बन्दिपुर अस्पतालमा आँखा सेवा केन्द्र सञ्चालन गरिने
भञ्ज्याङ न्यूज/दमौली

बन्दिपुर अस्पतालमा आँखा सेवा केन्द्र संचालन गरिने भएको छ । बन्दिपुर गाउँपालिकाको सहयोगमा एक जना जनशक्ति नेत्र सहायक राखिने भएको छ । हिमालय आँखा अस्पताल र प्राइस संस्थाको सहयोगमा आँखा सेवा बिस्तार गर्न लागेको गाउँपालिकाले जनाएको छ ।
सेवा संचालन पश्चात गाउँपालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने छन् । त्यस्तै, तीन बर्षदेखि संचालन बिहीन अवस्थामा रहेको दन्त सेवा पनि सुचारु गर्ने योजना गाउँपालिकाले बनाएको छ ।
सेवा लिन बन्दिपुरबासी पोखरा, चितवन र काठमाडौं लगायतका शहर जानुपर्ने बाध्यताको अन्त्य हुने अध्यक्ष सुरेन्द्र बहादुर थापाको विश्वास छ । बन्दिपुर अस्पतालमा एक जना बिशेषज्ञ सहित चार डाक्टर, ओपिडी सेवाका लागि ४४ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।










