ने क्रमबाट बजार बिस्तार हुदै गएको छ । पर्यटकहरुलाई लक्षित गरी सुबिधा जनक होटल लज निर्माण भएका छन । होटलमा तातो चिसो पानी देखि लिएर आफ्नो रोजाइअनुसार अन्तर्राष्ट्रियदेखि मुस्ताङको स्थानीय खानाका परिकारका स्वाद खान पाइन्छ । पर्यटकले होटलका कोठाबाटै हिमाल र मुक्तिनाथ क्षेत्रको मनोरम भूबनोट अवलोकन गर्न सक्दछन ।

हिजो जस्तो आजभोली मुक्तिनाथको यात्रा कष्टकर छैन । पैदल अथवा मोटर र हवाइजहाजमा पनि मुक्तिनाथको यात्रा गर्न सकिन्छ । कालिगण्डकी करिरोडले मुस्ताङ र बेनीलाई जोडेपछि यातायातका साधन चल्न थालेका छन । कालिगण्डकी करिरोड नवलपरासीको गैंडाकोटदेखि चीनको कोरलासम्म ४३५ किलोमिटर पर्दछ । आजभोली कालीगण्डकी करिडोर गैंडाकोटदेखि राम्दी सम्म कालोपत्रे भै सकेको छ । तर राम्दीदेखि रानीमहलसम्मको सडक भने निर्माण भै रहेको छ । बुटवल देखि मुक्तिनाथ जादा आजभोली तानसेन देखिनै कालीगण्डकी करिडोरको सडक रानीमहल, अर्घेली, रिडी, रुद्रवेणी, हुदै बाग्लुङको मालढुङ्गा भएर पनि यात्रा गर्न सकिन्छ । अहिले प्रस्तावित विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबुलकार निर्माण हुन लागेको छ । केबुलकारमा टप टु बटम १९ वटा स्टेसन हुनेछन् । यीमध्ये ८ स्टेसनमा अनिवार्य रुपमा ओर्लिनुपर्ने छ र ५ स्टेसनमा अत्यावश्यक भएमात्र ओर्लिन पाइने छ । अन्य ११ स्टेसनमा बास बसेर जान पाइने व्यवस्था हुनेछ । कास्की वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबुलकारको लम्बाइ ८०.१५ किलोमिटर हुनेछ । केबुलकारमा ७ सय ७६ वटा गोन्डोला राख्न प्रस्ताव गरिएको छ । केबुलकारको पहिलो स्टेसन वीरेठाँटीमा हुने छ भने क्रकश घोडेपानी, तातोपानी, लेते, जोमसोम, कागबेनी र रानीपौवा मुक्तिनाथ हुने छ ।

नेपालमा मनकामना केबलकार २०५५ देखि सञ्चालनमा आएको हो । अहिले सम्म मनकामना, चन्द्रागिरी, कालिञ्चोक र पोखराको सराङकोटमा, बुटवलमा लुम्विनी र पूर्वी नवलपरासीको गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरम केवुलकार सञ्चालनमा आएको छ भने बन्दिपुर र बुटवलमा सिद्धार्थ केवुलकार सञ्चालनको अन्तिम तयारीमा रहेको छ । पर्यटन पवर्द्धनको लागि अहिले नेपालमा १८ स्थानमा केवुलकार निर्माण हुन लागेको छ । कुनै स्थानमा निर्माणाधिन छ भने कतै डिपिआरको काम सकिएको छ ।

पोखराबाट पर्वतको कुश्मा हुँदै बेनी ८१ र बेनीबाट जोमसोम ७५ किलोमिटर पर्दछ । जोमसोम-मुक्तिनाथ २२ कि.मि । जोमसोमबाट मुक्तिनाथसम्म पुग्ने सडक कालो पत्र गरिएको छ । पोखरा-जोमसोम हवाई यात्रामा २० मिनेट ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker