गुरु पूर्णिमा र व्यास जयन्ती मनाइयो : व्यासभूमिलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन जोड

भञ्ज्याङ न्यूज

आषाढ शुक्ल पूर्णिमाका दिन शनिबार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको छ । गुरु पूर्णिमाका अवसरमा विगत वर्षा औपचारिक कार्यक्रम आयोजना गर्ने गरिएकामा यसपटक नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेका कारण फरक तरिकाले मनाइएको छ। घरबाटै जीवित गुरुलाई फोन, सामाजिक सञ्जालबाट सम्झने, कृतज्ञता ज्ञापन गर्नेलगायत तरिका अपनाइएको छ । सामान्य रूपमा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर औपचारिक कार्यक्रम पनि भएको छ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् बताउँछन् । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रहृमा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ :

गुरु ब्रहृमा गुरु विष्णु गुरुदेवो महेश्वर : ।
गुरु : साक्षात् पर ब्रहृम तस्मै श्री गुरवे नम : ।।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा विभिन्न विद्यालय एवं संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेकामा यस वर्षकोरोना भाइरस संक्रमणबाट बच्न सार्वजनिक कार्यक्रम नभएकाले मानसिकरूपमा श्रद्धाभाव प्रकट गरिएको छ ।

यस्तै, चार वेद अठार पुराणका रचयिता व्यासको जन्मभूमि दमौलीलाई अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउने अभियानमा सबै लाग्नुपर्नेमा जोड दिइएको छ । व्यास अवतरण दिवस एवं गुरुपूर्णिमाको अवसरमा व्यास नगरपालिकाले शनिबार आयोजना गरेको कार्यक्रमका वक्ताहरुले हिन्दुहरुको आस्थाको थलो व्यासभूमिको थप प्रचारप्रसार आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङले व्यास ऋषिकै कारण व्यासभूमि परिचित भए पनि यसको अझै प्रचारप्रसार आवश्यक रहेको बताउँदै व्यासभूमिलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउनुपर्ने र त्यसका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले व्यास क्षेत्रको विकास प्रक्रिया अभियानमा नगरपालिका सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै धर्मलाई पर्यटनसँग जोडेर व्यासभूमिको विकास गर्ने अभियान नगरपालिकाले सञ्चालन गरेको बताए । व्यासभूमिको विकासका लागि नगरपालिकाकै सक्रियतामा १०८ फिटको व्यासमूर्ति निर्माण अभियान शुरु भएको बताउँदै उनले व्यास-पराशर क्षेत्रको विकास, मानुङकोटको पर्यटन प्रबर्द्धन, एकीकृत मादी विकास योजनालगायतले व्यासभूमिको विकासमा सहयोग पुर्‍याउने उल्लेख गरे ।

व्यासका अध्येता काशीनाथ न्यौपाने र शान्तिस्वरुपानन्द दामोदर बाबाले विश्वकै हिन्दुको मूल थलो व्यासभूमिमा १०८ फिटको मूर्ति निर्माणपछि थप चर्चा पाउने विश्वास व्यक्त गरे । व्यास क्षेत्र विकास कोषका उपाध्यक्ष प्रेमप्रकाश भट्टराइले १०८ फिटको व्यासमूर्ति निर्माणको टेण्डर भइसकेको र वर्षा लगत्तै उक्त कामले तीव्रता पाउने जानकारी दिए ।

१०८ फिट व्यासमूर्ति निर्माणका लागि रु ७१ करोड दुइ लाख १० हजार ८८९ रकम आवश्यक पर्दछ । पहिलो चरणमा रु पाँच करोड ५० लाख ५५ हजार ६४० को लागतमा मूर्ति अड्याउने स्तम्भ निर्माणको काम शुरु भएको छ । पहिलो चरणमा मूर्ति अड्याउन स्तम्भ निर्माणका लागि नगरपालिकाले गौरी पार्वती, देव एण्ड सयर/ऋषिशक्ति जेभीसँग सम्झौता गरेको छ । मूर्ति निर्माणका लागि व्यास नगरपालिकाको प्रस्तावमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साझेदारी गरेको छ । त्यसका लागि मन्त्रालयले रु चार करोड ५५ लाख बजेट उपलब्ध गराएको छ ।

विस्तृत परियोजना प्रतिवेदन -डिपिआर) अनुसार मूर्ति र पेडेस्टल -स्तम्भ) निर्माणका लागि मात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ । व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम संकलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करीब रु ७० लाख संकलन भएको थियो। उक्त रकममध्ये रु १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ ।

व्यास मूर्ति निर्माणका ३० हजार किलो तामा आवश्यक पर्ने अनुमान छ । पेडेस्टल (स्तम्भ) भित्र संग्रहालय, पुस्तकालय हल प्रस्ताव गरिएको छ । गुरुयोजनाअनुसार व्यासको मूर्तिका अलवा प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, गार्ड घर, कोशेली घर, विक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, संग्रहालय, वृत्तचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैंचाको साथ विश्राम घर, तलाउसहित मत्स्यगन्धा पार्क, चमेनागृह, पूजारी घर, २७ वटा साना व्यासका मूर्तिहरु, व्यासका अनुयायीको पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ । यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्दछ ।

पाँच हजार ५०० वर्षअगाडि व्यास यस क्षेत्रमा अवतरण भएको धार्मिक विश्वास छ । व्यास ऋषिको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि ८ किमि पूर्वछाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिमपट्टकिो कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको थियो, माछाको रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको हो भनिन्छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker