सहिद स्मारक, पर्यटन र हेटौडा बजार
के.बि. मसाल

केही वर्ष यता आएर हामी नेपालीहरुमा पनि घुमफिर गर्ने बानिको विकास भएको छ । जस्ले गर्दा पर्यटन शब्द अहिले सबैको प्यारो भएको छ । कसैले पर्यटन सम्वन्धी कुराकानी निकाल्यो भने सबैका ध्यान तानिन्छ । कुनै नयाँ ठाउँमा घुमफिर गरेर आएको मानिसको कुरा सुन्दा हामी पनि जानपाए हुन्थो भने झै लाग्छ । समुन्द्र नदेखेकाहरुलाई समुन्द्र देख्ने मन हुन्छ भने, पहाड, हिमाल र प्रकृतिले सिंगार दिएका सम्पदा नदेखेकाहरुलाई ती क्षेत्रमा पुग्न मन लाग्दछ । मकवानपुर जिल्लाको हेटौडामा निर्माण गरिएको सहिद स्मारक अहिले पर्यटनको लागि गन्तब्य बनेको छ ।
मल्लकालिन राजाहरुको पाला देखिनै भारत एवं तराइको भू-भागबाट उपत्यका जाने मुख्यद्वारको रुपमा रहेको मकवानपुरको हेटौडा बजार । राणकालिन अवस्थामा शिकार खेल्ने जंगलदेखि लिएर देश विदेशको यात्रामा हिड्ने भूगोल पनि हो हेटौडा बजार । रोपवेदेखि सडक यातायातको सुरुवात गर्ने भूगोल पनि मकवानपुर नै मानिन्छ । मकवानपुरको ऐतिहासिक महत्व र पर्यटनको बारेमा चर्चानै गरेर सकिन्न । पहाडी भाग र भित्री मधेशको दुइ उपत्यकाबाट बनेको मकवानपुर जिल्लाको भूगोल स्थलगत यात्रा गर्ने हो भने बल्ल पर्यटकहरुले त्यसको महत्वको बारेमा जान्न सक्दछन ।
व्यक्तिगत स्वार्थ विना देश र जनताको भलाइका लागि आफ्नो ज्यानको बलिदान दिने व्यक्तिलाई सहिद मानिन्छ । नेपाली शब्द कोषले पनि सहिदलाई यसरी नै परिभाषित गरेको छ । राणाशासनको विरुद्ध प्रजापरिषदको गतिविधिमा लागेबापत वि.सं. १९९७ साल कात्तिक २ गते पक्राउ गरी त्यसपछि वि.सं. १९९७ माघ १५ गते दशरथ चन्दसँगै बिष्णुमतिको किनारमा रहेको शोभा भगवतीमा गोली हानी गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएको थियो । त्यसैगरी शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमालाई पनि स्वतन्त्रताको लागेको कारण फाँसी दिएकाले सहिद मान्ने गरिन्छ ।
निरंकुश शासन व्यवस्थाको अन्त्य गरी प्रजातान्त्रिक शासन व्यवस्थाको आरम्भ गर्ने महान अभियानमा पहिलो पटक सहादत प्राप्त गर्ने लखन थापा प्रथम सहिद हुन् । सहिद तिनै हुन, जसले नीजि कुरावाट माथि उठेर देश दुनियाँका लागि जीवनको बाजी थापे । इश्वर बल्लभका कविता अनुसार सहिद तिनै हुन, जसले आफूलाई समाप्त गरेर अरुलाई प्रारम्भ गरेका छन । हामीले टेकेको यो खुला धर्ती, हिँडेको स्वतन्त्र बाटो तिनै सहिदको वलिदानवाट प्राप्त भएको हो । यसरी विभिन्न कालखण्डमा जीवन आहुति दिने सहिदहरुको स्मृतिमा हेटौंडा-११ मा निर्मित सहिद स्मारक अहिले पर्यटकहरु पुग्ने गर्दछन ।
हेटौडाको सहिद स्मारक पुग्ने पर्यटकहरु सहिदहरुप्रति सम्मान जाहेर गर्दछन । सहिद स्मारक पुगेपछि पर्यटकहरु सहिदहरुले पछ्याएको मार्गमा हिँडने कसम पनि खान्छन् । हेटौडाको सहिद स्मारकमा विभिन्न समयमा जीवन उर्त्र्सग गरेका १२ सहिदका आकृति एउटै ढुङ्गामा कुँदेर निर्माण गरिएको स्मारक अहिले आएर पर्यटनको गन्तब्य मात्र नभएर हेटौडा बजारकै धरोहर बनेको छ । २५ टनको एउटै ढुंगामा राष्ट्रको स्वाधिनताका निम्ति तत्कालीन बेलायती सेनाविरुद्ध लडेर वीरगति प्राप्त गरेका भक्ति थापा, राणा शासन विरुद्धको लडाइँमा अमरत्व प्राप्त गर्ने दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीदेखि किसान आन्दोलनमा ज्यान गुमाएका भीमदत्त पन्त र पञ्चायत विरुद्ध लढ्ने क्रममा जीवन गुमाएका रत्नकुमार बान्तवा, क्याप्टेन यज्ञवहादुर थापा, दुर्गानन्द झा, वीरेन्द राजवंशी, मुनेश्वरी यादव र प्रभाकर पौडेलको आकृति कुँदिएका सहिद स्मारकमा राखिएका छन ।
यति मात्र होइन २०४६ यता ज्यान आहुति दिनेहरुको सम्झनामा स्मारकमा ६५ फिट अग्लो सहिद स्तम्भ निर्माण गरिएको छ । १९ मिटर अर्धव्यास रहेको स्तम्भमा सहिदहरुको अमुर्त चित्र, आन्दोलनमा प्रयोग भएका गोला, बारुद, बन्दुक र लाठी लगायतको चित्र अंकित छन्। यो नेपालको आकर्षक नक्साको जगमा स्तम्भ निर्माण गरिएको छ । त्यहा सहिदहरुबारे विस्तृत अध्ययन गर्न सहिद ग्यालरी बनाइएको छ । तीन कठ्ठा जमिनमा फैलिएको ग्यालरीको प्रवेशद्वारमै २०९७ सालका चार सहिदका आकृति कुँदिएका तस्बिर रहेका छन्। स्मारकको प्रवेशद्वार नै सुन्दर देखिन्छ। झोलुङ्गेपुलले स्मारकलाई थप आकर्षण बनाएको छ । स्मारक भित्र बगैंचा, मिनी चिडियाखाना, मदन वाटिका, स्विमिङ पुल, रोटेपिङ लगायत बालउद्यान र टावर पनि छ । करिब १२ बिघा जमिनमा फैलिएको यो स्मारक समुदायस्तरवाट निर्मित गरिएको अद्वितीय स्थल हो । सहिद स्मारकमा प्रत्येक अरु समयमा भन्दा पनि सहिद दिवस र नयाँ वर्षा पर्यटकहरु बढि घुमफिरका लागि पुग्ने गर्दछन । स्मारक हेटौडाको बुद्धचोकबाट १० किलोमिटर पश्चिमको डाँडामा पर्दछ ।
जंगलको बीचमा शान्त वातावरण भएकोले हेटौडामा पुगेपछि स्मारक घुमफिरका लागि पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ । हेटौडाको स्मारक अवलोकन गरेपछि मकवानपुर जिल्लामा घुमफिर गर्ने धेरै ठाउँहरु छन् । घुमफिरको समय लम्बाउन सके उत्तरी मकवानपुरको थाहा नगरपालिका क्षेत्र मकवानपुरको सबैभन्दा धेरै पर्यटकहरु पुग्ने ठाउँ हो । थाहा नगरपालिका क्षेत्रबाट देखिने हिमश्रृंखला, पालुङ उपत्यका, चित्लाङको होमस्टे लगायतका स्थानमा पुग्दा पर्यटकहरु रमाउँछन । जाडो मौसममा हिँउ परिरहने मकवानपुरकै सबैभन्दा उचाई क्षेत्र सिमभञ्याङमा पर्यटकहरु हिउँमा खेल्न रमाउँछन । पालुङ उपत्यकामा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयको रुपमा रहेको इन्द्रसरोबर ताललाई नजिकैबाट देख्न सकिन्छ ।

अहिले पर्यटकहरु इन्द्रसरोबर ताललाई हेर्न घुँइचो लाग्ने गर्दछन । इन्द्रसरोबर तालमा डुंगामा समेत सयर गर्न पाउने भएकाले पर्यटकहरुको आकर्षक गन्तब्यको रुपमा विकसित हुँदै गएको छ । इन्द्रसरोबर अर्थात कुलेखानीको जलाशय समुन्द्रको सतहबाट १ हजार ५३० मिटर उचाईमा छ । आज भन्दा तिन दशक अगाडी निर्माण गरिएको योे जलाशयबाट पानी संकलन गरेर हिउँदमा विजुली उत्पादन गर्ने कुलेखानी मुलुककै एकमात्र जलाशययुक्त विद्युत गृह हो । कुलेखानीको जलाशयबाट पहिलो ६० मेघावाट दोस्रोबाट ३२ मेगावाट र तेस्रो आयोजना १४ मेघावाट क्षमताको विद्युत गृह निर्माण गरिएको छ ।
हेटौंडा बजारबाट १८ किलोमिटर पूर्व थुम्कामा रहेको मकवानपुरगढी ऐतिहासिक, सामरिक एवं पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । पृथ्वीनारायण शाहको ससुरालीसमेत भएकाले पनि मकवानपुरगढी नेपालको इतिहासमा छुट्टै पहिचान बोकेको पाइन्छ । मकवानपुरगढी कुनै बेला राजधानीको प्रवेशद्वार र राहदानी जारी गर्ने स्थानका रुपमा समेत परिचित थियो । विशाल नेपाल एकीकरण पूर्व मकवानपुर सेनवंशी राजाहरुको अधिनमा थियो । मकवानपुरगढी तिनै सेन राजाहरुको राजधानी थियो । यहाँबाट नजिकै पर्ने चिसापानीगढी अंग्रेजसंगको युद्धमा सेना तैनाथ गरी युद्ध गरेको स्थान पनि हो ।
पाल्पाली राजा मणिमुकुन्द सेनले आफ्नो विशाल राज्यलाई चार भागमा विभाजन गर्दा उनका कान्छा छोरा लोहाङ सेनको भागमा परेको मकवानपुरको राजकाजका क्रममा मकवानपुरगढीको निर्माण वि.सं. १७५० सालतिर राजा तुलासेनले गरेका थिए । हिन्दुपति कहलिएका सेनवंशी राजाहरुको अन्त्यसमेत यसै गढीबाट भएको इतिहासमा उल्लेख छ । यो गढी समुद्रको सतहबाट करिब तीन हजार ६ सय फिट उचाइमा महाभारत पर्वतको दक्षिणतर्फ फैलिएको छ । मकवानपुरगढीमा मुख्य रुपमा दुइवटा गढी छुट्टाछुट्टै छन । राजदरबार रहेको ठूलो गढीलाई मुल गढी भनिन्छ ।
त्यस्तै, सैनिक परेड खेल्ने र प्रशासनिक भवनसमेत रहेको गढी सानो गढीको नामले परिचित छ । मुल गढीको सुरक्षाका लागि चारैतर्फकरिब २५ फिट अग्लो पर्खाल लगाइएको छ । पर्खालको चौडाइ करिब चार फिट छ भने पर्खाल वरपर १० फिट गहिरो खाडलले गढीलाई थप सुरक्षा प्रदान गरेको छ । पूर्व-पश्चिम फैलिएको यस गढीमा राजपरिवार बस्ने दरबार जुगे दरबारका नामबाट परिचित छ । त्यसबेला अपराधीलाई दण्ड दिन कारागारको स्वरुपमा बनाइएको खाल्डो अझै छ । तत्कालीन समयमा ऐनकानुन मिच्नेलाई गहिरो खाडलमा हालेर मार्ने गरिएको बताइन्छ । गढीमा ऐतिहासिक एवं सांस्कृतिक महत्वका वस्तु अध्ययनको लागि अझैपनि भेटिन्छ ।
मकवानपुरगढीको दक्षिणपूर्वमा सेनवंशीय राजासंग सम्बन्धित जमिन अझै छ । सो जमिन रानीसेराको नामले परिचित छ । मकवानपुरे सेन राजा अत्यन्तै धनी शासकका रुपमा समेत परिचित थिए । सेनवंशीय शासनकालमा गाडिएको सुनैसुनको ढुकुटी अहिले पनि मकवानपुरगढीमा रहेको विश्वास गरिन्छ । मकवानपुर जिल्लाको नामकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नामसंग जोडिएको छ । ऐतिहासिक काल-खण्डमा मकवानपुरलाई मुकुन्दपुर भन्ने गरिन्थो । कालान्तरमा भन्दै आएको मुकुन्दपुर अप्रभंश हुँदै मकवानपुर भएको हो भन्ने जनधारणा रहेको छ । चित्लाङ, मकवानपुरगढी पर्यटकहरुको घुमफिर मात्र होइन नेपालकै ऐतिहासिक महत्वको धरोहर हुन । इतिहासले के देखाउँछ भने मकवानपुरबाट नेपाली सेनाको इतिहास सुरु भएको छ । अंग्रेजसंगको युद्धमा फौजबाट ५०० भन्दा धेरै राइफल, दुइ तोप हात पारेर ४ वटा गुल्म श्रीनाथ, कालीबक्स, बर्दबहादुर र सबुज गुल्म भएको थियो । प्राकृतीक दृष्टिकोणले पनि मकवानपुर जिल्ला धनी जिल्लाको रुपमा लिने गरिएको छ । यहाँ थुप्रै प्राकृतिक मनोरम स्थलहरु रहेका छन ।
मकवानपुर जिल्लाका दुर्गम मानिने गाउँ र बस्तिको भ्रमण गर्ने हो भने त्यहाँ पाइने शान्त र शीतल वातावरणले जो कोहीको मन जित्न सक्दछ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षले पनि यस जिल्लाको थप वातावरणीय सुन्दरता दिलाएको छ । मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको पालुङ, बज्रवाराही, दामन, मार्खु, फाखेल र चित्लाङ पर्यटकीय क्षेत्रको रुपमा विकास हुन थालेको छ । टौखेल-चित्लाङ-चन्द्रागिरी मात्र १५ कि.मि.को दुरीमा रहेको छ । काठमाडौंबाट २२ किलोमिटरको दूरीमा चन्द्रगिरी डाँडा पर्दछ । चन्द्रगिरी डाँडाको काँखमा रहेको चित्लाङमा पछिल्लो समयमा स्थानीयवासीले होमस्टे र पेइङ गेष्ट अवधारणामा पर्यटनहरुलाई सेवादिन थालेका छन । चित्लाङ मल्लकालीन इतिहास बोकेको ऐतिहासिक स्थल पनि हो । राणकालीन समयमा चित्लाङ हुँदै मकवानपुरगढी भएर भिमफेदी आवत जावत गर्ने प्रमुख मार्गको रुपमा रहेको थियो ।
हेटौडा बागमती प्रदेशको राजधानी हो । यस जिल्लाको धरातलीय विविधता संगसंगै यहाँको हावापानीमा पनि निकै विविधता पाइन्छ । हिउँ पर्नेदेखि लिएर गर्मी हुने स्थानको रुपमा चिनिन्छ । जुन कारणले पर्यटकहरुको लागि मकवानपुर उत्कृष्ट गन्तब्य बन्दै गएको छ । पर्यटकहरुले भ्रमण गर्नु मनोरञ्जन लिनु मात्र होइन । गाउँठाउँको भ्रमणबाट धेरै किसिमका कुराहरु सिक्न र जान्न पाइन्छ । भ्रमणबाटनै प्रकृति, समाज र प्रविधिको अवस्था, आवश्यकता र सम्भावनाहरुको पहिचान, निर्माण र प्रसार जस्ता कार्यहरु गर्न सम्भव हुन्छ । त्यसैले होला भ्रमणलाई खुल्ला विश्व विद्यालय पनि भन्ने गरिन्छ । शिक्षालाई अर्को पाटोबाट हेर्ने हो भने पढ्नु र सिक्नुको अर्थ किताबी कुरा जान्नु र सुत्रहरु स्मरण गर्नु होईन । अरुले लेखिदिएको पुस्तकहरु पढेर संसारको बारेमा जान्न त सकिएला तर ज्ञानको गहिराइमा पुग्न सकिदैन। खासगरी प्राकृतिक स्रोत, भौगोलिक अध्ययन, मानव विकासको अध्ययन, सामाजिक र आर्थिक पक्षको अध्ययन लिन भ्रमण गर्नै पर्ने हुन्छ ।
पर्यटक गाउँघरमा किन जाने ? यसको उत्तर खोज्ने हो भने हामी किन अरुको गाउँमा घुम्न जान्छौं भन्ने कुरालाई गाँसेर हेर्न सकिन्छ । हामी अरुको गाउँठाउँ राम्रो लागेर हेर्न जान्छौं । शहर बजारहरु सुन्दर छन, शान्ति र सुव्यवस्था छ, पर्यटकलाई कुनै किसिमको डरको वातावरण छैन । अहिले पर्यटन क्षेत्र विस्तार भएका छन् । प्राकृतिक सौन्दर्य हेर्ने, समुद्रको किनारमा रमाउने, जलमा शिकार गर्ने, जंगलमा अनेक जीव जनावरको प्राकृतिक बसोबास र बसाइ हेर्ने, मानव निर्मित स्मरणीय र दर्शनीय स्थलहरुप्रति श्रद्धा व्यक्त गर्ने, इतिहासबारे जानकारी लिने, सांस्कृतिक महत्वका सम्पदाहरुको अवलोकन गर्ने, तीर्थाटन गर्ने पर्यटनका क्षेत्र विकसित भएका छन् ।
परम्परागत पर्यटनको मान्यतामा पनि खासै कमि आएको छैन । अध्ययन र व्यापारको सिलसिलामा आज पनि हजारौं मानिस दिनहुँ एक अर्को स्थान घुमफिर गरिरहेका छन् । पढ्नु र सिक्नुको अर्थ किताबी परिभाषा जान्नु र सुत्रहरु स्मरण गर्नु मात्र होइन । जीवन र जगतलाई बुझेर त्यसै अनुरुप सहज जीवन पद्धतिको विकास गर्नु नै शिक्षाको मुख्य उद्देश्य हो । अरुले लेखिदिएको पुस्तकहरु पढेर संसारको बारेमा जान्न त सकिएला तर ज्ञानको गहिराइमा पुग्न कदापी सकिदैन । जीवन र जगतलाई चिन्ने र त्यसैको आधारमा सहज जीवनको बाटो पहिल्याउने मध्यम नै शिक्षा हो । जीवन र जगतलाई चिन्ने बुझने सबै भन्दा राम्रो उपाय घुमघाम अर्थात पर्यटन हो । घुमघाम वा भ्रमण गर्नु मनोरञ्जन लिनु मात्र होइन । भ्रमणबाट धेरै किसिमका ज्ञानगुनका कुराहरु सिक्न र जान्न पाईन्छ । प्रकृति, समाज र प्रविधिको अवस्था, आवश्यकता र सम्भावनाहरुको पहिचान भ्रमणबाटै लिन सकिन्छ ।










