भानुभक्तको जन्मथलोलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउन पूर्वाधार निर्माण सुरु

तनहुँको भानु नगरपालिका-४ पुरनडिहीमा भानु स्मृति उद्यानमा पूर्वाधार निर्माण सुरु गरिएको छ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा भानु स्मृति उद्यान निर्माण सुरु गरिएको हो । भानुभक्तको जन्मथलोलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने उद्देश्यसहित भानु स्मृति उद्यानमा पूर्वाधार निर्माणको काम थालनी गरिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए ।
‘गत वर्षको चैतमा स्मृति पार्कको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको थियो, यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने लक्ष्य राखिएको छ’, उनले भने, ‘उद्यानमा मंगलबार पूर्वाधार निर्माणका लागि जग्गा सम्याउने काम सुरु गरिएको छ । पहिलो चरणमा स्वागतद्वार, टिकट काउण्टर, पालेघर र शौचालय निर्माण गरिनेछ । त्यसका लागि सहरी विकास मन्त्रालयमार्फत रु ७० लाख बजेट विनियोजन भएको छ । संघीय आयोजना कार्यान्वयन एकाइ कास्कीमार्फ् उद्यानमा पूर्वाधार निर्माणको काम सुरु गरिएको हो ।’
आदिकवि जन्मस्थल विकास समितिको कार्यालयभन्दा एक किलोमिटर टाढा रहेको उक्त ठाउँमा भानु स्मृति उद्यान निर्माण गर्न लागिएको हो । उनले भने, ‘भानु जन्मस्थललाई साहित्यिक पर्यटनको थलो बनाउने उद्देश्यसहित विभिन्न पूर्वाधार निर्माण गर्दै जाने उद्देश्य राखिएको छ, सोही उद्देश्यलाई पूरा गराउनका लागि भानु उद्यान निर्माण गर्न लागिएको हो । विस्तृत अध्ययन प्रतिवेदन अनुसार उद्यान निर्माणका लागि करिब रु तीन करोड बजेट आवश्यक पर्ने देखिएको छ । उद्यानमा भानुभक्त आचार्य, मोतीराम भट्ट र भानुभक्तलाई चिनाउने घाँसीको मूर्ति निर्माण गरिनेछ । त्यस्तै हल, मन्दिर, पानीको फोहरा, सानो चिडियाखाना र बालबाटिका उद्यानमा निर्माण गरिने छन् ।’
समितिकै मातहत रहेको १४ रोपनी क्षेत्रफलमा उद्यान निर्माण गर्न लागिएको हो । गत वर्ष नै निर्माण सुरु भइसक्नुपर्नेमा मन्त्रालयबाट बजेट विनियोजन नहुँदा काममा ढिलाइ भएको रानाभाटको भनाइ छ । जन्मस्थल विकास समितिकै सक्रियतामा चुँदी रम्घालाई सप्तधामका रुपमा विकसित गर्नका लागि गुरुयोजना बनाउने तयारी थालिएको छ । रानाभाटले भने, ‘पर्यटकलाई आकर्षित गराउन चुँदीरम्घामा केही संरचना र विकासका काम गर्नुपर्नेछ, त्यसका लागि समितिसँग बजेट छैन, चुँदीरम्घाको विकासका लागि संघ र प्रदेश सरकारसँग बजेट माग गरेका छौं ।’ समितिले आदिकवि भानुभक्त आचार्यको पुरानो शैलीमा घर निर्माण गर्ने लक्ष्य राखेको छ । त्यसका लागि रु एक करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेष मात्र बाँकी छ । घरभित्रै विभिन्न जातका ठूला-ठूला काँडासहितका बिरुवा हुर्केका छन् । भग्नावशेष हेर्दा घरको भित्ता जस्तो पनि देखिँदैन ।
विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा आदिकवि भानुभक्त नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर पुनःनिर्माण गरिएको थियो । जङ्गलबीचको खरको छानोको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो । शिखरकटेरीमा भानुभक्तको घर शिलान्यास भए पनि निर्माण कार्य अघि बढ्न सकेको थिएन । अब पश्चिमाञ्चल विकासमञ्चको लगानीमा भानुगृह निर्माणको तयारी थालिएको हो ।
विसं २०७३ चैत २२ गते पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको शिलान्यास गरेको थियो। विकास मञ्चले काममा ढिलाइ गरेपछि समितिले आफ्नै सक्रियतामा घर निर्माण गर्ने तयारी थालेको थियो । मञ्चले नै घर निर्माण गर्ने भएपछि समितिका तर्फाट आवश्यक सहयोग रहने रानाभाटले बताए । समितिले शिखरकटेरीमा तारबार र सिसी क्यामरासमेत जडान गर्दैछ । यही ठाउँमा रामायण भवन निर्माण भइसकेको छ । जंगलको बीचमा भएकाले रामायण भवन संरक्षणविहीन अवस्थामा पुगेको छ । रानाभाटले भन्नुभयो, “भानुगृहको काम सुरु भएपछि यस ठाउँको थप विकास हुनेमा आशावादी छौँ, पानी र बत्तीको सुविधा पुगिसकेको छ ।”
यसअघि कच्ची बाटो, पानी र बत्तीको समस्यालगायतका कारणबाट भानुगृहको काम अगाडि बढ्न सकेको थिएन । भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाहृय पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । भानु नगरपालिका-४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त बाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन् ।
मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिनुभएको बताइन्छ । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेख्नुभएको छ, भने उनका पाण्डुलिपीलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनि नेपाली साहित्यमा चिनिएका थिए ।










