जाजरकोट भूकम्प : १५७ जनाको मृत्यु, ३७५ घाइते
भञ्ज्याङ समाचारदाता/तनहुँ
शुक्रबार राति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प जाँदा ठूलो जनधनको क्षति भएको छ । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको हो । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी यो समाचार तयार गर्दासम्म १५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी ३७५ जना घाइते भएका छन् ।
सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । यसैगरी भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन/तीन तथा रोल्पामा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौँ तथा अन्य ठाउँमा ल्याउने क्रम जारी छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी गराएका छन् ।
‘प्रभावितको उद्धार सक्यौँ, राहत र पुनःस्थापना जुटेका छौ : भेरी नगरप्रमुख चन्द्रप्रकाश घर्ती
हामीले उद्धार सक्यौँ । अब राहतका लागि दौडिरहेका छौँ । विस्थापित परिवारलाई कहाँ राख्ने, के खुवाउने, कसरी सुताउने भनेर लागिपरेका छौँ । नगर क्षेत्रका प्रायः घर क्षत्रि्रस्त भएका छन् । लत्ता कपडा, भाँडाकुडा, खाद्यान्न नष्ट भएका छन् । प्रभावितलाई बेलुकीको खाना कसरी खुवाउने तथा कसरी बसाउने भन्ने चिन्ता थपिएको छ । भूकम्पबाट प्रभावित सबै जना खुला चौर तथा सडकमा बसिरहनुभएको छ । राहतका लागि ध्यान केन्द्रित गरेका छौँ ।
भूकम्पबाट सबैभन्दा बढी भेरी नगरपालिकामा मानवीय तथा भौतिक क्षति भएको छ । नगरपालिकाको वडा नं १ र ३ मा बढी क्षति भएको छ । अहिलेसम्म ४५ जनाको मृत्यु भइसकेको छ । अझै केही शव संकलनकै क्रममा छ । अझै १०/१५ वटा शव थपिन सक्ने देखिएको छ । भेरी नगरपालिकामा मात्रै ५५ देखि ६० जनाको मृत्यु भएको अनुमान गरिएको छ । एक सय ३४ जनाभन्दा बढी घाइते हुनुभएको छ ।
गए राति ११:४७ मा भूकम्प गयो । हामी राति १२ बजेदेखि नै उद्धारमा खटियौँ । स्थानीय सरकार, जिल्ला सदरमुकाममा केन्द्रित सम्पूर्ण सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, राजनीतिक दलका नेता तथा कार्यकर्ता, नागरिक समाज, युवालगायतको सहभागितामा उद्धार गर्यौं । सबैको सामूहिक प्रयासबाट उद्धार सम्भव भयो । घाइतेको खोजी, प्रारम्भिक उपचार गरी थप उपचारका लागि सुर्खेत र नेपालगन्जका अस्पतालमा पठाउने काम बिहान ७ बजेसम्म गरिसकेका थियौँ । रातभर नसुती सबै टोली खटियौँ । सबैको सामूहिक प्रयासबाट त्यो सम्भव भयो ।
सम्पूर्ण घाइतेको उपचार भइरहेको छ । मृतकको शव परीक्षण जारी छ । परीक्षण भइसकेका शव परिवारको जिम्मा लगाइएको छ । मृतकको संख्या ठूलो भएकाले शव परीक्षणमा संलग्न चिकित्सक दबाबमा हुनुहुन्छ । अस्पतालमा औषधिको कुनै कमि हुन दिइएको छैन । संघ र प्रदेशबाट चिकित्सक सहित औषधि प्राप्त भएको छ । संघ र प्रदेश सरकारको सहयोगलाई हामी सम्मान गर्छौ ।
अब राहतको तनाव भएको छ । विस्थापितलाई खाने बस्नेको व्यवस्था मिलाउन लागिएको छ । बेलुकी खुला आकाशमा कसरी सुताउने, के खुवाउने, कम्बल, त्रिपाल कसरी व्यवस्था गर्ने भनेर लागि रहेका छौँ । पूर्ण र आंक्षिक क्षति भएका घरको तथ्याङ्क संकलन भइरहेको छ । भौतिक क्षतिको विवरण संकलनका लागि वडा कार्यालयलाई परिचालित गरेका छौँ। मृतक र घाइतेको संख्या साँझसम्म पुष्टि भइसक्छ । भौतिक क्षतिको विवरण आउन केही दिन लाग्न सक्छ । वडा नं ४ मा रहेका पूराना घरहरू सबै क्षतिग्रस्त क्षग्रस्त भएका छन् । अन्य घरमा पनि आंशिक क्षति पुगेको छ । घरमा फर्केर जान जनता चाहिरहेका छैनन् ।
पहिलो चरणमा प्रभावितलाई राहत विरतण गर्र्छौ । पीडितलाई मलहमपट्टी लगाउँदै छौँ । त्यसपछि पुनःस्थापनामा ध्यान दिनेछौँ । राहतका लागि विभिन्न संघसंस्थालाई अनुरोध गरेका छौँ । नगरपालिकाले आफ्नो साधनस्रोत परिचालन गरी जनतालाई सहयोग गर्छ । संघ र प्रदेश सरकारलाई पनि सहयोगको अनुरोध गरेका छौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रभावित क्षेत्रको अवलोकन गरेर फर्कनुभएको छ । विश्वास छ, संघीय सरकारले ठूलो सहयोग गर्नेछ । (रासससँगको कुराकानीमा आधारित)
‘भूकम्पको केन्द्रबिन्दु भएर पनि मानवीय क्षति भएन’ : बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरी
भूकम्पको ठूलो झड्का आएकाले सबैले एकसाथ थाहा पायौँ । रातभर गाउँपालिकाभित्र भएको क्षतिको अनुगमन गरी जानकारी लियौँ । बारेकोटमा केन्द्रबिन्दु भएपनि मानवीय क्षति भएको छैन । भौतिक संरचनामा भने ठूलो क्षति भएको छ । झण्डै एक हजार परिवार विस्थापित भएका छन् । उनीहरूको घर पूर्णरूपमा क्षत्रि्रस्त भएको छ । बस्नै नहुने अवस्था छ । अन्य एक हजार पाँच सयको हाराहारीमा घर जोखिममा छन् । भूकम्प सम्झँदा र घरको अवस्था देख्दा सबै तर्सित छन् । भूकम्पपीडित गाउँभन्दा टाढा जंगल, गुफा र चौरमा बसिरहेका छन् । प्रभावित क्षेत्रमा आवश्यकताअनुसार खाद्यान्न वितरण गरिएको छ । संघीय र प्रदेश सरकारसँग एक हजार परिवारको पुनःस्थापनाका लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरिएको छ । विस्थापित परिवारलाई व्यवस्थापन गर्नेतर्फ लागिरहेका छौँ ।
भूकम्पमा परी बारेकोटमा पाँच जना घाइते भएका छन् । दुइ जनालाई सामान्य उपचार गरी घर पठाइसकेका छौँ । तीन जनालाई हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाएका छौँ । बारेकोट-१ केन्द्रबिन्दु रहेको भूकम्पबाट त्यहाँ सडकलगायत भौतिक संरचनामा क्षति पुगेको छ । घर क्षतिग्रस्त छन् । जमिन भासिएको छ । चिराचिरा परेको छ । भग्नावशेष जस्तो देखिएको छ । गाउँपालिकाको केन्द्रबाट तीन किलोमिटर टाढा रहेको भूकम्पको केन्द्रबिन्दुमा बस्ती, जंगल र खोला छ । विस्थापितको पुनर्वास र खाद्यान्नको व्यवस्था गर्नु अहिलेको प्राथमिकता हो । (रासससँगको कुराकानीमा आधारित)
भूकम्प प्रभावितको राहत र उपचारलाई प्रभावकारी तुल्याउने सरकारको प्रतिबद्धता
यस्तै, सरकारले भूकम्प प्रभावितलाई तत्काल उद्धार, उपचार, राहत र पुनःस्थापनालाई प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारका प्रवक्ता रेखा शर्माले शनिबार एक विज्ञप्ति जारी गरी उद्धार, उपचार, राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रभावितस्थल पुगेर पहलकदमी लिइसक्नुभएको बताउनुभएको छ । उद्धार, उपचार, राहत र पुनःस्थापनाका सन्दर्भमा सूचना तथा सञ्चारको क्षेत्रबाट कुनै पनि कमी आउन नदिने सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले प्रतिबद्धता व्यक्त गर्नुभयो । संकटको बेलामा आमसञ्चारका माध्यम तथा सामाजिक सञ्जालबाट सत्य तथ्य सूचना प्रवाह गर्नु सबैको दायित्व रहने स्मरण गराउँदै उहाँले जोखिम मोलेर प्रभावितस्थलबाट रिपोर्टिङ गरिरहेका सम्पूर्णसञ्चारकर्मीप्रति धन्यवादसहित आभार व्यक्त गर्नुभएको छ ।
जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट भएको ठूलो जनधनको क्षतिले मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख छ । मन्त्री शर्माले दुःखद् घडीमा मृतकप्रति भावपूपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। भूकम्पका कारण केही सञ्चारमाध्यममा समेत क्षति पुग्न गएकामा मन्त्री शर्माले दुःख व्यक्त गर्नुभएको छ । मन्त्रालयले दुःखको यो अवस्थामा मन्त्रालय अन्तर्गतका निकायबाट नियमित र सहुलियतरूपमा सेवा प्रवाह गर्न, सही र सत्यतथ्य सूचना प्रवाह गर्न तथा उद्धार, उपचार र राहत कार्यमा समेत सहयोग गर्न आग्रह गरेको छ । यस्तै निजी क्षेत्रका सेवा प्रदायकलाई पनि सामाजिक उत्तरदायित्व वहन गर्दै आफ्नो क्षेत्रबाट आवश्यक सहयोगका लागि अपिल गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकसँग छलफल गरी भूकम्पका कारण दूरसञ्चार सेवामा परेको असरको समीक्षा गर्दै हाल सो क्षेत्रमा सेवा अवरुद्ध नभएको र उप्रान्त आउनसक्ने पराकम्पनबाट सुरक्षित गरी सेवा प्रदायकलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको मन्त्री शर्माले जानकारी दिनुभयो ।
