तनहुँको पर्यटन : गन्तव्य जोडिंदै, पर्यटनको नयाँ सर्किट बन्दै

नारायण खड्का

बन्दीपुर–आँबुखैरेनीबाट मानुङकोट, छाब्दी, छिम्केश्वरी र आँधीमूलसम्म जीप सफारी विस्तार गर्ने तयारी, गाउँ–गाउँमा पर्यटनको लाभ पुर्याउने लक्ष्य

तनहुँ : तनहुँमा पर्यटनका गन्तव्यको कमी छैन । धार्मिक आस्थाका केन्द्रदेखि सूर्योदय र हिमश्रृंखला नियाल्न सकिने डाँडाकाँडा, ऐतिहासिक बस्ती, प्राकृतिक सम्पदा, ग्रामीण जीवनशैली र मौलिक संस्कृतिसम्म जिल्लाभित्रै अनेक सम्भावना छन् । समस्या गन्तव्यको अभावमा होइन, ती गन्तव्यलाई एउटै पर्यटकीय यात्रामा जोड्न नसक्नुमा छ ।


यही चुनौतीलाई सम्बोधन गर्दै तनहुँका प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यलाई जीप सफारीमार्फत एउटै पर्यटन सर्किटमा जोड्ने तयारी अघि बढाइएको छ। बन्दीपुर र आँबुखैरेनीमा सञ्चालन हुँदै आएको जीप सफारीलाई जिल्लाका अन्य सम्भावनायुक्त गन्तव्यसम्म विस्तार गरी पर्यटकलाई एउटै यात्रामा फरक–फरक भूगोल, संस्कृति, धार्मिकस्थल र ग्रामीण जीवनको अनुभव गराउने योजना अगाडि ल्याइएको छ ।

प्रस्तावित सर्किटमा दमौली–मानुङकोट, छाब्दी, छिम्केश्वरी र आँधीमूललगायतका गन्तव्यलाई समेट्ने तयारी गरिएको छ । यसलाई क्रमशः अन्य ग्रामीण तथा धार्मिक गन्तव्यसँग समेत जोड्दै लैजाने व्यवसायीको योजना छ ।

बन्दीपुर भिलेज सफारीका सञ्चालक वसन्त पौडेलका अनुसार अहिले बन्दीपुर र आँबुखैरेनी क्षेत्रमा जीप सफारी सञ्चालन भइरहेको छ । सफारीमार्फत पर्यटकलाई मुख्य बजार र स्थापित पर्यटकीय केन्द्रबाट बाहिर निकालेर गाउँ, पहाड, धार्मिकस्थल तथा प्राकृतिक गन्तव्यसम्म पुर्याउने प्रयास भइरहेको उनले बताए ।

‘बन्दीपुर र आँबुखैरेनीमा जीप सफारी भइरहेको छ । अब यसलाई अन्य पर्यटकीय गन्तव्यसँग जोडेर पर्यटन सर्किटका रूपमा विकास गर्ने तयारी गरेका छौँ’, पौडेलले भने, ‘एउटै यात्रामा धेरै गन्तव्य घुम्न पाउने व्यवस्था गर्न सकियो भने पर्यटकको बसाइ र खर्च दुवै बढाउन सकिन्छ ।’

गन्तव्य धेरै, प्याकेज थोरै

तनहुँमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र धेरै भए पनि तिनलाई एकीकृत पर्यटकीय उत्पादनका रूपमा विकास गर्ने प्रयास पर्याप्त हुन सकेको छैन । पर्यटक कुनै एउटा चर्चित गन्तव्यमा पुग्ने र त्यही क्षेत्र आसपास भ्रमण गरेर फर्कने प्रवृत्ति अझै बलियो छ ।

बन्दीपुर आउने पर्यटकलाई छिमेकी ग्रामीण बस्ती, धार्मिकस्थल वा अन्य प्राकृतिक गन्तव्यसम्म पुर्याउने व्यवस्थित प्याकेज नहुँदा जिल्लाका अन्य क्षेत्रले पर्यटनको सम्भावित लाभ लिन सकेका छैनन्। आँबुखैरेनीमा आउने पर्यटकको हकमा पनि अवस्था उस्तै छ ।

अब भने एउटा गन्तव्यलाई अर्को गन्तव्यसँग जोड्ने अवधारणामा जानुपर्ने व्यवसायीको भनाइ छ । पर्यटन सर्किटको उद्देश्य नै पर्यटकलाई एउटै ठाउँमा रोक्नेभन्दा जिल्लाभित्रका धेरै ठाउँमा पुर्याउनु अहिलेको आवश्यकता भएको सम्पदा नेपालका अध्यक्ष एवं पर्यटन विज्ञ हरिसिं गुरुङ बताउँछन् ।

मानुङकोट यसको एउटा महत्वपूर्ण कडी बन्न सक्छ । दमौलीबाट नजिक रहेको मानुङकोट सूर्योदय, सूर्यास्त र हिमश्रृंखला अवलोकनका लागि चर्चित बन्दै गएको छ । यहाँबाट देखिने पहाडी भूगोल र मौसम खुलेका बेला देखिने हिमाली दृश्यले पर्यटक आकर्षित गर्दै आएको छ ।


मानुङकोटलाई बन्दीपुर, छाब्दी, आँधीमूल, मिर्लुङकोट, छिम्केश्वरी वा अन्य ग्रामीण क्षेत्रसँग जोड्न सके दमौली आउने पर्यटकको घुमफिरको दायरा फराकिलो बनाउन सकिन्छ ।

छाब्दी, ढोरवाराही तथा अन्य धार्मिक क्षेत्रलाई धार्मिक तथा प्राकृतिक पर्यटनको संगमका रूपमा विकास गर्न सकिने सम्भावना छ। धार्मिक आस्थासँगै आसपासको प्राकृतिक वातावरण र ग्रामीण जीवनशैलीलाई पर्यटकीय अनुभवमा जोड्न सकिन्छ । छिम्केश्वरी भने उच्च पहाडी भूभागमा रहेको धार्मिक तथा प्राकृतिक गन्तव्य हो। धार्मिक आस्था, पहाडी दृश्य, ग्रामीण परिवेश र प्राकृतिक सुन्दरताको संयोजन भएकाले यहाँ पर्यटकीय गतिविधि विस्तार गर्न सकिने सम्भावना छ ।


आँधीमूल पनि धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा परिचित छ । यी सबै गन्तव्यको विशेषता फरक–फरक भए पनि तिनलाई एउटै यात्रामा जोड्दा पर्यटकले छोटो समयमा तनहुँको विविधता अनुभव गर्न सक्नेछन् ।

जीप सफारी : यातायात भन्दा बढी पर्यटन उत्पादन

जीप सफारीलाई केवल पर्यटक ओसारपसार गर्ने साधनका रूपमा मात्र हेर्न नहुने व्यवसायी बताउँछन् । ग्रामीण सडक, पहाडी बस्ती, खेतबारी, वनजंगल र स्थानीय जीवनशैली हुँदै यात्रा गर्नु आफैंमा पर्यटकीय अनुभव बन्न सक्छ । ठूला पर्यटकीय बस पुग्न नसक्ने वा नियमित सार्वजनिक यातायात सहज नभएका ग्रामीण गन्तव्यसम्म जीपमार्फत पुग्न सकिन्छ । यसले मुख्य राजमार्ग र बजार क्षेत्रमा सीमित पर्यटकलाई भित्री गाउँसम्म पु¥याउने सम्भावना बढाउँछ ।


पर्यटकका लागि यस्तो यात्रा गन्तव्यमा पुग्ने माध्यम मात्र नभई बाटोमै स्थानीय जीवन हेर्ने, ग्रामीण भूगोल बुझ्ने र नयाँ अनुभव लिने अवसर बन्न सक्छ । यस अर्थमा जीप सफारीले तनहुँको ग्रामीण पर्यटनलाई बजारसँग जोड्ने माध्यमको भूमिका निर्वाह गर्न सक्ने देखिन्छ ।

पर्यटकसँगै गाउँमा पुग्ने आम्दानी

पर्यटन सर्किटको सबैभन्दा ठूलो सम्भावना स्थानीय अर्थतन्त्रसँग जोडिएको छ । पर्यटक गाउँसम्म पुगे भने त्यसको लाभ होटल र यातायात व्यवसायीमा मात्र सीमित हुँदैन । होमस्टे, स्थानीय रेस्टुरेन्ट, कृषि उत्पादन, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, हस्तकला तथा स्थानीय परिकारको बजार विस्तार हुन सक्छ । पर्यटकलाई स्थानीय उत्पादन उपभोग गर्ने वातावरण बनाउन सकिए गाउँमै उत्पादन भएको वस्तुले बजार पाउनेछ ।


ग्रामीण बस्तीमा रहेका घरलाई होमस्टेका रूपमा विकास गर्न सकिन्छ । स्थानीय महिलाले बनाएका परिकार, युवाले सञ्चालन गर्ने यातायात तथा गाइड सेवा, किसानले उत्पादन गरेका कृषि सामग्री र स्थानीय कलाकारले प्रस्तुत गर्ने सांस्कृतिक कार्यक्रमलाई पर्यटनसँग जोड्न सकिन्छ । यसबाट पर्यटनको आम्दानी गाउँमै घुम्ने सम्भावना बढ्छ ।

व्यवसायी पौडेलका अनुसार पर्यटकलाई स्थानीय समुदायसँग जोड्नु पर्यटन सर्किटको महत्वपूर्ण पक्ष हो । पर्यटक आउने क्षेत्रका स्थानीयले होमस्टे, स्थानीय खाना, हस्तकला, कृषि उपज बिक्री तथा सांस्कृतिक गतिविधिमार्फत आम्दानी गर्न सक्ने वातावरण बनाउनुपर्ने उनले बताए ।

बन्दीपुरको पर्यटन गाउँतिर विस्तार गर्ने अवसर

बन्दीपुर तनहुँको मात्र नभई गण्डकी प्रदेशकै स्थापित पहाडी पर्यटकीय केन्द्रमध्ये एक हो । ऐतिहासिक बस्ती, मौलिक वास्तुकला, संस्कृति र प्राकृतिक दृश्यले बन्दीपुरको आफ्नै पर्यटकीय पहिचान बनाएको छ। तर बन्दीपुरको सफलता त्यहीँसम्म सीमित राख्ने कि आसपासका ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने भन्ने प्रश्न महत्वपूर्ण छ ।

बन्दीपुरमा आउने पर्यटकलाई जीप सफारीमार्फत अन्य गन्तव्यसम्म लैजान सकिए बन्दीपुर केन्द्रित पर्यटनलाई जिल्लाका अन्य क्षेत्रमा विस्तार गर्न सकिन्छ । यसले पर्यटकको बसाइ लम्ब्याउनुका साथै बन्दीपुरबाहिरका व्यवसाय र समुदायलाई पनि लाभ पुर्याउन सक्छ ।

आँबुखैरेनीका लागि पनि यही सम्भावना छ । राजमार्गसँग जोडिएको प्रवेश क्षेत्र भएकाले यहाँबाट विभिन्न प्राकृतिक, धार्मिक तथा ग्रामीण गन्तव्यतर्फ पर्यटकलाई लैजान सकिन्छ । पृथ्वीराजमार्गसंगै जोडिएका बन्दीपुर र आँबुखैरेनीलाई पर्यटन सर्किटका प्रवेश तथा आधार क्षेत्रका रूपमा विकास गर्दै जिल्लाका भित्री गन्तव्यसँग जोड्न सके तनहुँको पर्यटनको भूगोल फराकिलो बनाउन सकिने देखिन्छ ।

पूर्वाधारबिना सर्किट अधुरो

पर्यटन सर्किटको योजना अघि बढे पनि यसको सफलताका लागि सडक र पूर्वाधार मुख्य चुनौती बन्न सक्छन् । कतिपय ग्रामीण पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक वर्षायाममा जोखिमपूर्ण हुने गरेका छन् । सडकको स्तरोन्नति, नियमित मर्मत, संकेतचिह्न, पार्किङ, विश्रामस्थल, खानेपानी र शौचालयजस्ता आधारभूत पूर्वाधार आवश्यक हुन्छन् ।


त्यस्तै पर्यटकलाई गन्तव्यको जानकारी दिने सूचना बोर्ड, डिजिटल नक्सा, पर्यटकीय मार्गको पहिचान, प्राथमिक उपचार तथा सुरक्षा व्यवस्थालाई पनि योजनाको हिस्सा बनाउने आवश्यक रहेको छ । व्यवसायीका अनुसार स्थानीय तहले पूर्वाधारमा लगानी गर्ने, निजी क्षेत्रले पर्यटकीय प्याकेज र सेवा सञ्चालन गर्ने तथा स्थानीय समुदायले होमस्टे, उत्पादन र सांस्कृतिक गतिविधिमा सहभागिता जनाउने गरी तीन पक्षबीच सहकार्य आवश्यक छ ।

पर्यटन अब ‘हेर्ने’ होइन, ‘अनुभव गर्ने’ दिशामा

पछिल्लो समय पर्यटकको रोजाइ पनि परिवर्तन भइरहेको छ। केवल प्रसिद्ध ठाउँ पुगेर तस्वीर खिच्नेभन्दा स्थानीय जीवनशैली, खानपान, संस्कृति, प्रकृति र साहसिक गतिविधि अनुभव गर्ने पर्यटनको माग बढिरहेको छ । तनहुँसँग यही बदलिँदो पर्यटन रुचिलाई सम्बोधन गर्न सक्ने आधार छ ।

एकातिर ऐतिहासिक बन्दीपुर छ, अर्कोतिर मानुङकोटको सूर्योदय र हिमाली दृश्य । कतै धार्मिक आस्थाका केन्द्र छन् भने कतै उच्च पहाडी भूभाग र ग्रामीण बस्ती । नदी, वन, कृषि र स्थानीय संस्कृतिले थप विविधता दिएको छ। यी सबैलाई छुट्टाछुट्टै गन्तव्यका रूपमा मात्र प्रचार गर्नेभन्दा एउटै कथामा जोडेर पर्यटकीय अनुभवका रूपमा बेच्न सकिए तनहुँको पर्यटनले नयाँ बजार पाउन सक्छ ।

गन्तव्य जोडिएपछि मात्रै गाउँ जोडिन्छ

तनहुँमा पर्यटनको वास्तविक विस्तार पर्यटकको संख्या बढ्नु मात्र होइन, पर्यटकको पाइला गाउँसम्म पुग्नु हो । राजमार्ग छेउका बजार र स्थापित पर्यटकीय केन्द्रमा मात्र पर्यटक सीमित रहे भने ग्रामीण पर्यटनको सम्भावना पूरा हुँदैन । जीप सफारीमार्फत गाउँ–गाउँलाई पर्यटकीय मार्गमा जोड्ने प्रयासले यही खाडल पूर्ति गर्न सक्छ ।


तर सर्किटको अवधारणा कागजमा सीमित नराखी स्पष्ट मार्ग, नियमित प्याकेज, मूल्य निर्धारण, सुरक्षा मापदण्ड, पर्यटक सूचना र पूर्वाधारसहित कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता छ । स्थानीय तह, पर्यटन व्यवसायी र समुदायले साझा योजना बनाएर अघि बढ्न सके बन्दीपुर र आँबुखैरेनीमा केन्द्रित पर्यटकलाई मानुङकोट, मिर्लुङकोट, छाब्दी, छिम्केश्वरी, आँधीमूल हुँदै अन्य ग्रामीण गन्तव्यसम्म पुर्याउन सकिनेछ ।

त्यसपछि तनहुँमा पर्यटनको अर्थ एउटा प्रसिद्ध गन्तव्य पुगेर फर्किनुमा सीमित रहने छैन । पर्यटक गन्तव्यमा पुग्नेछन्, गाउँमा बस्नेछन्, स्थानीय उत्पादन खानेछन्, संस्कृति अनुभव गर्नेछन् र खर्च पनि स्थानीय अर्थतन्त्रमै छाडेर जानेछन् । यही मोडलले तनहुँको पर्यटनलाई बहुदिवसीय, ग्रामीण र समुदायमा आधारित पर्यटनका रूपमा विकास गर्ने आधार तयार गर्न सक्छ । गन्तव्य तनहुँसँग पर्याप्त छन् । अब आवश्यकता ती गन्तव्यलाई सडकले मात्र होइन, साझा पर्यटन अवधारणाले जोड्न सक्नुपर्दछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker