सम्पादकीय : व्यास क्षेत्रको प्रवर्द्धन गरौं

वेदव्यासले महाभारत, चारवेद र अठार पुराणको रचना गरेको स्थान भनेर दमौलीलाई चिन्ने गरिन्छ । हिन्दुधार्मालम्बिमा महाभारत, चारवेद र अठार पुराणको जुन महत्व र धार्मिक आस्था जोडिएको छ तर यसको रचना गरिएको स्थान भने ओझेलमा छ । तनहुँको दमौली स्थित व्यास परासर क्षेत्र धार्मिक र सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा विकास हुनुपर्ने हो । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा जाने पृथ्वीराजमार्गसंगै रहेको व्यास र पराशर गुफासहितको धार्मिक सांस्कृतिक महत्वको दमौली क्षेत्रलाई धार्मिक आस्थाका पर्यटक आकर्षित गर्न सकिने अवस्था रहेपनि यो क्षेत्र बत्तिमुनीको अध्यारो जस्तै बनेको छ । व्यासको जन्मभूमि तथा पराशर ऋषिको तपोभूमि, शिरमा रहेको मानुङकोट तथा वरपर प्राकृतिक, सांस्कृतिक, धार्मिक स्थल रहेपनि यसको उचित प्रचारप्रसार हुन सकेको छैन । व्यास जन्मिएको स्थान, पराशरले तपस्या गरेको ठाउँ आज संसारभर प्रख्यात हुनुपथ्र्यो । तर त्यसो हुन सकिरहेको छैन । जनस्तरबाट यो ठाउँको प्रचार प्रसार र प्रवद्र्धन गर्ने केही प्रयास सुरु भएका पनि छन् । तर, यो प्रयाप्त हुन सकेको छैन । यो क्षेत्रको प्रचारप्रसार तथा प्रवद्र्धनमा जबसम्म राष्ट्रियस्तरबाट आवश्यक पहलकदमी हुँदैन तबसम्म बत्तिमुनीको अध्यारो जस्तै रहने अवस्था देखिएको छ ।
व्यासभूमिलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित १०८ फिट अग्लो व्यासको मूर्ति बनाउन आवश्यक पूर्वाधार निर्माण थालिएपनि यो कार्यले पनि गति लिन सकेको छैन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र व्यास नगरपालिकाबीच सम्झौता भई मूर्ति अड्याउने स्तम्भ निर्माणको काम बाहेक अन्य काम अगाढि बढेको छैन । तनहुँको सदरमुकाम दमौली वरपरको क्षेत्रमा घुम्न लायक थुप्रै धार्मिक तथा पर्यटकीय गन्तव्य छन् । तर यहाँ पर्यटकलाई अझै आकर्षित गर्न सकिएको छैन। पर्यटकीय नगरी बन्दिपुरदेखि प्रदेशको राजधानी पोखरा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई यस क्षेत्रमा घुम्ने वातावरण बनाउन सकिएको छैन । व्यासको जन्मभूमि दमौलीमा शिवपञ्चायन मन्दिर छ । मन्दिरको केही तलपट्टि व्यासगुफा छ । जहाँ बसेर व्यासले चारवेद र अठार पुराणको रचना गरेको दावी गरिन्छ । व्यास गुफाको पारिपट्टी पराशर गुफा छ । पराशर गुफासम्म पुग्न मादी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ ।
व्यासगुफासम्म घुम्न आएकाहरु पुल तरेर मादी र सेती नदीको संगमस्थल पराशर क्षेत्र पुग्छन् । नजिकैको तनहुँ जलविद्युत आयोजनाले यस क्षेत्रमा आकर्षण थपेको छ । यस ठाउँ वरपर घुम्ने गन्तव्य धेरै छन् । दमौली आसपास पर्यटक आकर्षित गर्ने पूर्वाधार थपिने क्रम पनि जारी छन्। दमौली बजार छर्लङ्ग देखिने मानुङकोट यहाँको पर्यटकीय गन्तव्यमध्ये एक हो । कोभिड–१९ को बन्दाबन्दीमा यहाँ एकैदिन हजारौ पर्यटक पुगे । मानुङकोटबाट देखिने कुहिरो र नागबेली परेर बग्ने मादी नदीको पृष्ठभूमिमा देखापर्ने पहाडको तरेली र हिमश्रृङ्खला यहाँको थप आकर्षण स्थल हो । दमौलीको शीर बनेर ठडिएको मानुङकोटको पनि जुन रुपमा प्रवद्र्धन हुनुपथ्र्यो त्यो हुन सकेको छैन्। धार्मिक, साँस्कृतिक र प्राकृतिक रुपले निकै महत्वपूर्ण दमौली क्षेत्र उचित प्रचारप्रसार र आवश्यक पूर्वाधार नहुँदा ओझेलमा परेका छन् । व्यास भूमिलाई विश्वमाझ चिनाउन बेला–बेलामा कार्यक्रमहरु भइरहेपनि प्रयाप्त हुन सकेका छैनन् ।
व्यास भूमिलाई पौराणिक, आध्यात्मिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले परिचित गराउन र धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउन अब स्थानीय सरकारसंगै जनस्थरबाट समेत जागरुक हुनुपर्ने देखिन्छ । व्यासभूमिलाई अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउँदै धार्मिक गन्तव्य बनाउन पहल गर्नुपर्ने देखिन्छ । व्यास पराशर क्षेत्रको प्रवर्द्धनमा व्यास नगरपालिकाले पनि आवश्यक पहल गरेको त छ तर त्यो प्रयाप्त भएको देखिदैन । व्यासको जन्मका विषयमा दमौलीदेखि ८ किमि पूर्व छाब्दी बाराहको मन्दिरबाट करिब ५० मिटर पश्चिम पट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको मानिन्छ । माछाको रूपबाट जन्म भएकाले त्यस कुण्डको नाम मच्छेकुण्ड रहेको बताइन्छ । सेती, मादी, बुल्दी, गुणादी र छाब्दी यी पाँच नदीको संगमलाई व्यासको जन्मभूमि, कर्मभूमि र तपोभूमि रहेको बताइन्छ। यो तपोभूमिको उचित प्रवद्र्धन गरी धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्न हामी सबैको हातेमालोको खाँचो देखिएको छ ।