त्यसैगरी आकस्मिक टेलिकम्युनिकेसन क्लष्टर (इटिसी)लाई सक्रिय बनाई भूकम्प प्रभावित क्षेत्रको दूरसञ्चार सेवाको अवस्था र सेवाप्रवाहलाई थप सहज बनाउने विषयमा मन्त्रालयमा छलफल गरी आवश्यक निर्णय गरिएको छ । प्रभावित क्षेत्रमा रहेका पीडित, उद्धारकर्मी र आम नागरिकलाई सहज सेवा प्रवाहमा सहयोग परयाउने उद्देश्यले मन्त्रालयको आग्रहमा सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले पाँच दिनसम्म टेलिफोन, म्यासेज र डाटा निःशुल्क गर्ने तथा निजी क्षेत्रको सेवा प्रदायक एनसेलले राहत कोषमा रु ५० लाख सहयोग र रु ४० लाखसम्मको कल र डाटा निःशुल्क गर्ने निर्णय गरेकामा धन्यवाद दिइएको छ ।
भूकम्प पीडितलाई सरकारसँग मिलेर एमालेले सघाउने
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तदारुकताका साथ भूकम्प पीडितलाई राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उद्धार तथा खोजमा सरकारलाई सघाउन आफ्नो दल तत्पर रहेको बताउनुभएको छ । नेकपा (एमाले)को मधेस प्रदेश समितिका नवनिर्वाचित पदाधिकारीहरूको शपथ समारोहलाई शनिबार पर्साको वीरगन्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भूकम्पमा परी घाइते भएकाको उद्धार तथा उपचार एवं राहत सामग्री वितरणमा आफ्नो ध्यान केन्द्रित गर्न सरकारसँग आग्रह गर्नुभयो ।
“घाइतेको खोजी र उद्धारका लागि हामी पनि सरकारलाई सहयोग गर्न तयार छौँ”, सामाजिक स‹संस्थालाई पनि तत्काल राहत र उद्धारमा जुट्न आग्रह गर्दै उहाँले भन्नुभयो । पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई इमान्दारीका साथ आफ्नो जिम्मेवारी पूरा गर्न आहृवान गर्दै अध्यक्ष ओलीले सबैले दत्तचित्त भएर देश र जनताका निम्ति काम गरेमा आगामी निर्वाचनमा बहुमत प्राप्त गर्न सकिने बताउनुभयो । मधेसको विकासका लागि पार्टी प्रतिबद्ध रहेको दोहोर्याउँदै उहाँले मधेसको गरिबी हटाउने योजनामा काम गर्न स्थानीय तहका नेतालाई निर्देशन दिनुभयो । नेकपा (एमाले)का सचिव एवं मधेस प्रदेश प्रमुख योगेश भट्टराइ, कोशी प्रदेश प्रमुख रघुवीर महासेठले पार्टी सङ्गठनका विविध पक्षबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।
गण्डकी प्रदेशले भूकम्प प्रभावित क्षेत्रमा पठायो चिकित्सक र स्वास्थ्य सामग्री
गण्डकी प्रदेश सरकारले गएरातिको भूकम्पबाट प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्रीसहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोली पठाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज एक अपिल जारी गरी प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने उद्देश्यले चिकित्सक सहितको टोली त्यसतर्फ पठाइएको जानकारी दिनुभयो । सरकारले प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा विकास गौचनको नेतृत्वमा मेडिकल, हाडजोर्नी र एनेस्थिेसियाको विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी का साथै उपचार सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा पठाएको हो । स्थलमार्ग हुँदै जाने टोली आइतबार बिहान रुकुम पुग्ने र भूकम्पबाट घाइतेको उपचारमा खटिने छन् ।
अपिलमा मुख्यमन्त्री पाण्डेले जाजरकोट र रुकुमपश्चिममा भएको ठूलो मानवीय तथा भौतिक क्षतिको घटनाले मर्माहत बनाएको उल्लेख गर्नुभएको छ । “विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न विभिन्न संघसंस्था तथा नागरिक समाजलगायत सम्बन्धित सबैलाई प्रदेश सरकार अपिल गर्दछौँ”, अपिलमा भनिएको छ । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारकोतर्फबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुनःनिर्माणलगायतका कार्यमा कर्णाली प्रदेश सरकारसँगको समन्वयमा आवश्यक सहयोग गर्ने प्रयास निरन्तर रहने बताउनुभएको छ । गएराति जाजरकोटको बारेकोट गाउँपालिका-१ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा मानवीय तथा भौतिक क्षति भएको छ ।
भूकम्पपीडितलाई सहयोग जुट्दै
जाजरकोट भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिपछि त्यस क्षेत्रका लागि सहयोग जुट्न सुरु भएको छ । विभिन्न कम्पनी तथा संघ संस्थाले भूकम्प पीडितलाई सहयोग रकम घोषणा गर्न सुरु गरेका छन् । निजी क्षेत्रको ठूलो वायु सेवा कम्पनी बुध्द एयरले भूकम्पपीडितका लागि रु एक करोड आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । “जाजरकोट तथा रुकुम पश्चिममा गएको भूकम्पका कारण थुप्रै नागरिकले ज्यान गुमाएको र थुप्रै परिवार घरबारबिहीन भएका छन् । यस दुःखद् परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तयार हुनैपर्छ । बुध्द एयर प्रालिको तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रु एक करोड सहयोग दिने निर्णय गरेका छौँ”, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बुध्द एयरले उद्धार तथा राहत सामग्री ढुवानीमा पनि सहयोगका लागि प्रतिबद्धता जनाएको छ ।
निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले पनि भूकम्पपीडितलाई रु ५० लाख सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री राहतकोषमा सो रकम जम्मा गर्ने निर्णय गरिएको एनसेलका कानुनी तथा नियामक निकाय प्रमुख विशाल उपाध्यायले जानकारी दिनुभयो । एनसेलले भूकम्प प्रभावित क्षेत्रमा रु ४० लाख बराबरको ‘भ्वाइस’ र ‘डाटा’ निःशुल्क गर्ने पनि निर्णय गरेको छ । यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा आवश्यक सहयोग गर्न र सेवा सञ्चालन गर्न निजी क्षेत्रका सेवा प्रदायकहलाई आग्रह गरेको थियो । आजै नेपाल टेलिकमले पनि पाँच दिनका लागि भूकम्प प्रभावित क्षेत्रमा भ्वाइस र एसएमएस निःशुल्क तथा सीम पनि वितरण गर्ने घोषणा गरिसकेको छ ।
गैरआवासीय नेपाल संघ (एनआरएनए)का अध्यक्ष बद्री केसी नेतृत्वको कार्यसमितिले पनि भूकम्पपीडितलाई रु १० लाख उपलब्ध गराउने घोषणा गरेको छ । महासचिव गौरीराज जोशीले आज एक विज्ञप्ति जारी गरी संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा रु १० लाख उपलब्ध गराउने जानकारी दिनुभयो । त्यसैगरी आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्पपीडितका लागि रु २१ लाख सहयोग गर्ने भएको छ । अध्यक्ष शर्माले शनिबार विज्ञप्ति जारी गर्दै एनआरएनए अभियन्ताबाट सङ्कलन गरेर उक्त रकम सहयोग गर्ने बताउनुभयो । उहाँले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि अभियन्ता चिकित्सकीय टोलीसहित खटिएको जानकारी दिनुभयो ।
सरकारले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई केन्द्रीय राहत व्यवस्थापन कोषबाट तत्काल रु पाँच/पाँच करोड आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको सरोकारवालाको बैठकले राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको छ । कम्बल, पाल, खाद्यान्न पठाउने काम भइसकेको र अपुग भएको अवस्थामा तुरुन्तै खबर गर्न प्रादेशिक सरकार उहाँको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश सरकारले पनि भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल रु एक करोड सहयोग उपलब्ध गराउने भएको छ। प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल कर्णाली प्रदेश सरकारको कोषमा सहयोग गर्ने निर्णय गरेको हो । प्रदेश मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्रीसहित २० चिकित्सकको टोली तत्काल पठाउने निर्णयसमेत गरेको बैठकपछि प्रदेश सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैबीच मानव सेवा आश्रम र आनिछोइङ डोल्मा फाउण्डेसनले भूकम्पबाट परिवारका सम्पूर्ण सदस्य गुमाइ अनाथ भएका बालबालिका, अशक्त वृद्धवृद्धा र एकल महिलालाई तत्काल संरक्षण प्रदान गर्ने जनाएको छ । रासस










