मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ व्यक्ति पक्राउ

काठमाडौँ : नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको छ महिनाको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न ८९ व्यक्तिलाई पक्राउ गरेको छ । त्यसमध्ये ६७ पुरुष र २२ महिला छन् । सोही अवधिमा जम्मा ७९ मुद्दा दर्ता भएका छन् ।

मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराध नियन्त्रण गर्न नेपाल प्रहरीमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलले विशिष्टिकृत एकाइका रुपमा काम गर्दै आएको छ । सम्बन्धित अपराध अनुसन्धानलाई प्रभावकारी र परिणाममुखी बनाउन ब्युरोले सक्रिय एवं प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ ।

सो अवधिमा एक सय ४९ व्यक्तिलाई अभियोग लागेको छ । सो अवधिमा देशभरबाट दुई सय ३६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये एक सय ५० महिला, २६ पुरुष र ६० बालिका रहेका छन् । नेपाल आन्तरिक र सीमा वारिपारि हुने मानव बेचबिखनबाट अति प्रभावित रहेको छ ।

त्यसमा वैदेशिक रोजगारका लागि नेपालबाट ठूलो सङ्ख्यामा भारत, मलेसिया, कतार, साउदी अरब, लिबिया, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स, अमेरिका तथा विभिन्न युरोपेली र अफ्रिकन देशलगायत अन्य विभिन्न मुलुकमा नेपाली काम गर्ने वा अवैधानिक बसोबासको प्रलोभनमा परी बेचबिखनमा पर्ने गरेका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो

उहाँले भन्नुभयो, “यही तथ्य र संवेदनशीलतालाई मनन गरेर नेपाल प्रहरीले यस्ता अपराधको अनुसन्धानलाई विशेष जोड दिएको छ, अनुसन्धानलाई अझै प्रभावकारी बनाउन विद्यमान मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ मा समयसापेक्ष परिमार्जनको आवश्यकता महसुस गर्दै परिमार्जनका लागि पहल भइरहेको पनि छ ।”

विसं २०७५ मा मानव बेचबिखन अनुसन्धान ब्युरोको स्थापना भएको र ब्युरो स्थापनापछि हालसम्म जम्मा एक हजार एक सय १८ जना पक्राउ परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सात सय ८३ जना पुरुष र तीन सय ३५ महिला छन् । सो अवधिमा एक हजार नौ सय १९ जनालाई अभियोग लागेको छ । सोही अवधिमा जम्मा आठ सय ९२ मुद्दा दर्ता भएका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले मुख्यतः मानव बेचबिखन तथा ओसारपसार अपराधको अनुसन्धान तथा नियन्त्रण र पीडितको उद्धार गर्दछ । समस्या सहजीकरण, समन्वय तथा सहकार्य, जनचेतना एवं सशक्तीकरणका कार्यक्रम सञ्चालन, दक्ष जनशक्ति तथा प्रविधिको विकासलगायत काम गर्ने गरेको ब्युरोका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रचलित नेपालको कानुनको अधिनमा रही ब्युरोले सक्रियरुपमा काम गर्दै आइरहेको छ । देशभित्र आन्तरिकरुपमा हुने मानव बेचबिखन तथा ओसारपसार र अन्तरदेशीयरुपमा हुने त्यस्ता घटनाको प्रभावकारी अनुसन्धान गर्दै संलग्न व्यक्ति र समूहलाई कारबाहीको दायरामा ल्याइएको प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताउनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker