शुक्लागण्डकीको एक्लेडाँडालाई पर्यटकीयस्थल बनाउन पहल

तनहुँको शुक्लागण्डकी नगरपालिका-८ स्थित एक्लेडाँडालाई पर्यटकीयस्थल बनाउन प्रयास थालिएको छ । वडाकै पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको यस ठाउँलाई धार्मिक पर्यटकीयस्थलका रूपमा प्रवर्द्धन गर्ने प्रयास थालिएको हो ।

वडा कार्यालय र गुरुङ मगर सांस्कृतिक एकता समाजले यहाँ २९ फिट अग्लो बुद्धको मूर्ति निर्माणका लागि सम्झौता गरेका छन् । वडाध्यक्ष नारायणसिंह थापा र समाजका अध्यक्ष मनराज गुरुङबीच वडाले एकता समाजलाई बुद्ध मूर्ति निर्माणमा सहयोग गर्ने र समाजले मूर्तिसहितको संरक्षणको सम्पूर्ण स्वामित्व लिने विषयमा सम्झौता भएको हो ।

यस ठाउँलाई पर्यटकीय स्थलका रूपमा विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको वडाध्यक्ष थापाको भनाइ छ । वडा कार्यालयले एक्लैले ठूला योजना निर्माण गर्न नसक्ने भएकाले नगरपालिका, प्रदेश सरकार र संघीय सरकारसँग सहकार्य गर्नुपर्ने उनले बताए । गुरुङ मगर सांस्कृतिक एकता समाजका अध्यक्ष गुरुङले गौतम बुद्ध सबैको साझा व्यक्ति भएकाले बुद्धको मूर्ति निर्माणपछि समग्र नगरको प्रचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बुद्ध मूर्ति निर्माणका लागि रु एक करोड बजेट लाग्नेछ । समाजले चन्दा संकलन गरी रकम संकलन गर्नेछ । उनले भने, “समाजसँग आवद्ध देश तथा विदेशमा रहनेहरूसँग चन्दा संकलन गरिनेछ ।”

एक्ले सामुदायिक वनभित्र रहेको यस ठाउँमा पूर्वाधार निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन -डिपिआर) तयार भइसकेको छ । यस ठाउँलाई उजागर र प्रचारप्रसार गरी पर्यटकीय गन्तव्य बनाउन एक्लेडाँडा पर्यटन प्रवर्द्धन समिति गठन गरिएको छ । समितिका अध्यक्ष विपेन्द्रसेन ठकुरीले बुद्धको प्रतिमा निर्माणपछि यसको थप प्रवर्द्धन हुने उल्लेख गरे ।

प्रतिवेदनअनुसार पूर्वाधार निर्माणका लागि रु १२ करोड ५३ लाख ३४ हजार चार सय एक बजेट आवश्यक पर्ने देखिएको छ । प्रतिवेदनअनुसार दुइ किलोमिटरको पदमार्ग र एक्लेडाँडोमा शान्तिका प्रतिक गौतम बुद्धको मूर्ति निर्माण गरिनेछ ।

पृथ्वीराजमार्गमा लेखनाथबाट म्याग्दे देखिने गरेर आमाको प्रतीकका रुपमा स्तनपान गराइरहेकी महिलाको विशाल मूर्तिसमेत निर्माण गरिनेछ । एक्लेडाँडाबाट शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामसम्म जिपलाइन निर्माण गर्ने योजनासमेत समेटिएको छ । जिपलाइन साहसिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्नेछ ।

बुद्धजयन्तीका दिनमात्रै भरिभराउ हुने एक्लेडाँडा हिजोआज आन्तरिक पर्यटकले भरिभराउ हुन थालिसकेको छ । सधैँ दुलेगौँडा सहरको व्यस्ततालाई नियाल्दै बस्ने एक्लेडाँडामा त्यही सहरका व्यस्त मानिस साँझ-बिहान टहलिन पुग्छन् । स्वस्थ बन्न पैदलयात्रा गरेर उकालो चढ्छन् । स्थानीयवासीका अनुसार शनिबार र चार्डपर्वमा दैनिक दुइ-तीन सयसम्म आन्तरिक पर्यटक एक्लेडाँडामा उक्लन्छन् । केही वर्षपहिला यहाँ घाँस दाउरा गर्न बाहेक स्थानीय जादैनथे ।

पुल्चोकमा रहेका तिब्बतीयन शरणार्थीले हरेका वर्ष बुद्ध जयन्तीको दिनमा डाँडामा उक्लिएर धुपबत्ती बाल्ने गर्दछन् । तिब्बतीयन शरणार्थीले पवित्र थलो मानेर पूजा गर्ने शान्त डाँडैभरि झिलीमिली ध्वजापताका टाँसिएको छ ।

पर्यटकको चहलपहल बढ्न थालेपछि तीन वर्ष पहिला वडा कार्यालयले रु १० लाख बजेटमा दुइ सय मिटर रेलिङसहितको पदमार्ग निर्माण गरेको थियो । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रु पाँच लाखको लागतमा ढुङ्गाको छपनी बिछ्याएर साढे दुइ सय मिटर पदमार्ग बनाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker