सामाजिक काममा सघाउँदै तनहुँ हाइड्रोपावर

भञ्ज्याङन्यूज

तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको छ । आयोजनाबाट प्रभावित विभिन्न पालिकामा सामाजिक उत्तरदायित्व अन्तर्गत नाला तथा आमा समूहको भवन निर्माण, तटबन्धन, सडक बत्ती जडान, नदी नियन्त्रण लगायतका काम गर्दै आएको हो ।

आयोजना निर्माणका लागि समुदायको महत्वपूर्ण भूमिका रहने भएकाले सामाजिक कामलाई प्राथमिकता दिइएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “समुदायसँग सहकार्य गर्दै आयोजनालाई सम्पन्न गराउनेतर्फहामी लागिपरेका छौं, विभिन्न सामाजिक काममा आयोजनाको तर्फबाट सहयोग रहँदै आएको छ ।”

आयोजनाको सहयोगबाट व्यास नगरपालिका-५ वेनीपाटनमा पराशर माध्यमिक विद्यालयको भवन निर्माण भइरहेको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामा विद्यालयको दुइ तले आठ कोठा भवनको काम अन्तिम चरणमा पुगेको छ । भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायीबीच रू एक करोड ३८ लाख २४ हजारको लागतमा ठेक्का सम्झौता भएको थियो । भवनको निर्माण १८ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भिमाद नगरपालिका-५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माणको काम पनि हालै सुरु भएको छ । रू ९४ लाख ५७ हजारको लागतमा निर्माण सुरु भएको भवन विसं २०८१ माघ २४ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको श्रेष्ठले बताउनुभयो । सामाजिक उत्तरदायित्व अन्तर्गत ऋषिङ-१ झापुटारमा नाला निर्माण, व्यास-५ स्थित सेतीमादीको दोभानस्थित पराशर पार्कमा तटबन्धन, व्यास-१३ बेलवासमा सिद्धबेनी माध्यमिक विद्यालयमा सुधारात्मक निर्माण, आमा मिलीजुली समूहको भवन, व्यास-५ को चापाघाटदेखि आयोजनाको क्याम्पसम्म सडक बत्ती जडान गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै व्यास-१३ को बेलवासदेखि ऋषिङ-१ झापुटारसम्म सेती नदीमा तटबन्धन, आयोजना प्रभावितलाई सीपमूलक तालिम, कोभिड प्रभावित विपन्न परिवारको सहयोगार्थ राहत वितरण, भिमाद-५ वान्टाङ खोलामा पाइप कल्भर्ट, सिँचाइ, कुलो, खानेपानी, पल्ट्याङमा ग्रामीण सडक स्तरोन्नति, म्याग्दे-४ मा खानेपानी पूर्वाधार निर्माणमा आयोजनाले सहयोग पुर्‍याएको छ ।

आयोजनाको सामुदायिक विकास कार्यक्रम अन्तर्गत ११ वटा योजना उपभोक्ता समितिमार्फत सञ्चालित छन् । आयोजनाको बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने व्यास-५ स्थित सेती र मादी नदीको दोभानको दायाँतर्फको नदी किनार संरक्षण कार्य रु एक करोड ८९ लाख ५० हजार ३० मा खरिद सम्झौता भई निर्माण सम्पन्न भएको जनाइएको छ । भिमाद-५ मा रू छ लाख ७२ हजार तीन सय ६६ को लागतमा बिर्ता ढुङ्गे सिँचाइ नहर, रू २० लाख ७५ हजार तीन सय ९४ को लागतमा वान्टाङखोला अस्थायी मर्मत कार्य सम्पन्न भएको छ ।

म्याग्दे गाउँपालिका-४ मा रू १८ लाख ६५ हजार एक सय ९३ को लागतमा डडुवा कोलडाँडा पिपलथोक धारादी लिफि्टङ खानेपानी योजना, रू २२ लाख ६० हजार २४ मा ऋषिङ-१ स्थित चालिसे काहुँ झापुटार सडक मर्मत, रू १२ लाख ८२ हजार आठ सय २२ को लागतमा पल्ट्याङ ग्रामीण सडक स्तरोन्नति, ऋषिङ-१ मा रू नौ लाख २० हजार एक सय ६७ को लागतमा खोल्सी ढल व्यवस्थापन, व्यास-५ वडा कार्यालयमा रु १२ लाख एक हजार नौ सय आठको लागतमा वडा वनको पेटी मर्मत गरिएको आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाबाट प्रभावितलाई विभिन्न सीपमूलक तालिम दिएर उद्यमी बनाउने प्रयास गरिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो । आयोजनाको पुनःस्थापना तथा आदिवासी जनता योजनामा व्यवस्था भएअनुरुप आयोजना प्रभावितको सामाजिक विकास एवं जीविकोपार्जन पुनःस्थापना अन्तर्गत बाख्रापालन, सिलाइबुनाइ, हाउस वायरिङ, प्लम्बिङ तालिम प्रदान गरिएको आयोजनाले जनाएको छ । आयोजनाले प्रभावित क्षेत्रका १२१ जनालाई सीपमूलक तालिम प्रदान गरेको उहाँको भनाइ थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker