राजमार्गको यात्रा जोखिमपूर्ण बन्दै, तिहार लगातै चारलेनको सडक निर्माण कार्य अगाडि बढाइने

भञ्ज्याङ समाचारदाता/दमौली

मनसुनी वर्षका कारण ग्रामीण सडक मात्र होइन राजमार्गको यात्रा समेत जोखिमपूर्ण बनेको छ । पृथ्वी राजमार्गको करिब ७२ किलोमिटर सडक खण्ड तनहुँ जिल्लामा पर्छ । यो खण्डका अधिकांश सडक खल्डैखाल्डा छन् । सडकको मर्मत सुधारमा ध्यान नदिंदा राजमार्गको यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।

मुग्लिङदेखि कोत्रेसम्मको सडकखण्डको ठाउँठाउँमा साना ठुला खाल्डा हुँदा सहज रुपमा सवारी साधन सञ्चालन गर्न कठिन बन्दै गएको यातायात व्यवसायीहरुले बताउन थालेका छन् । यस वर्षको मनसुनी झरीसंगै राजमार्ग क्षेत्रमा गएका पहिरोका कारण पनि अहिले राजमार्गको यात्रालाई जोखिमपुर्ण बनाएको छ ।

पहिरो तथा सडकमा भएको खल्डाखुल्डीका कारण सडक पनि साँघुरो बन्दै गएका छन् । खाल्डाखुल्डी भएको सडकमा सवारी साधन सञ्चालन गर्न कठिन मात्र होइन यात्रुको स्वास्थ्यमा समेत समस्य देखिने गरेको सवारी चालक तुलबहादुर पौडेल बताउँछन् । उनले भने, ‘सडकका खल्डाखुल्डीको सुधार नहुँदा यात्रा कठिन मात्र होइन सानाठुला दुर्घटना समेत हुने गरेका छन् ।’

करिब ४ वर्षदेखि पौडेलले दमौली-पोखरा सडकखण्डमा माइक्रो चलाउदै आएका छन् । बिग्रिएको सडकमा सवारी साधन गुडाउँदा दुर्घटना जोखिमको त्राससंगै यात्रा गर्नुपर्ने सुनाउछन् । ‘सडक बिग्रिएको पनि लामो समय भयो, यसको मर्मतमा आजसम्म सम्बन्धित निकायको ध्यान पुगेको छैन’, उनले भने, ‘आफ्नो गल्ति नभएपनि दुर्घटनाको सिकार बन्नुपर्ने त्रास प्रत्येक यात्रासंगै हुन्छ । पहिरो र खाल्डाखुल्डीले सडक जाम हुँदा समयमै गन्तव्य पुग्न पनि कठिन छ ।’

पानी पर्दा हिलो र घाम लाग्दा धुलोको सामाना गर्दै यात्रा गर्नुपर्ने अर्का चालक पदमबहादुर दर्लमी बताउँछन् । उनले भने, ‘राजमार्गमा उड्ने धुलोका कारण आँखा हेर्नै मिल्दैन ।’ दैनिक हजारौ सवारी साधन आवात जावत गर्ने राजमार्ग सडक डिभिजन कार्यालय कै बेवास्थाले थप बिग्रिएको उनी बताउँछन् । उनले भने, ‘सडक सुरक्षाको जिम्मेवारी पाएको निकायले सडकको मर्मत तथा स्तरोन्नती नगर्दा सडकमा बनेका खाल्डाखुल्डीले सवारी दुर्घटनाको जोखिमलाई बढाउदै लगेको छ ।’ पछिल्लो समयमा हुने सवारी दुर्घटनाको प्रमुख कारक मध्ये राजमार्गका ठाउँठाउँमा भत्किएका पिच सडक पनि एक हो । तिब्र गतिमा गुड्ने सवारीका चक्का खाल्डोमा परेपछि दुर्घटनामा पर्ने गरेका सवारी चालकहरु बताउँछन् । अझ सडकका खाल्डाखुल्डीले दुइ पाङ्गे सवारी चालक थप पीडित हुन पुगेका छन् ।
खराब सडकका कारण चालकमात्र होइन यात्रुहरु पनि उत्तिकै पीडित हुन पुगेका छन् । यात्राका समयमा टायर खाल्डोमा पर्दा हुने धक्कामुक्काले शरीर दुख्ने र छोटो यात्रामा पनि थकान महशुस हुने दमौलीकी पुजा थापा बताउँछिन् । ‘खाल्डो परेको सडक टाल्ने काम गरिन्छ तर गुणस्तीय नहुँदा केही समयमै फेरी भत्किएर जान्छ’, उनले भनिन्, ‘मर्मत गर्दा पनि आँखामा छारो हाल्ने तरिकाले काम हुने गरेकोले सवारी चालक र यात्रुहरुले समस्य झेल्नुपरेको छ ।’

यस्तै, चार लेन बन्न लागेको यस सडकखण्डको सम्पूर्ण जिम्मेबारी मुग्लिङ-पोखरा सडक योजनालाई हस्तान्तरण गरिसकिएको सडक डिभिजन कार्यालय तनहुँका प्रमुख लक्ष्मी केसीले बताइन् । ‘गत भदौ १३ गते नै हामीले सम्पूर्ण कार्य योजना कार्यालयलाई हस्तान्तरण गरिसकेको कारण उनीहरुले नै राजमार्ग अन्तरगतका बिग्रेको सडकखण्ड सुधार गर्छन भनि कुरेर बसेका थियौ’, उनले भनिन्, ‘लामो समयसम्म पनि केही कार्य अगाडि बढेको नदेखेपछि अहिले मर्मत सुधार कार्य अगाडि बढाएका छौं ।’

कोरोना कहरका कारण चीनबाट कामदार ल्याउन केही समय लाग्ने भएकाले हालको मर्मतसुधारका कार्य सडक डिभिजन कार्यालयबाटै सम्पन्न गर्न आग्रह गरेको मुग्लिङ-पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख प्रेमप्रकास खत्रिले बताए । उनले भने, ‘तिहार लगातै हामी चारलेनको सडक निर्माण कार्यलाई अगाडि बढाउने तयारीमा छौं ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker