रास्वपाको प्रमुख मुद्दा भ्रष्टाचार अन्त्य गर्ने हो : सभापति लामिछाने
भञ्ज्याङ समाचारदाता/दमौली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आफ्नो पार्टीको प्रमुख मुद्दा भ्रष्टाचार अन्त्य गर्ने भएको बताएका छन् । तनहुँको भिमाद नगरपालिकास्थित भिमाद रंगशालामा विहीबार आयोजित सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले उक्त कुरा बताएका हुन्।
‘२०८४ मा बहुमत ल्याएर भ्रष्टाचारको फाइल खोल्छौ । यस अभियानमा लाग्दा आफूहरुलाई मुद्दा र घेराबन्दीको डर छ’, उनले भने, ‘सरकारले भ्रष्टाचार फाइल खोल्ने गरेपनि आफ्नो मान्छेको नाम आएपछि बन्द गर्ने गरेको छ ।’
उनले भने, ‘सरकारले फाइल त खोल्छ, तीन/चार पाना पल्टाएपछि आफ्नै मान्छेको अनुहार आएपछि फाइल बन्द गर्छ ।’ भ्रष्टाचारको जालो रास्वपाले तोडेरै छाड्ने सभापति लामिछानेको उद्घोष गरे । भ्रष्टाचारको अन्त्य गर्ने कदममा जनताले साथ दिएको बताउँदै उनले अब बीच बाटोमा छाड्ने अधिकार जनतालाई नभएको बताए ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले बुटवल-नारायणगढ सडक छिटो निर्माणमा दबाव दिन र सरकारको ध्यानाकर्षण गराउन दबाब यात्रा गर्ने भएको छ । नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटर सडक खण्डमा रास्वपाको टोलीले सडकमा हिंडेर यात्रा गर्ने र र्सवसाधारणका गुनासा सुन्ने भएको हो ।
नारायणगढ-बुटवल सडक खण्डको स्तारोन्नति पछिल्लो पटक निर्धारित समयमै सक्न दबाब दिने र सो सडकखण्डमा यात्रा गर्दा नागरिकले व्यहोर्नु परेको सास्ती र हैरानीप्रति ध्यानाकर्षण गराउने, सडक आसपासका स्थानीयसँग अन्तरक्रिया गर्नेयात्राको मुख्य लक्ष्य रहेको यात्रा संयोजक तथा रास्वपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभापति राजन गौतमले जनाएका छन् ।
यात्राको सुरुवात पुस ९ गते गैंडाकोटको पुल्चोकबाट हुने उनले जानकारी दिए । यात्राको नेतृत्व रास्वपा सभापति लामिछानेले गर्नेछन् । टोलीमा सांसदहरु निशा डाँगी, शिव नेपाली, रास्वपाका सहकोषाध्यक्ष दीपक बोहरासहितका नेताहरु सहभागी हुने, सर्वसाधारणलाई पनि यात्रामा सहभागी हुन आहृवान गरिने गौतमले बताए ।
पुस ९ मा हिंडेपनि कति समयमा बुटवल पुगिने भन्नेबारे समय निर्धारण भएको छैन । उनले भने, ‘हिंडेर जाने हो, बाटोमा अन्तरसंवाद गर्दै जाने हो, ९ गते सुरु भएपनि पुगिने समयको निश्चित छैन ।’










