डेङ्गु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान, तनहुँमा ८८ जनामा डेङ्गु सङ्क्रमण

डेङ्गु सङ्क्रमणको जोखिम बढेपछि तनहुँका स्थानीय तहले ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेका छन् । डेङ्गु नियन्त्रणका लागि गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित आँबुखैरेनी गाउँपालिकाले ‘खोज र नष्ट गर’ अभियान सुरु गरेको हो ।

नेपालका विभिन्न ठाउँमा डेङ्गुको सङ्क्रमण बढ्दै गएकाले सतर्कताका लागि गाउँपालिकाले यो अभियान सुरु गरेको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो ।

डेङ्गुको व्यवस्थापन र नियन्त्रण गर्ने विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिकार्य योजना बनाई विभिन्न गतिविधि सञ्चालन गर्न निर्देशन दिएसँगै गाउँपालिकाले प्रदेश र जिल्लासँगको समन्वयमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो ।

डेङ्गुका बारेमा सन्देशमूलक सूचना सामग्रीको प्रकाशन र प्रसारण भइरहेको र विभिन्नस्तरमा डेङ्गु नियन्त्रणका उपायका बारेमा विशेषज्ञसँग नियमित बैठक गरिएको उपाध्यायले बताउनुभयो ।

“डेङ्गु लाग्न नदिनु सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो, प्राय दिनको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ”, उपाध्यायले भन्नुभयो, “यसबाट जोगिनका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य गरिएको छ ।”

यस्तै प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट घरभित्र र बाहिर लामखुट्टेले फूल पार्ने ठाउँ खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

यस अभियान कार्यान्वयका लागि स्थानीय जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक, पत्रकार, सङ्घसंस्था, टोलविकास समितिलाई परिचालन गरिनेछ ।

आँबुखैरेनी गाउँपालिकामा हालसम्म डेङ्गुबाट कोही पनि सङ्क्रमित नभए पनि बच्नका लागि पूर्वतयारी अपनाउन आवश्यक रहेको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले बताउनुभयो । “गाउँपालिकाभित्र डेङ्गु सङ्क्रमित भएको आधिकारिक तथ्याङ्क छैन, जोखिम बढ्दै गएकाले सचेतना अपनाउन आवश्यक छ”, उहाँले भन्नुभयो ।

तनहुँमा ८८ जनामा डेङ्गु सङ्क्रमण

देशभर फैलिरहेको डेङ्गुको प्रकोप तनहुँमा पनि बढेको छ । लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको जोखिम यहाँ पनि पनि बढेको हो । डेङ्गुको सङ्क्रमणपश्चात् जिल्लास्थित अस्पतालमा भर्ना भएर उपचार गराउनेको सङ्ख्या बढ्दो छ ।

शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा परीक्षण गरिएकामध्ये ७८ जनामा डेंगु पुष्टि भएको छ । भदौमा २१८ जनाको डेंगु परीक्षण गरिएकामा ७८ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये २७ जना निको भएका छन्।

यस्तै, स्वास्थ्य कार्यालय तनहुँका अनुसार बन्दिपुर गाउँपालिकामा ७ जनामा डेंगु संक्रमण देखिएकामा ४ जना निको भएका छन् भने दमौली अस्पतालमा ३ जनामा संक्रमण देखिएकोमा १ जना निको भएका छन् ।

डेङ्गु पुष्टि भएकामध्ये २७ बिरामी अस्पतालमा भर्ना भएर उपचार गराएको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सबै बिरामी उपचारपश्चात् घर फर्किएका छन् ।

“डेङ्गुसँग सङ्क्रमण मिल्दोजुल्दो बिरामी दैनिकरुपमा आउने गरेका छन्”, उहाँले भन्नुभयो, “परीक्षण गर्दा पुष्टि भएका र जोखिम भएकालाई भर्ना गरेर उपचार गर्छौ ।” उहाँका अनुसार हाल अस्पतालमा डेङ्गुका बिरामी भर्ना भएर उपचाररत छैनन् ।

अस्पतालले किटमार्फत डेङ्गुको परीक्षण गरेको र किट पर्याप्तमात्रामा रहेको डा श्रेष्ठले बताउनुभयो । “डेङ्गुको परीक्षण गर्दा बीमा गरेकाको हकमा निःशुल्क परीक्षणको व्यवस्था मिलाएका छौँ”, डा श्रेष्ठले भन्नुभयो ।

सदरमुकामस्थित दमौली अस्पतालमा भने डेङ्गुको बिरामी नरहेको जनाइएको छ । अस्पतालका डा राजु रानाले डेङ्गु पुष्टि भएर अस्पतालमै भर्ना गरेर बसेका बिरामी नरहेको बताउनुभयो । “डेङ्गुसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी दैनिकरुपमा आउने गरे पनि डेङ्गु नै पुष्टि भएको छैन”, उहाँले भन्नुभयो ।

स्वास्थ्य कार्यालय तनहुँले डेङ्गुको जिल्लाभरको यकीन तथ्याङ्क नरहेको जनाएको छ । कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जिल्लास्थित अस्पताल तथा स्वास्थ्य संस्थासँग डेङ्गुका बिरामी भएको भए तथ्याङ्क पठाउन अनुरोध गरिएको जानकारी दिनुभयो ।

लामखुट्टेको टोकाइबाट डेङ्गु हुने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक रहेको अधिकारीले बताउनुभयो । डेङ्गुको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सर्दछ । आजकल डेङ्गु ज्वरो नेपालको विभिन्न भागमा देखा परिरहेको छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ र वर्षात्को मौसम सुरु भएपछि डेङ्गु ज्वरोको प्रकोप बढ्न थाल्दछ ।

एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन् ।

चिकित्सकका अनुसार डेङ्गुबाट जोगिनका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker