भानु जन्मस्थलको प्रचार-प्रसारका लागि चुँदीरम्घामा कार्यपालिका बैठक
डिपी अधिकारी/भानु

आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई प्रचार-प्रसार गर्न उद्देश्य सहित तनहुँको भानु नगर पालिकाले चुँदीरम्घामा कार्यपालिकाको बैठक गरेको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको कार्यालय चुँदिरम्घामा विहीबार बसेको बैठकले भानुभक्त आचार्यको सम्मान गर्दै उहाँको योगदानको महत्वलाई देश विदेशसम्म प्रचार-प्रसार गर्न भूमिका खेल्ने जोड दिइएको छ ।
बैठकमा नगरपालिकाका प्रमुख, उप-प्रमुख, वडा अध्यक्ष र कार्यपालिकाका सदस्यहरुले ब्यक्तिगत खर्चमा भानुभक्तकालिन पहिचान झल्कने पोशाक खरिद गरी पालिकाको औपचारिक कार्यक्रम र पालिकाको बैठकमा अनिवार्य लगाउनु पर्ने निर्णय गरिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए ।
भानुभक्तीय कालिन पोशाकसंगै भानुभक्तको तस्बिर अंकित लागो ब्याच समेत कोटमा अनिवार्य लगाउनु पर्ने निर्णय भएको नगरप्रमुख त्रिपाठीले बताए । ‘आदिकबी भानुभक्त आचार्य जन्मेको ऐतिहासिक र साहित्यिक स्थाल र यसकै कारण नगरपालिकाको नामाकरण गरिनुले पनि भानु प्रतिको सच्चा सम्मान ठहर्छ’, उनले भने, ‘अहिले थप प्रचार प्रसार र स्मरणीय कार्य गर्न पनि उहाँसँग सम्बन्धित नयाँ आयाम थपिएको हुँदा अब नगरपालिकाले पनि जताबाट हुन्छ थप बजेटको ब्यवस्थापनमा जुटेका र सोही अनुसार प्रवर्द्धनका कार्यक्रम गर्ने योजनामा छौ ।’
बैठकले नगरपालिकाको लेटर-हेडमा समेत आदिकवि भानुभक्त आचार्यको तस्बिर राख्ने निर्णय गरेको नगरपालिकाकी उप-प्रमुख उमा गोतामेले बताइन् । आदिकबी भानुभक्त आचार्यको प्रचार-प्रसार गरी चुँदीरम्घालाई साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरी भानु जन्मस्थलको प्रवर्द्धनका साथै स्थानीयको आर्थिक समृद्धिको बाटो तर्फ डोर्याउने लक्ष्य लिइएको उपप्रमुख गोतामेले बताइन् ।
यस्तै, नगरप्रमुख त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले पुरानडिही अस्पताल र कालिमाटी नगर अस्पतालमा फागुन १ गतेबाट चौविसै घण्टा आकस्मिक सेवा शुरु गर्ने, दीर्घरोगी, क्यान्सर र डायलसिसका बिरामीलाई तत्काल ५ हजारका दरले मासिक उपचार खर्च उपलब्ध गराउन प्रक्रिया थाल्ने, चुँदी लगायत ठूलाफाँटहरुमा जग्गा चक्लाबन्दिको काम थाल्ने लगायतका निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत दिपक प्रसाद खतिवडाले बताए ।










