देवघाटका सुन्तलालाई काठमाडौं महानगरले प्रतिकिलो ५ रुपैयाँ अनुदान दिने

भञ्ज्याङ समाचारदाता/तनहुँ

विकट क्षेत्रका सुन्तला काठमाडौं पुर्‍याएमा अनुदान दिने खबरले हामी हर्षित छौं : अध्यक्ष थापा

तनहुँको देवघाट गाउँपालिकाको विकट क्षेत्रमा उत्पादित सुन्तलालाई काठमाडौं महानगरपालिकाले अनुदान दिने भएको छ । ग्रामीण क्षेत्रमा उत्पादित सुन्तलाले सहज रुपमा बजार नपाएको खबर विभिन्न सञ्चारमाध्यममा प्रकाशन प्रशारण भएपछि काठमाडौं महानगर पालिकाले देवघाटमा उत्पादित सुन्तला काठमाडौंका फलफूल बजारमा भित्र्याइएमा प्रतिकिलो ५ रुपैयाँ अनुदान दिने भएको छ ।

काठमाडौं महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापालाई फोन गरी देवघाटमा उत्पादित सुन्तला काठमाडौंको फलफूल बजारमा ल्याइएमा प्रतिकिलो ५ रुपैयाँ अनुदान दिने बताएका छन् ।

गाउँपालिका अध्यक्ष थापाले भने, ‘देवघाटमा उत्पादन हुने सुन्तला काठमाडौं महानगर पालिकाको फलफूल बजारमा बिक्रीवितरण गरिएमा प्रतिकिलो ५ रुपैयाँको दरले अनुदान रकम दिने प्रमुख प्रशाकीय अधिकृत बसन्त अधिकारीले बताउनु भएको छ । यो खबरले हामीलाई निकै उत्साहित बनाएको छ, हामी हषिर्त छौं । हाम्रो ग्रामीण क्षेत्रमा उत्पदित सुन्तलाले काठमाडौंमा राम्रो बजार पाउने छ र कृषिकहरुलाई पनि सुन्तला खेती प्रवर्द्धनमा थप हौसला मिल्ने छ ।’

तनहुँको कर्णालीका रुपमा परिचत देवघाटका ग्रामीण भेगमा सुन्तलाको राम्रो उत्पादन हुने गर्दछ । यहाँ कृषकले गत वर्ष५ करोड रुपैयाँ बढिको सुन्तला बिक्री वितरण गरेको गाउँपालिका अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले भने, ‘गाउँपालिकाको वडा नं. १, २, ३ र ४ क्षेत्रमा सुन्तला खेती हुने गरेको छ । यसमा पनि ३ नम्बर वडामा सुन्तला राम्रो उत्पादन हुने गरेको छ । गाउँपालिकाका कृषकले उत्पादन गरेको सुन्तलालाई कसरी सहज रुपमा बजारीकरण गर्ने भन्ने विषयमा हामी लागि रहेका छौ ।’

यस्तै गाउँपालिकाका ती वडामा यस वर्ष करिब ५० हजार बोटमा सुन्तला फलेको र करिब १ करोड ५० लाख दाना सुन्तला फल्ने अनुमान अध्यक्ष थापाले गरेका छन् । अध्यक्ष थापाले भने, ‘सुन्तला खेती प्रवर्द्धनका लागि गाउँपालिकाले यस वर्ष ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । हामीले सुन्तलाका विरुवा उत्पादनका लागि नर्सरी प्रवर्द्धन कार्यक्रम अगाडि ल्याएका छौ । यस्तै कृषकलाई आवश्यक पर्ने सिंचाईको व्यवस्थापनका साथै प्रत्येक सुन्तला कृषकलाई आ-आफ्नै मलखादको व्यवस्थापन गर्न अनुरोध गरेका छौ । सिंचार र मलखादको व्यवस्थापन गरी सुन्तला खेती गरिएमा उत्पादन राम्रो लिन सकिने देखिएको छ ।’

देवघाट गाउँपालिका सुन्तला उत्पादनको पकेट क्षेत्र पनि हो । यहाँ उत्पादित करोडौंको सुन्तला बाटो अभावका कारण बजारसम्म पुर्‍याउन सकस हुने गरेको छ । अहिलेको समयमा यहाँको मुख्य उत्पादन भनेकै सुन्तला रहेको स्थानीय बताउँछन् ।

देवघाट सुन्तला उत्पादनका लागि नेपालकै प्रख्यात ठाउँ भएपनि यहाँका ग्रामीण क्षेत्रमा पूर्वाधार विकास नहुँदा उत्पादित सुन्तला बजारसम्म पुर्‍याउन भने निकै समस्या हुने गरेको छ । यहाँ उत्पादित सुन्तला सिधैँ काठमाडौँको कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा लग्ने गरिएको देवघाट-३ छापस्वाँरा लुम्रिङका कृषक कर्णसिंह रानाले बताए । देवघाटको सुन्तला नेपालकै उत्कृष्ट मान्दै कारोबार हुने गरेको कृषक राना बताउँछने ।

तेह्र वर्षदेखि सुन्तालाखेती गर्दै आएका रानाले भने, ‘हामीले यहाँ उत्पादन गरेका सुन्तला रोपवे -तुइन) र घुमाउरो बाटोको सहायता लिएर बजारसम्म पुर्‍याउने गरेका छौं । बाटो अभाव र जटिलताका कारण यहाँ उत्पादित सुन्तला बजारसम्म पुर्‍याउँदा दोब्बर भाडा तिर्नुपर्छ । विकट गाउँ भएपनि लुम्रिङबाट मात्रै करिब रू तीन करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ ।’

देवघाट-३ का सुग्रिड, छिपछिपे, छापस्वाँरा, दगरा, लुम्रिङ लगायतका गाउँमा सुन्तला उत्पादन हुने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष एवं सुन्तला कृषक भीमबहादुर राना बताउँछन् । उनका अनुसार यस वर्ष लुम्रिङ गाउँबाट मात्रै तीन करोड रुपैयाँ भन्दा बढीको सुन्तला निर्यात भएको छ । अन्य अन्नबाली उत्पादन कम भएपनि सुन्तलाले गाउँको पहिचान बनाएको राना बताउँछन् ।

अन्य अन्नबाली उत्पादन नभएका यहाँका किसानमा पछिल्लो समय सुन्तला उत्पादन बढेपछि केही वर्ष यता आशा पलाएको छ । छिपछिपे, छापस्वाँरा, लुम्रिङ, दगरा, गाईघाटलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेतो नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान निकै सास्ती हुने गरेको कृषकहरु बताउँछन् । वार्षिक करोडौँको सुन्तला उत्पादन भएपनि बजारसम्म पुर्‍याउन कृषकले निकै सास्ती झेल्दै आएका छन् । नदी पारी रहेको सडकसम्म सुन्तला पुर्‍याउनै सकस हुने कृषक कृष्णबहादुर गुरुङ बताउँछन् । बजारसम्म पुर्‍याउन अधिकांशले रोपवे तथा घुमाउरो बाटो प्रयोग गर्ने गरेका कृषक गुरुङ बताउँछन् ।

भरिया वा घुमाउरो बाटोमार्फत दोब्बर भाडा तिरेर सुन्तला बजार पुर्‍याउनुपर्ने कृषकको बाध्यता छ । अहिले नाल्दी र गाईघाटमा पुल नहुँदा यहाँका किसानले कोटा, बैदी हुँदै साराङघाटको मोटरेबल पुलको बाटो प्रयोग गरी दमौली तथा काठमाडौँसम्म सुन्तला पठाउने गरेका छन् । यसरी गुमाउरो बाटो प्रयोग गर्दा किसानले दोब्बर भाडा तिर्नु पर्ने बाध्यता छ । केही किसानले मुग्लिङ-नारयणगढ सडकको गाइघाटसम्म जिपमा ल्याएर त्यहाँबाट भरियामार्फत झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गर्दछन् । आँपस्वारा दगराका कृषकले भने ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा लगेर त्यहाँबाट दमौली हुँदै काठमाडौँ लेजाने गरेका छन् ।

नाल्दी र गाइघाटमा पुल भएको भए यहाँ उत्पादित सुन्तला ढुवानीमा सहज हुने कृषक गुरुङ बताउँछन् । पुल नहुँदा ढुवानी खर्च दोब्बर तिर्न बाध्य कृषकको छ । नाल्दीमा पुल निर्माणको योजना परेपनि तनहुँ जलविद्युत् आयोजनाको तल्लो सेती जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पुल पर्ने भएकाले उक्त योजना पनि स्थगित भएको बताइएको छ । पुल र व्यवस्थित सडक नहुँदा यहाँका किसानले तुइनको प्रयोग गर्न बाध्य भएको कृषकहरु बताउँछन् ।

यहाँका कृषकहरुले उत्पादित सुन्तलाका साथै अदुवा, केरा तथा अन्य फलफूल तुइनबाट नै राजमार्गसम्म पुर्‍याएर बजारसम्म पुर्‍याउने गरेका छन् । कृषकले बाख्रा, कुखुरा तथा अन्य पशुपंक्षीका लागि दाना तथा चोकर पनि तुइनबाट नै ल्याउने गरिएका छन् ।

तीनतिरबाट नदीले घेरिएकाले निकै देवघाटका कृषकले निकै समस्या झेल्दै आउनेपरेको देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापा बताउँछन् । उनले भने, ‘यहाँका ग्रामीण भेगलाई जोड्न पक्की पुल निर्माण गर्नुपर्ने अवस्था छ । नदीमा पुल नहुँदा ढुवानी र गाउँपालिकासम्म आउनका लागि सकस हुने गरेको छ ।’

‘ग्रामीण क्षेत्रलाई सहज बनाउन सेतीमादी नदीमाथि नाल्दीघाटदेखि लुम्रिङसम्म जाने ग्रामीण सडकलाई पालिकाले सुन्तला मार्गकै नामकरण गरी बजेट विनियोजन गरेको छ’, अध्यक्ष थापाले भने, ‘गाउँपालिकाकै स्रोतबाट सडक सञ्जाल जोडिए पनि पुल नहुँदा राजमार्गसम्म समान ढुवानी गर्न समस्या भइरहेको छ ।’

ग्रामीण क्षेत्रसँग जोडिएका बस्तीलाई सहज बनाउन संघीय सरकारले नै चासो दिनुपर्नेमा अध्यक्ष थापा बताउँछन् । कृषि क्षेत्रलाई प्रोत्साहन गर्न सामूहिक तवरबाट अनुदानको कार्यक्रम सञ्चालन गरिएको बताउँदै अध्यक्ष थापाले भने, र्’नर्सरीका लागि रू ३० लाख विनियोजन गरिएको छ । काफलडाँडामा सुन्तला नर्सरी स्थापना गरिएको छ ।’ नदीमाथि पुल नहुँदा यहाँका किसानको राजमार्गसम्म सिधै पहुँच नहुँदा बिचौलियामार्फ दमौली, मुग्लिन, नारायणगढ र काठमाडौँसम्म सुन्ताला पुर्‍याउन घुमाउरो तथा रोपवे प्रयोग गर्नुपर्दा कृषकले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छ्रैनन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker