म्याग्देमा फोहोरमैला व्यवस्थापन केन्द्रको शुभारम्भ : स्थानीयद्वारा २२ रोपनी ८ आना जग्गा उपलब्ध

भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्रको शुभारम्भ गरेको छ । बजार क्षेत्र बढ्दै गएपछि चुनौतीपूर्ण बन्दै गएको फोहोर मैला व्यवस्थापनको पाटोलाई अब सहज रुपमा निकास दिन सकिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनको शुभारम्भ गरेको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले संयुक्तरुमा केन्द्रको शुभारम्भ गरेका हुन् । गाउँपालिकाको बजार क्षेत्रमा संकलन हुने कुहिने र नकुहिने दुबै प्रकारका फोहोरहरु उक्त संकलन तथा व्यवस्थापन केन्द्रमा व्यवस्थापन गरिने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

‘स्वच्छ म्याग्दे, समृद्ध म्याग्दे गाउँपालिकाको परिकल्पना अनुसार फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको उनले बताए । अध्यक्ष श्रेष्ठले भने, ‘गाउँपालिकाले फोहोरलाई मोहोर बनाउने नीति लिएको छ । जिल्लाका अन्य स्थानीय तहभन्दा उत्कृष्ट र नमुनायोग्य रुपमा ल्याइण्डफिल्ड साइड सञ्चालन गर्ने योजना रहेको छ । यो फोहोरमैला व्यवस्थापन केन्द्र गाउँपालिकाको ऐतिहाँसिक काम भएको छ ।’

‘गाउँपालिकाको समग्र विकासको लागि हामी लागि परेका छौ’, अध्यक्ष श्रेष्ठले भने, ‘पालिकाबासिलाई कसैलाई काखा र पाखा नगरिकन काम गर्दै आएका छौं । म्याग्देको समग्र विकासका लागि सबैसँग समन्वय गरी काम गर्ने छौ ।’

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरले फोहोर संकलन केन्द्रबाट कुहिने र नकुहिने फोहोर छुट्याइने र कुहिने फोहोरबाट मल उत्पादन गरिनुका साथै नकुहिने फोहोरबाट अन्य उत्पादन गरि मोहोर बनाइने योजना बनाएको बताए । फोहोर संकलन केन्द्र गाउँपालिकाको गौरबको योजना रहेको भन्दै उपाध्यक्ष घिमिरेले भने, ‘यसकामका लागि सहयोग गर्ने सबै जग्गादाता तथा गाउँपालिकाबासीलाई हामी धन्यवाद व्यक्त गर्दछौं ।’

यस्तै, गाउँपालिकाकी निवर्तमान अध्यक्ष मायादेवी रानाले गत कार्यकालमा ल्याण्डफिल्ड साइट निर्माणका लागि धेरै दुःख गरिएको हुँदा अहिले जग्गा प्राप्ति भएको छ । अबका दिनमा यसलाई सबैको हातेमालोमा सम्पन्न र सफल बनाउनुपर्नेमा उनले जोड दिइन् ।

फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनका लागि स्थानीय ९ जना जग्गाधनीबाट न्यनुतम मुल्यमा जग्गा प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । करिब २२ रोपनी ८ आना जग्गामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि डिपिआर र गुरुयोजना अनुसार २१ करोड ६ लाख रुपैयाँको लागत अनुमान गरिएको उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने, ‘हाल पहुँच सडक निर्माण, नाली निर्माण रिटेनिङ्ग वाल, कम्पाउण्ड सहितको भवन निर्माण सहित हालसम्म २ करोड १५ लाखको लागतमा पूर्वाधार निर्माणको काम भइरहेको छ ।’

यस्तै, गाउँपालिकाको बजार क्षेत्रको फोहोर संकलनका लागि टिप्पर खरिद गरिसकिएको छ । करिब पाँच हजार घरबाट फोहोर मैला संकलन गर्ने योजना बताएको गाउँपालिकाले केन्द्र सञ्चालनका लागि सञ्चालक समिति समेत गठन गरेको छ । गाउँपालिकाले साप्ताहिक रुपमा प्रत्येक वडाबाट फोहोर संकलन गर्ने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

गाउँपालिकाले फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी ऐन निर्माण गरिसकेको छ । सोही ऐन भित्र रहेर प्रत्येक वडाबाट दैनिक रुपमा फोहोर संकलन गरी फोहोरमैला व्यवस्थापन केन्द्रमा ल्याइने भएको छ ।

यस्तै, गाउँपालिकाले कार्यक्रमका अवसरमा फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनका लागि जग्गा दिने जग्गादाताहरुलाई सम्मान गरिनुका साथै जनप्रतिनिधिहरुलाई फोहोर संकलन कार्ड उपलब्ध गराइएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker