तनहुँको अग्लो पहाड छिम्केश्वरी पुग्ने पर्यटन मार्गको स्तरोन्नति
भञ्ज्याङ न्यूज

तनहुँको अग्लो पहाडी चुचुरोमा छिम्केश्वरी मन्दिर छ । समुन्द्री सतहबाट करिब दुइ हजार १३४ मिटर उचाइमा रहेको आँबुखैरेनी गाउँपालिका-५ मा पर्ने उक्त स्थानमा पुग्ने जो कोही यहाँको प्राकृतिक वातावरण देखेर मोहित हुने गर्छन्।
धार्मिक पर्यटकीय दृष्टिकोणले आँटे ताकेको मनोकाङ्क्ष पूरा हुने जनविश्वासका साथ भक्तजन पूजाअर्चना गर्न छिम्केश्वरी मन्दिर जाने गर्छन् । सो स्थानबाट विभिन्न जिल्लाका डाँडा, हिमश्रृंखला, हरियाली डाँडाकाँडा तथा समथर फाँट देखिन्छ । जसले गर्दा एकपटक सो क्षेत्र गएका पर्यटक पुनः दोहोराएर जाने गर्दछन् । जिल्लाको आँबु, भाँगे, छिम्केश्वरी, हिलेखर्क, बाहुन भञ्ज्याङ, छिम्केश्वरी सडक पर्यटक मार्गको नामले परिचित हुँदै आएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
पर्यटकीय मौसममा छिम्केश्वरी डाँडैभरी फूल्ने लालीगुराँस टिप्न मानिसको भीड लाग्छ । गाउँपालिका कार्यालयले लालीगुराँसको संरक्षण एवं सम्बर्द्धन गर्न गत साउन महिनामा लालीगुराँस फूलको बिरुवा रोपण गरेको थियो । छिम्केश्वरी मन्दिर परिसर क्षेत्रमा एघार जातका मिश्रति लालीगुराँसका ७० वटा बिरुवा रोपिएको छ ।
लालीगुराँस फुलाऔं, पर्यटक बोलाऔं, हाम्रो अभियान आगन्तुकको प्रोत्साहन भन्ने मूल नाराका साथ लालीगुराँसको संरक्षण एवं सम्बर्द्धन गर्न बिरुवा रोपेको अध्यक्ष चुमानले बताए । गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्न छिम्केश्वरी मन्दिर जाने मार्गलाई प्राथामिकतामा राखेर काम अघि बढाएको छ । आँबुखैरेनी-३ गाउँपालिका चोकदेखि छिम्केश्वरी डाँडासम्मको करिब १६ किलोमिटर दुरीमध्ये ५० लाख रुपैयाँको लागतमा तीन किमी सडक स्तरोन्नति गरिएको छ ।
सो मार्गमा कालोपत्र गरी आन्तरिक एवं बाहृय पर्यटकको आकर्षणको केन्द्र बनाउन लागेको अध्यक्ष चुमानले बताए । उनले भने, ‘विगत वर्षमा निर्माण कार्यले गति नलिए पनि नयाँ जनप्रतिनिधि आएपछि तीव्र गतिमा काम बढाइएको छ ।’ दुइ वर्षअघि सक्नुपर्ने उक्त मार्गको कोरोनाका कारण निर्माण ढिलाइ भएको थियो । हालसम्म एक किलोमिटर दुरीमा नालासहित कालोपत्र गरिसकेको अध्यक्ष चुमानले बताए।
उक्त सडकका लागि ५४ करोड रुपैयाँमा ठेक्का गरी शर्मा काष्ठमण्डप निर्माण सेवाले निर्माणको जिम्मा पाएको थियो । संघीय सरकारको समपुरक छ करोड रुपैयाँ, गाउँपालिकाको एक करोड रुपैयाँ र अन्य गण्डकी प्रदेशको बजेट रहेको छ ।
छिम्केश्वरी पर्यटन मार्गको विकास क्रमसँगै यस पालिकाको पर्यटकीय क्षेत्रमा आमूल परिवर्तन हुने विश्वास लिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए। छिम्केश्वरी माइको मन्दिर जीर्ण बन्दै गएपछि गाउँपालिकाको आर्थिक सहयोगमा नयाँ भवन निर्माणधिन अवस्थामा रहेको छ ।










