मुक्तिनाथ, हिन्दू र बौद्धको साझा तीर्थस्थल
के.बि मसाल

मुक्तिनाथ हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । जहा तीर्थाटनका पर्यटकहरु चारधामको तीर्थाटन गरेपछि पनि मुक्ति अथवा मोक्ष प्राप्त गर्नका लागि मुक्तिनाथ पुग्ने गर्दछन । मुक्तिनाथ गण्डकी प्रदेशको मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मा पर्दछ । मुक्तिनाथ समुद्र सतहदेखि ३ हजार ७१० मीटरको उचाईमा पर्दछ । सुन्दर प्राकृतिक दृष्यावलोकन गर्दै मुक्तिनाथ पुग्दा तीर्थाटनका पर्यटकहरुलाई छुट्टै अनुभूती हुन्छ । मुक्तिनाथलाई हिन्दूहरुले मुक्तिक्षेत्र र बौद्धमार्गीहरुले तिब्बती भाषामा छुमिङ ग्यात्सा अर्थात सय पानी भन्दछन् । मुक्तिनाथको ज्वाला निस्कने स्थललाई हिन्दुहरुले ज्वालामाई भन्छन् भने बौद्धहरुले ज्वालामाईलाई गोन्पा बनाई तीर्थस्थलको रुपमा मान्दछन । तिब्बती बौद्धमार्गीहरुको २४ तान्त्रिक स्थानहरु मध्ये छुमिङ ग्यात्साको महत्व धेरै छ । मुक्तिनाथ वैष्णव सम्प्रदायहरुले पनि बिष्णुको अवतारको रुपमा मान्ने गर्दछन ।
मुक्तिनाथको मध्यकाल भन्दा अगाडीको प्राचिन इतिहास भेटिदैन । वि.स. ९३६ मा नेपाल संवत सुरु भएपछि नेपालको इतिहासमा मध्यकाल प्रारम्भ हुन्छ । वि.स ९३६ देखि नेपाल एकीकरण भएको अवधि १८२५ सम्म र लिच्छविकालको समाप्तिपछि र मल्लको पतन हुनुअघिसम्मको ९०० वर्षको अवधि नेपालको इतिहासमा मध्यकाल भनिन्छ । तर मुक्तिनाथको बारेमा निलगिरी, र दामोदर हिमालको पवित्र हिमश्रृंखला मात्र नभएर कृष्ण गण्डकीको उदगमस्थलका बारेमा स्कन्द पुराण र वराहपुराण जस्ता पौराणिक ग्रन्थमा भने मुक्तिनाथको महिमा भेटिन्छ । विश्वमा व्यवस्थित पर्यटनको इतिहास करिवन १ सय ८२ वर्ष भएको छ । र्सव प्रथम सन् १८४१ मा बेलायती नागरिक थोमस कुकले व्यवस्थित र संगठित रुपले मानिसहरुलाई घुमाउन सुरु गरे पछिनै पर्यटनको इतिहास सुरु भएको मानिन्छ । तर मानव जंगली युग पछि सभ्यताको क्रम देखिनै मानिसहरु यात्रामा निस्कने गरेको आकलन गर्न सकिन्छ । इतिहास पढने हो भने सिन्धुघाटी सभ्यताको प्रारम्भ इ.पू. पनि मानिसहरु घुमफिर गर्ने प्रचलन थियो । नेपालको इतिहासमा पनि पर्यटन ब्यवससायको सुरुवात हुनु भन्दा पहिले देखिनै तीर्थाटनका लागि लामो समय पैदल यात्रामा निस्कने प्रचलन थियो ।
मुक्तिनाथको बाटो भएर उत्तरी-पश्चिमी क्षेत्रका महान बौद्ध भिक्षु पद्मसम्भव बौद्ध धर्मको प्रचार-प्रसारका लागि मुस्ताङको कोरला नाका हुदै तिब्बत गएका थिए । मुक्तिनाथमा पनि मध्यकालीन युग देखिनै तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दथिए । तर त्यसबेला सबै तीर्थयात्रीहरु पैदल यात्रामा नै मुक्तिनाथ पुग्नु पर्ने थियो । मुक्तिनाथ पुग्नको लागि त्यो समयमा खासगरी चार ओटा नाका थिए । खासगरी पोखरा तिरबाट मुक्तिनाथ जाने तीर्थाटनका पर्यटकहरु पोखरा, हृयाम्जा, नाउडाडा, चन्द्रकोट भएर बिरेठाटी पुग्ने र बिरेठाटी देखि तिखेढुङगा, उल्लेरी, वनठाटी हुदै घोडेपानी पुग्दथिए । घोडेपानीबाट चित्रे, सिख, घार, कागढुङगा भएर भुरुङ तातोपानी पुग्ने गर्थे । अर्को मार्ग थियो म्याग्दीको बेनी बजार हुदै ।
पश्चिम नेपालबाट मुक्तिनाथ जाने तीर्थयात्रीहरु बिभिन्न पदमार्गबाट म्याग्दीको वेनी बजार हुदै गलेश्वर राखु, वेदखोला, चिप्ल्याङ, दोभा भएर तातोपानी पुग्दथिए । पछि कालिगण्डकी करिडोर निर्माण गर्ने क्रममा चित्ल्याङदेखि महभिर, पोखरे हुदै तातोपनी पुग्ने थिए । तातोपानीदेखि कालिगण्डकीको तिरैतिर दाना, घास, लेते हुदै जोमसोम भएर मुक्तिनाथ पुग्ने गर्दथिए । पदमार्गमा पर्ने टुकुचे र लेते नेपाल र तिब्बतको पुरानो मुख्य ब्यापारी केन्द्र पनि हो । मुक्तिनाथ जाने अर्को बाटो हो थोराङ लेक ! जुन बाटो आजभोली अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने पर्यटकहरु यात्रा गर्दछन । तर त्यो बाटो त्यस बेला त्यति चल्तीको भने थिएन । आठ महिनासम्म हिउ जम्ने थोराङ लेक पार गर्न कठिन थियो । तर पनि मनाङ र उत्तरी गोरखा सामागाउँ क्षेत्रका बौद्धमार्गी तीर्थाटनका मानिसहरु भने थोचे, चामे, हुदै माथिल्लो मनाङ भएर थोराङ लेक पार गरी मुक्तिनाथ पुग्ने गर्दथिए । उपल्लो डोल्पाको छार्का गाउँका मानिसहरु मुस्ताङको साङता पाक्लिङ हुदै एक्लेभट्टी भएर मुक्तिनाथ पुग्दथिए ।

मुक्तिनाथको मन्दिर तामाको छानो र पित्तलको गजुरमा सुनको जलप लगाइएको छ । मन्दिर भित्र भगवान् मुक्तिनाथको तामाको मूर्ति रहेको छ । मुक्तिनाथको दर्शनको लागि विशेषतः चैत्राष्टमी, रामनवमी, ऋषितर्पणी र बडादशैंको पर्वहरु महत्वपूर्ण मानिन्छन् । मुक्तिनाथ मन्दिरमा भगवान विष्णुको शालिग्राम शिलाको रुपमा पूजा गरिन्छ । यस शिलाको निर्माण प्रागैतिहासिक कालमा टेथिस सागरमा पाइने किराको जीवाश्मबाट बनेको मानिन्छ । त्यसबेला जहाँ टेथिस सागर थियो अहिले हिमालय पर्वत पर्दछ । पौराणिक मान्यता अनुसार शालिग्राम शिलामा विष्णुको निवास हुन्छ ।
मुक्तिनाथको मन्दिर भित्रको एउटै शीलालाई हिन्दु र बौद्धमार्गीले आ-आफ्नै ढँगले व्याख्या र पूजा गर्छन । हिन्दुहरुले मूर्तिलाई बिष्णुका रुपमा पुज्छन् । बिष्णुका दायाँ बायाँका मूर्तिलाई लक्ष्मी र सरस्वती मान्छन् । बौद्धमार्गीका पूजारी झुमाले मूर्तिलाई लुवाङ ग्याल्बो अर्थात नाग राजा मानेर पूज्छन् । अनि लुवाङको दायाँ बायाँका मूर्तिलाई नागदेवी भनेर धुप धुँवार गर्छन । हिन्दु मान्यता अनुसार मुक्ति प्राप्तिका लागि ब्रहृमाले पनि मुक्तिनाथमा योगरुप यज्ञ गरेका थिए । त्यसबाट उनले सृष्टि गर्न शक्ति पाएको मान्यता छ । मुक्तिनाथमा प्राचीन नरसिंह गुम्बा छ । गुम्बाभित्र गुरु पद्मसंभवको मूर्ति छ । उनी तिब्बत जाँदा केही समय मुक्तिनाथमा ध्यानमा बसेका थिए । मुक्तिनाथमा अरु गुम्बा र ज्वालामाई मन्दिर पनि छन् । मन्दिर हातामा ढुँगैढुँगाको शाक्यमुनि बुद्ध र रानीपौवा बजारमाथि गुरु पद्मसंभवको मूर्ति बनाइएको छ ।
उपल्लो मुस्ताङको दामोदरकुण्डबाट उदगम हुने मुस्ताङ खोला र मुक्तिनाथको १०८ धाराको पानीबाट उदगम भएको कागखोला कागबेनीमा मिसिय पछि कालीगण्डकी भनिन्छ । हिन्दूहरुका लागि मुक्तिक्षेत्र र कालीगण्डकी अत्यन्तै पवित्र मानिन्छन् । तीर्थाटनका पर्यटकहरुले विशेषगरी कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हुने विश्वास गर्दछन । प्राचीनकालमा अनेकौ ऋषिगणले कालीगण्डकीको महिमा र पवित्रताबाट आकर्षित भइ गण्डकी क्षेत्रलाई आफ्नो तपस्यास्थल बनाएका थिए ।
कालीगण्डकीको किनारमा पाइने ढुंगालाई शालिग्राम भनिन्छ शालिग्राम भित्र पाइने जीवात्माका अवशेषमा अमोनाइट जीवावशेष पाइन्छ । यो पानीमा बग्ने ब्राकियोपोड जीवात्मा हो । शालिग्रामको भित्रि भागमा सुनलगायतको धातु र भगवान् विष्णुको हतियार सुदर्शन चक्रको आकार बनेको हुन्छ । चार रंगमा पाइने शालिग्राम कालो रंगको महत्व मानिन्छ । विश्वकै एकमात्र शालिग्राम पाइने नदीका रुपमा कालीगण्डकीको बेग्लै पहिचान बनेको छ । कागवेणीबाट कालीगण्डकी गलेश्वरधाम, वेणी, रुरुक्षेत्र, राम्दीघाट, हुंगीघाट, खोरीयाघाट, केलादीघाट, रामपुर हुँदै देवघाटमा पुगेपछि त्रिशूली नदीमा मिसिन्छ र नारायणी बन्दछ ।
मुक्तिनाथ पुगेपछि इतिहासमा रुचि राख्ने तीर्थाटनका पर्यटकहरुले मुक्तिनाथको इतिहास खोज्दछन । पाँच दशक अगाडीसम्म मुक्तिनाथ जाने तीर्थाटनका पर्यटकहरुले यात्रामा खाने बस्ने सबै प्रवन्ध आफैले गर्नु पर्दथ्यो । महिनौ दिनसम्मको यात्रामा बास बस्नको लागि अहिले जस्तो होटल, जल र होमस्टेका कुनै सुबिधा थिएन । बाटोमा भेटिने गोठ, भेटीगोठ र पहरा मुनी समेत रात बिताउनु पर्द थियो । त्यो ससमयमा राजा रणबहादुर शाहले बि.स. १९६२ मा मुक्तिनाथ जाने तीर्थाटनका पर्यटकहरुका लागि म्याग्दीको राखु गाउँमा पौवा निर्माण गरी फलफूलको बगैचा समेत लगाएका थिए । पछि बि.स. १९६६ मा गीवार्णयुद्धले पनि रणाबहादुरले राखेको गुठीमा थपि दिएका थिए । त्यसपछि बि.स. १९९४ मा राजेन्द्र शाहले पनि मुक्तिनाथका लागि केहि जमिन गुठीमा राखेका थिए ।
रणबहादुर शाहका पाँच जना रानीहरु थिए । माइली रानी सुवर्णप्रभा थिइन । राजा रणबहादुर शाह आफ्नै भाइ शेरबहादुर शाहबाट १८६३ वैशाख १४ गते काटिएर मारिए । रणबहादुर शाह मारिएको एक महिना नपुग्दै वि.सं.१८६३ मा रानी सुवर्णप्रभाले मुक्तिनाथ जाने तीर्थालुको भोजनको लागि धर्मशाला निर्माण गरिदिइन । रानी बनाएको धर्मशाला भएकोले धर्मशालाको नाम पनि रानीपौवा रहन गयो । सुवर्णप्रभाले धर्मशाला मात्र नभएर मुक्तिनाथको पुजाआजा चलाउनको लागि २ हजार ५३० मुरी माटोको गुठी राखि दिएकी थिइन । ०३२ सालसम्म मुक्तिनाथको मन्दिरको गुठीमा म्याग्दी जिल्लाको राँखु र दोवा गाउँमा २९ हजार नौ सय ९२ रोपनी गुठीको जमिन थियो । त्यसपछि गुठी संस्थानले मन्दिर सन्चालन गर्न भनी १३ हजार रोपनी गुठीको जमिन बिक्रीगरी अक्षयकोष राखेको थियो । गुठीको जमिन बिक्री गर्दा पनि झन्डै १८ हजार रोपनी जमिन बाँकी थियो । पछि जग्गा कमाउने मोहीहरुले मुक्तिनाथको जग्गा रैकरमा परिण गरी आफ्नै नाममा बनाए ।
मुक्तिनाथ क्षेत्रमा सोह्रौँ शताब्दीदेखि मात्र मानवको बसोवास भएको मानिन्छ । जर्मनीहरुले पुरातत्व विभागको अनुमतीमा उत्खनन गर्दा सन् १९८५ मा मुक्तिनाथ क्षेत्रमा नवपाषाण हतियार भेट्टाइएका थिए । उत्खनन गर्दा कतिपय शाल्रि्रामहरुमा ढुंगे चित्र भेटिएको थियो । इतिहासमा मुक्तिनाथको मन्दिर शाहको पालामा निर्माण भएको मानिए पनि कुन राजाको पालामा निर्माण भएको हो भन्ने कुरा खोजकै बिषय बनेको छ । तर मुक्तिनाथको तामाको मूर्ति भने जुम्लाका कल्यालवंशि राजाका पालामा बनेको हुदा मन्दिर पनि कल्यालवंशि राजाका पालामा बनेको र पहिले मन्दिर बनेकै ठाउमा पछि शाह राजाको पालामा निर्माण भएको हो कि भन्ने कुरा पनि छ । मध्यकालिन युगमा मुक्तिनाथको महिमाको बारेमा प्रचार गर्न सेन राजा, कर्णालीका खस मल्ल राजा, जुम्ली कल्यानी कत्याल राजा र पर्वतका मल्ल राजाको भूमीका रहेको पाइन्छ । कर्णालीका खस मल्ल राजाहरुले १५ औ शताब्दीमा मुक्तिनाथसम्म आफ्नो अधिकार फैलाएका थिए । कल्यालवंशि राजाहरुको बद्रीनाथ र मुक्तिनाथलाई आफ्नो इष्ट देवता मानेका थिए । मुक्तिनाथमा १०८ धारामा सबै तीर्थाटनका पर्यटकहरुले नुहाउँछन । सबै धारामा साँढेको मुखाकृति रहेको छ । यो सबै राजा मुकुन्द सेनले बनाएका हुन ।
बि.स. १९६१ सम्म मुक्तिनाथ मन्दिरमा अहिले जस्तो नित्य पुजा हुने थिएन । त्यसबेला स्थानिय लामा झोमाहरुले आफ्नै परमपरा अनुसार बत्ती बाल्ने र पानी चढाउने गर्दथिए । अहिले मुक्तिनाथमा बर्षेनी लाखौको सख्यामा तीर्थाटनका पर्यटकहरु पुग्दछन । मुक्तिनाथमा हिन्दु र बौद्धमार्गीले आ-आफ्नै परम्परा अनुसार पुजा गर्ने गर्छन् । पुजाको लागि मन्दिर चैतदेखि असोजसम्म बिहान ६ बजेदेखि १२ बजेसम्म र दिउसो १ देखि ६ बजेसम्म खुल्दछ । जाडो महिना कात्तिकदेखि फागुनसम्म भने बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म र दिउसो १ देखि ५ बजेसम्म खुल्दछ । मुक्तिनाथमा हिन्दु र बौद्धमार्गीको आस्था केन्द्र नभएर अन्नपूर्ण पदमार्गमा पर्ने भएकाले बिश्वका धेरै देशका पर्यटकहरु समेत मुक्तिनाथ पुग्दछन । मनाङ भएर थोराङ पास गर्ने पर्यटकहरु हुन् वा उपल्लो मुस्ताङको लोमन्थाङ जाने पर्यटकहरु हुन मुक्तिनाथ पुगेकै हुन्छन । हिन्दू र वौद्धमार्गीहरुले जस्तै पुजाआजा नगरे पनि वाहृय पर्यटकहरु मुक्तिनाथ क्षेत्रको प्रकृतिसंग रमाउछन । अध्यन अवलोकन गर्दछन । रानीपौवादेखि मुक्तिनाथको मन्दिर पुग्न करिब २० मिनेट उकालो सिढीमार्गमा पैदल यात्रा गर्नु पर्दछ । अक्सीजनको कमी हुने वृद्धवृद्धा एवं अशक्त तीर्थाटनका पर्यटकहरुले सिँढी चढेर जान सक्दैनन् । जान नसक्नेका लागि घोडाको व्यवस्था पनि छ । मुक्तिनाथमा हेलिकप्टर चार्टर गरेर पनि धेरै पर्यटकहरु पुग्ने गर्दछन । मुक्तिनाथमा भारतीय पर्यटकहरु धेरै पुग्दछन ।
मुक्तिनाथमा तीर्थाटन पर्यटनका लागि पुर्वाधारहरु थपिदै गएका छन । मुक्तिनाथमा १२ हजार ६ सय फिटको उचाईमा बुद्धमूर्ति स्थापना गरिएको छ । यो नेपालको सबैभन्दा अग्लो स्थानमा स्थापित सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्ति हो । मूर्ति भएको स्थलबाट मुक्तिनाथ क्षेत्रको धेरै प्राकृतिक सम्पदा अवलोकन गर्न सकिन्छ । धौलागिरी र निलगिरी लगायतका हिमालका साथै कोरला जाने बाटो र उपल्लो मुस्तांग जाने बाटोको दृश्य पनि बुद्धको मूति राखिएको ठाउबाट देख्न सकिन्छ । साथै मुस्ताङका आधादर्जन पूरातात्विक गाँउहरु पनि यहाँबाट देख्न सकिन्छ । तीर्थाटनका पर्यटकहरुको सुरक्षाको लागि मुक्तिनाथको रानीपौवा बजारक्षेत्र, झारकोट, खिङला र लुप्रा गाउँमा १३ वटा सीसी क्यामरा जडान भएको छ । मुक्तिनाथ बेस क्याम्प रानीपौवामा सुविधायुक्त होटल छन् । रानीपौवामा फूल, प्रसाद एवम आवश्यक अन्य समान बेच्ने क्रमबाट बजार बिस्तार हुदै गएको छ । पर्यटकहरुलाई लक्षित गरी सुबिधा जनक होटल लज निर्माण भएका छन । होटलमा तातो चिसो पानी देखि लिएर आफ्नो रोजाइअनुसार अन्तर्राष्ट्रियदेखि मुस्ताङको स्थानीय खानाका परिकारका स्वाद खान पाइन्छ । पर्यटकले होटलका कोठाबाटै हिमाल र मुक्तिनाथ क्षेत्रको मनोरम भूबनोट अवलोकन गर्न सक्दछन ।
हिजो जस्तो आजभोली मुक्तिनाथको यात्रा कष्टकर छैन । पैदल अथवा मोटर र हवाइजहाजमा पनि मुक्तिनाथको यात्रा गर्न सकिन्छ । कालिगण्डकी करिरोडले मुस्ताङ र बेनीलाई जोडेपछि यातायातका साधन चल्न थालेका छन । कालिगण्डकी करिरोड नवलपरासीको गैंडाकोटदेखि चीनको कोरलासम्म ४३५ किलोमिटर पर्दछ । आजभोली कालीगण्डकी करिडोर गैंडाकोटदेखि राम्दी सम्म कालोपत्रे भै सकेको छ । तर राम्दीदेखि रानीमहलसम्मको सडक भने निर्माण भै रहेको छ । बुटवल देखि मुक्तिनाथ जादा आजभोली तानसेन देखिनै कालीगण्डकी करिडोरको सडक रानीमहल, अर्घेली, रिडी, रुद्रवेणी, हुदै बाग्लुङको मालढुङ्गा भएर पनि यात्रा गर्न सकिन्छ । अहिले प्रस्तावित विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबुलकार निर्माण हुन लागेको छ । केबुलकारमा टप टु बटम १९ वटा स्टेसन हुनेछन् । यीमध्ये ८ स्टेसनमा अनिवार्य रुपमा ओर्लिनुपर्ने छ र ५ स्टेसनमा अत्यावश्यक भएमात्र ओर्लिन पाइने छ । अन्य ११ स्टेसनमा बास बसेर जान पाइने व्यवस्था हुनेछ । कास्की वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबुलकारको लम्बाइ ८०.१५ किलोमिटर हुनेछ । केबुलकारमा ७ सय ७६ वटा गोन्डोला राख्न प्रस्ताव गरिएको छ । केबुलकारको पहिलो स्टेसन वीरेठाँटीमा हुने छ भने क्रकश घोडेपानी, तातोपानी, लेते, जोमसोम, कागबेनी र रानीपौवा मुक्तिनाथ हुने छ ।
नेपालमा मनकामना केबलकार २०५५ देखि सञ्चालनमा आएको हो । अहिले सम्म मनकामना, चन्द्रागिरी, कालिञ्चोक र पोखराको सराङकोटमा, बुटवलमा लुम्विनी र पूर्वी नवलपरासीको गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरम केवुलकार सञ्चालनमा आएको छ भने बन्दिपुर र बुटवलमा सिद्धार्थ केवुलकार सञ्चालनको अन्तिम तयारीमा रहेको छ । पर्यटन पवर्द्धनको लागि अहिले नेपालमा १८ स्थानमा केवुलकार निर्माण हुन लागेको छ । कुनै स्थानमा निर्माणाधिन छ भने कतै डिपिआरको काम सकिएको छ ।
पोखराबाट पर्वतको कुश्मा हुँदै बेनी ८१ र बेनीबाट जोमसोम ७५ किलोमिटर पर्दछ । जोमसोम-मुक्तिनाथ २२ कि.मि । जोमसोमबाट मुक्तिनाथसम्म पुग्ने सडक कालो पत्र गरिएको छ । पोखरा-जोमसोम हवाई यात्रामा २० मिनेट ।










