देवघाट, तीर्थाटन पर्यटन र माघे संक्रान्ति

के.बि. मसाल

माघे संक्रान्ति तीर्थाटन पर्यटकहरुको लागि रमाउने पर्व हो । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने र उत्तरायण प्रारम्भ हुने यो दिन धार्मिक हिसाबले महत्वपूर्ण पर्व मानिन्छ । यसै दिनदेखि सूर्य क्रमशः दक्षिणबाट उत्तरतिर सर्दै जाने र रातभन्दा दिन लामो हुँदै जानेक्रम शुरु हुन्छ । मकर संक्रान्तिदेखि दिन बढदै जान्छ र ग्रीष्म ऋतुको आगमन हुन्छ । विशेष गरी घ्यू, चाकु, तिल, काँचो अदुवाको स-साना टुक्रा, तरुल र मासका विभिन्न खाद्य परिकारका खाने पर्वको रुपमा माघे संक्रान्तिलाई लिने गरिन्छ । माघे संक्रान्तिमा तीर्थाटनका पर्यटकहरु देवघाममा मकर स्नान गर्न पुग्दछन । माघे संक्रान्तिमा स्नान मात्र होइन देवघाटका सबै मठ, मन्दिरमा तीर्थाटनका पर्यटकहरुले पूजाआजा, भजनकीर्तन र दानपुण्य आदिमा व्यस्त रहन्छन् । देवघाटमा स्नान गर्नाले अक्षय पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

तीर्थाटन पर्यटन अर्थात तीर्थयात्रा संसारकै पुरानो पर्यटन मानिन्छ । युनेस्कोका अनुसार संसारका ६० प्रतिशत मानिस कुनै न कुनै धर्मको अभ्यास गर्छन् र तिनै मानिस तीर्थाटन पर्यटनका मुख्य आधार हुन्छन । नेपालमा धेरै पर्यटनका क्षेत्र तीर्थाटनसंग जोडिएको छ । माघे संक्रान्तिको दिन देशै भरीका नदी, खोला र ताल तलैयामा तीर्थाटनका पर्यटकहरु स्नान गर्न जाने गर्दछन । तर पनि प्राचीनकाल देखिनै मकर संक्रान्तिमा देवघाटमा स्नान गर्नाको धामीक महत्व छुट्टै छ । कालिगण्डकी नदीको बेग्लै ऐतिहासिक र पौराणिक महत्व रहेको छ । विश्वमा एक मात्र शालिग्राम पाईने पवित्र कालिगण्डकी नदी तीर्थाटनका लागि पवित्र मानिन्छ । हिन्दूहरुको लागि अति पूजनीय कालो रगको बाटुलो शिला अर्थात ढुङ्गालाई शालिग्राम भनिन्छ । संस्कृतमा यस्तो ढुङगालाई शालग्राम भनिन्छ । कालीगण्डकी नदी शालिग्रामको लागि प्रख्यात छ । वैष्णवहरु र सनातनीहरुले शालग्रामलाई साक्षात विष्णुको अवतारका रुपमा लिन्छन् । शालिग्राम लाखौं वर्ष पहिले अस्तित्वमा रहेको टेथिस सागरमा पाइने विभिन्न जीवहरुको जीवाश्म हो । वैज्ञानिक दृष्टिकोणले पनि शालिग्राम बन्न हजारौँ वर्ष लाग्दछ ।

प्राचीन महत्वको देवघाट अर्थात चितवन, नवलपुर र तनहुँको संगम स्थलमा माघे संक्रान्ति मेला सुरु भएको छ । मकर स्नानका लागि सम्पूर्ण देवतासमेत देवघाटको वेणी सगंममा आउने जनविश्वास छ । स्कन्द पुराणमा परापूर्वकालमा समुद्रमन्थनका बेला दैत्य र देवताबीच अमृत प्राप्त गर्न भएको युद्धका क्रममा अमृतको थोपा खस्दा विनाशको आरम्भ हुन थाल्यो । समस्याको निवारणका लागि सबै देवीदेवता महादेवको शरणमा पुगे । त्यसपछि अमृतको थोपा खसेका ठाउँमा स्वयं महादेवले नै एउटा ज्योतिर्लिङको आकार लिनुभयो । जुन ज्योतिर्लिङ देवघाटको सगम स्थलमा छ । कालिगण्डकी र त्रिशुली नदीको बेनीमा बाँसको लिङगो गाडेपछि माघे संक्रान्ति मेला सुरु भएको मानिन्छ । माघे संक्रान्तिको मुख्य विशेषता भनेको नदीमा स्नान गर्नु हो । सक्रान्तीको दिन बिहानै उठेर पबित्र जलाशयमा गएर स्नान गर्ने प्रचलन छ । धेरै तीर्थाटनका पर्यटकहरु स्नान गर्नका लागि पवित्र कालिगण्डकी रोजाइमा पर्दछ । अहिले आन्तरिक रुपमा तीर्थाटनका पर्यटकहरुको संख्या प्रत्यक वर्ष वृद्धिहुँदै गएको छ । सडक यातायातको सुलभ हुदै गएपछि देवघाटमा पुग्ने पर्यटकहरुको संख्या सालिन्दा बढ्दो छ ।

कालिगण्डकीको पवित्र संगमस्थल देवघाटधाम ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाले भरिपूर्ण छ । हिमवत्सखण्ड महात्म्यमा उल्लेख भए अनुसार देवताका पनि देवता महादेव शंकर आफ्ना गणहरुका साथ देवघाटमा बस्नुहुन्थ्यो त्यसैले यसको नाम देवघाट रहन गएको हो । शान्ति र आध्यात्मिक उन्नयनको लागि अति महत्वपूर्ण देवघाट क्षेत्रमा नदी, पहाडी श्रृंखलाहरुको सुन्दर परिदृश्य लगायत जैविक विविधता तीर्थाटनका पर्यटकहरुले अवलोकन गर्न सक्दछन । देवघाट क्षेत्रमा तीर्थाटन पर्यटकहरुका लागि विभिन्न दर्शनीय मठ मन्दिर, गुफा र आश्रमहरु रहेका छन् । धार्मिक महत्वको स्थल देवघाटधाममा माघ लागेसँगै तीर्थाटनका लागि पर्यटकहरु बिभिन्न जिल्ला र मित्रराष्ट्र भारतबाट समेत पुग्ने गर्दछन । देवघाटमा माघे सक्रान्ति मात्र नभई साउन महिनामा पनि ठूलो संख्यामा तीर्थयात्रीहरु पुग्ने गर्दछन् । देवघाटमा माघे सक्रान्ति, साउने सोमबार, बाला चतुर्दशी लगायत विभिन्न पर्वमा मेला लाग्ने गर्दछ । देवघाटमा स्नान गरी शिवजीको उपासना गरेमा मोक्ष प्राप्त हुने तीर्थाटनका पर्यटकहरुको विश्वास छ । नेपालको आद्रि्रयाग तथा हरिहर क्षेत्र मानिने देवघाटमा अधिकांश मठमन्दिर शिव तथा विष्णुका छन् भने अन्य देवीदेवताका मन्दिरहरु पनि रहेका छन ।

देवघाट क्षेत्रमा तीर्थाटन पर्यटकहरुका लागि विभिन्न दर्शनीय मठ मन्दिर, गुफा र आश्रमहरु रहेका छन् । जुन मठमन्दिरहरुमध्ये कुनै सोह्रौ शताब्दीमा निर्माण भएको मानिन्छ भने कुनै २०/२१औँ शताब्दीमा बनेका संरचनाहरु पनि रहेका छन् । निर्माण भएका मठ मन्दिरहरु प्यागोडा, शिखर, गुम्बज र त्रिरथ मिश्रति शैलीमा बनेका छन् । देवघाटमा मन्दिरहरु धार्मिक सम्प्रदायको आधारमा शैव, वैष्णव भनी आस्थागत आधारमा विभाजित गरिएको पाइन्छन् । गलेश्वर आश्रम चक्रेश्वरशिला, सीता गुफा, वशिष्ट गुफा, हरिहर मन्दिर, महेश सन्यास-आश्रम, राम मन्दिर यज्ञशाला, कठस्तुप, सिद्धि गणेश, गोपिधाम, सुर्यकूण्ड जस्ता पवित्रस्थल रहेको देवघाट क्षेत्रमा रहेका छन। जसमध्ये गलेश्वर आश्रमको पश्चिमतर्फ कालीगण्डकी किनारमा वशिष्ठ ऋषिको गुफा छ । जुन गुफामा त्रेता युगमा अयोध्याका राजा रामचन्द्रका गुरु वशिष्ठले तपस्या गरेका थिए । यहाँ वशिष्ठको मूर्तिसमेत रहेको छ । वशिष्ठ ऋषिको गुफा रहेको केहीमुनि सीता गुफा पर्दछ । राम वनवास बस्दा सीताको असली रुपलाई यहीँ लुकाएर राखिएको थियो भन्ने विश्वास छ । गलेश्वर आश्रम परिसरबाट पूर्वतर्फ प्राचीन र ऐतिहासिक चक्रेश्वर मन्दिर पर्दछ । मुकुन्देश्वर मन्दिर निर्माण भएको छ । मन्दिरका वरपर चार ठाउँमा मन्दिरका भग्नावशेष रहेको छ । जुन भग्नावशेषमा सूर्य, भैरव, गणेश र कालिकाको मन्दिर थिए भन्ने भनाइ छ । भग्नावशेषका रुपमा मुकुन्दसेनले बनाएको पन्चदेवल अहिले पनि छ । मुकुन्दसेनले देवघाटधाम मा १२ वर्ष तपस्या गरेको पनि इतिहास छ ।

चितवन र तनहुँतर्फको देवघाटधामलाई जोडने झोलुङे पुलबाट पूर्वतर्फ केदारनाथको मन्दिर छ । सुन्दर फराकिलो केदारनाथको मन्दिरको पहिलो तलामा शिव पाञ्चायन देवताका मूर्ति स्थापित छन् । अको तर्फ तीर्थाटन पर्यटकहरका लागि चितवन तर्फ कौडिन्य ऋषि आश्रम, शंक्चार्य मठ, सीताराम मन्दिर, लक्ष्मीनारायण मन्दिर, शरणागती आश्रम, संकल्पेश्वर हनुमान मन्दिर, श्री वागीश्वरी आध्यात्मिक परिषद, विश्वशान्ति यज्ञशाला मन्दिर, अखण्ड दीपज्योति शिव मन्दिर, श्री हरिकीर्तन वैदिक धर्मशाला, आनन्द र्साई श्रीराम कुटी अखण्ड धुना आश्रम, लिङेश्वर शिवमन्दिर, देवघाट एनआरएन वृद्धाश्रम आदि रहेका छन् । नवलपुरतर्फ मौलाकालिका, लक्ष्मी नृसिंह दिव्यधाम, श्री निम्बार्क दर्शन केन्द्र र शुकदेव भागवत आश्रम आदि रहेका छन ।

तनहुँको देवघाटधाम परापूर्वकालदेखि पवित्र तीर्थस्थलको रुपमा परिचित रहेको छ । हिन्दु धर्मशास्त्रमा उल्लेख गरिए अनुसार चारधाम क्षेत्र स्नान गरेर देवघाटधाममा स्नान गरिएको छैन भने तीर्थको फल प्राप्त हुन्न भन्ने मान्यता रहेको छ । त्यसैले देवघाटमा स्नान गरे चारधाम तीर्थ गए बराबरको पूण्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख गरिएको पाइन्छ । देवघाटधाममा कल्पवासी र तपस्वीहरुको संख्या आजभोली बढ्दै गएको छ । त्यस्तै देवघाट अर्को तर्फ साधु, सन्त र अन्य समुदायको आकर्षक स्थल बनेको छ । जस्ले गर्दा देवघाटमा अनेक आश्रमहरु बनेका छन् । महेश आश्रम, हरिहर आश्रम मात्र होइन बालिका आश्रम, गर्ग-ऋषी आश्रम, गलेश्वर आश्रम, शंकराचार्य आश्रमलगायत धेरै आश्रमले सेवा दिएका छन । नवलपुरतर्फ गैर आवासीय नेपाली संघले ठूलो वृद्धाश्रम बनाइ दिएको छ । त्यस्तै, अन्य वृद्धाश्रम कुटी पनि देवघाटमा धेरै छन । देवघाटमा मानिस जीवनको उत्तरार्द्धमा देवघाटमा कल्पवास बस्दै बाँकी जीवन बिताउँने पनि धेरै छन । बृद्वबृद्वाहरुले देवघाटमा कुटी खरिद गरेर बस्न सक्ने व्यवस्था पनि छ । देवघाटमा अहिले तपस्वी, साधु, सन्यासी, सन्त महात्मा र कल्पवासीहरुको वासस्थान बनेको छ ।

देवघाट तीर्थाटन मात्र होइन प्राकृतिक, ऐतिहासिक धार्मिक सौन्दर्यताले भरिपूर्ण छ । पर्यटकहरुका लागि देवघाटमा मनोरञ्जन र नदीमा सयर गर्न वोटीङ अर्थात डुङगाहरु पनि राखिएका छन । आजभन्दा ५० बर्ष अगाडीसम्म देवघाट पुगेका तीर्थाटनका पर्यटकहरु पहिला काठे डुङ्गाबाटनै बहित गएर त्रिवेणी पुग्ने गर्दथिए । कालीगण्डकी करिब ३३८ कि.मि. लम्बाई रहेको छ । कालीगण्डकी नदीले पूर्वमा रसुवा जिल्लाको लाङटाङ हिमालदेखि पश्चिममा धवलागिरी बीचको भू-भागलाई प्रभावित पारेको हुनाले यस भू-भागलाई गण्डक प्रदेश पनि भनिछ । कालीगण्डकीको उदगम थलो उपल्लो मुस्ताङमा पर्ने दामोदरकुण्डको पानी मुस्ताङ खोलाबाट सुरु भएर मुक्तिनाथबाट आउने कागखोला कागवेनीमा मिसियपछि कालिगण्डकीको नामाकरण हुन्छ ।

मुस्ताङ, म्याग्दी, वाग्लुङ, पर्वत, स्याङजा, गुल्मी, पाल्पा, तनहुँ र नपलपुर जिल्लाको भूगोलमा बग्दै आउने कालीगण्डकी देवघाटधाममा त्रिशुलीका मिसिएपछि नारायणी नदीको नामले बग्दै नेपाल-भारत सिमाना भैसालोटनबाट गण्डकीको नामले बग्दै भारतको भूमिमा पुग्दछ । यसरी स्थानअनुसार आफ्नो नाम परिवर्तन गर्दै बगेको गण्डकी नदीका मुख्य सहायक नदीहरुमा त्रिशूली, बूढीगण्डकी, कालीगण्डकी, मर्स्याङदी, मादी, सेती र दरैदी रहेका छन ।

कालीगण्डकी किनारमा रहेको देवघाटधाम र काली पश्चिम महाभारत पर्वतमा रहेको मौलाकाली धार्मीक पर्यटकीय स्थलको इतिहास मुकुन्दसेनसंग जोडिएको छ । देवघाटमा जाने तीर्थाटनका धेरै पर्यटकहरु आजभोली नवलपुर जिल्लाको मौलाकालीमा समेत पुग्दछन । मकवानपुरका राजा मुकुन्दसेन राज्य विस्तार गर्ने क्रममा महाभारत पर्वतको वाटो हुदै देवघाट, मौलाकाली हुँदै पाल्पासम्म पुगेका थिए । मौलाकाली नवलपुरको गैंडाकोट संग मिलेको महाभारत श्रृखलाको जवडाडामा पर्दछ । मुकुन्दसेन धार्मीक स्वभावका थिए । मौलाकालीको स्थापना पनि मुकुन्दसेनले गरेका हुन । मौलो कोतमा वली दिनको लागि राखिएको खम्वा अथवा किलोलाई मौलो भनिन्छ ।

पाल्पासम्मको राज्य विस्तारको क्रममा मुकुन्दसेनले जवडाडामा मौलो गाडी काली देवीलाई वली चढाएका थिए । मौलाकालीमा आजभोली धार्मिक पर्यटनको बिकासका लागि पूर्वाधारहरु थपिदै गएका छन । मौलाकालीमा सिद्धविनायक, श्रीकृष्ण, र देउराली देवीको समेत पर्यटकहरले तीर्थाटन गर्न सक्दछन । मन्दिर परिसरमा महाकाली, महालक्ष्मी, महासरस्वती, शिव र गणेशका मूर्ती स्थापना गरिएको छ । मौलाकाली पुगेपछि पर्यटकहरुले देवघाट अवलोकन गर्दा सुन्दर दृष्य देख्न सक्दछन । मौलाकाली जानको लागि आजभोली देवघाट देखिनै पदमार्ग समेत बनेको छ । पदमार्गमा यात्रा गर्न रुचाउने पर्यटकहरु देवघाटबाटनै मौलाकाली पुग्दछन भने अन्य पर्यटकहरु गैडाकोटबाट केवुलकारमा समेत यात्रा गर्दछन ।

परापूर्वकालदेखिनै महाभारत पर्वतमा जुनठाउमा अहिले मौलाकाली त्यसको वरपर मगर, बोटे, दराइ, चेपाङ्, कुमाल र गुरुङ जातीहरु को वसोवास थियो । सेनवंशको विलय पछि पनि मौलाकालीमा जनजातीहरुले विशेष पर्वमा पुजा-आजा चलाउँदै आएका थिए । २०१४ सालमा चितवनको जंगल फडानी गरियो । पहाडी जिल्लाका मानीसहरुलाई तराइमा बसोवास गराउने राज्यको अभियानमा गैंडाकोटको जंगल पनि फडानी भयो । सबै जंगल खेतवारीमा आवादी भयो । जनसंख्या क्रमिक रुपले वृद्धिहुँदै गयो । त्यसपछि ऐतिहासिक मौलाकालीको खोजी हुन थालेको हो । विशेष गरी नारायणघाट र गैंडाकोटका व्यापारीहरुले मौलाकालीलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न पर्दछ भन्ने अभियानमा जुटेका छन । अहिले मौलाकाली सबै तीर्थाटनका पर्यटकहरुको रोजाइमा पर्न थालेको छ ।

आहिले देवघाटमा यातायातको समेत सुबिधा भएको छ । चितवन र तनहुँ जोडने पुरानो झोलुङे पुल मात्र नभएर दास ढुङ्गामा पक्की पुल निर्माण भएपछि यातायातका साधन देवघाटमानै पुग्ने गरेका छन । अर्को तर्फ रामनगर ठिमुरा हुँदै देवघाट पुग्ने पुलपनि तयार भएको छ । देवघाटबाटै मौलाकाली जानको लागि पनि कालिगण्डकीमा पुल बनेको छ । तर पनि देवघाटको तीन जिल्ला जोडने तीनमुखे पुल भने अझै बन्न सकेको छैन । हामी नेपालीहरु तीर्थ गर्न विदेश पुग्दछौ । इतिहास खोज्न पर्‍यो भने विदेशिले लेखेको किताव खोज्दछौ । आफ्नो देशको हिमश्रृंखलावाट उदगम हुने हिमनदीमा नुहाउन छिमेकी मित्रराष्ट्र भारतको विभिन्न स्थानमा पुग्दछौ । नजिकको तीर्थ हेला भने झै आफ्नै भूमीमा भएका ऐतिहासिक, धार्मिक सम्पदाको बारेमा अध्यन, अनुसंन्धान र तीर्थाटन गर्ने अधिकांश नेपालीहरुको बानी छैन । एक पटक सबैले सोच्ने हो की ?

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker