ऋषिङको आम्थोकका किसान जलवायु मैत्री कृषि प्रविधिबाट सम्भावना खोज्दै

ऋषिङ : तनहुँको ऋषिङ्ग गाउँपालिका–७, आम्थोकमा ‘जलवायु मैत्री कृषि प्रविधि’ कार्यक्रम अन्तर्गतको एक महत्वपूर्ण आयोजना सम्पन्न भएको छ । आम्थोक कृषि तथा पशुपन्छी समूहले कृषि ज्ञान केन्द्र, तनहुँको सहयोगमा सञ्चालन गरेको यस परियोजनाले किसानहरूलाई नयाँ सम्भावनातर्फ डो¥याएको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा कृषि ज्ञान केन्द्र तनहुँको १० लाख रुपैयाँ अनुदान र लागत सहभागिता सहित कुल ११ लाख रुपैयाँको लागतमा यो परियोजना अगाडि बढाइएको समूहका अध्यक्ष बेल बहादुर थापाले बताए । यस कार्यक्रममार्फत किसानहरूले जलवायु अनुकूल प्रविधि प्रयोग गरी व्यवसायिक रुपमा तरकारी तथा फलफूल खेती अगाडि बढाएका छन् ।
‘परम्परागत खेतीमा मात्र निर्भर रहँदा कीरा–रोग, पानीको अभाव, असिनाजस्ता विपतले उत्पादनमा समस्या हुने गरेको थियो’, अध्यक्ष थापाले भने, ‘तर, आधुनिक प्रविधि प्रयोगसँगै कीरानियन्त्रण, माटो संरक्षण, सिंचाइ व्यवस्थापन र उत्पादन वृद्धि भएको छ ।’
उनले भने, ‘अब हामीले उत्पादन मात्र होइन, गुणस्तरमा पनि सुधार देखिरहेका छौं । यसले स्थानीय किसानलाई आत्मनिर्भर बनाउन टेवा पुग्ने विश्वास गरेका छौं ।’

यद्यपि यस किसिमका प्रविधि विस्तारमा केही चुनौतीहरू देखिएका छन् । पहिलो, प्रारम्भिक लगानी खर्चिलो भएकाले सबै किसान सहजै सहभागी हुन सक्ने अवस्था नरहेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठे भने, ‘प्रविधि सञ्चालन र मर्मतका लागि सीप र तालिम अझै पर्याप्त छैन । उत्पादनलाई बजारसम्म पु¥याउने संरचना र मूल्य स्थिरताको समस्या विद्यमान छन् ।’
अध्यक्ष श्रेष्ठ, प्रमुख प्रशासीय अधिकृत अनिल अमगाई तथा कृषि प्राविधिकहरु सहितको टोलीले उक्त कृषि फर्मको अवलोकन गरेका थिए । कृषि फर्ममा देखिएका चुनौतीलाई सम्बोधन गर्न नसके, प्रविधिको दिगोपनामा प्रश्न उठ्न सक्ने कृषिविद्हरूको भनाइ छ ।
यस्तै, यस कार्यक्रमलाई नमूना मानेर ऋषिङ्ग गाउँपालिकाका अन्य वडामा समेत विस्तार गर्ने योजना गाउँपालिकाले बनाएको प्रमुख प्रशासकीय अधिकृत अमगाईले बताए । उनले भने, ‘जलवायु परिवर्तनको असर बढ्दै गएको सन्दर्भमा वातावरणमैत्री प्रविधिले स्थानीय कृषि प्रणालीलाई दीर्घकालीन टिकाउ बनाउन सक्ने विश्वास जगाएको छ ।’
कृषि ज्ञान केन्द्रका अनुसार प्रविधिको विस्तारले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, आम्दानी वृद्धि र आत्मनिर्भरता बढाउन यो प्रविधिलाई विस्तार गर्न स्थानीय पालिकाहरुले पनि चासो र सहकार्य गर्नुपर्दछ । निरन्तर प्रविधि सहयोग, तालिम र बजार सुनिश्चित भयो भने हाम्रो गाउँले कृषिमा नयाँ पहिचान बनाउन सकिने स्थानीय कृषकहरुले बताएका छन् ।
सफलताको आधार, चुनौतीको समाधान र सम्भावनाको उचित उपयोग गर्न सके आम्थोक मात्र नभई तनहुँ जिल्लाभरका किसानहरूको जीवनस्तर उकास्न र दिगो ग्रामीण विकासलाई गति दिन सकिने सरोकारवालाहरूको धारणा छ ।










