आर्थिक वर्ष २०८१/०८२ का लागि व्यासले पारित गर्यो २ अर्ब ६ करोड बढीको बजेट

दमौली । तनहुँको व्यास नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट पारित गरेको छ । गत असार १० गते ४१औं नगरसभामा प्रस्तुत दुई अर्ब छ करोड १८ लाख ८६ हजारको बजेट मंगलबार आयोजित नगरसभाले सर्वसम्मत रुपमा पारित गरेको हो। नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको नगरसभाले आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ समेत पारित गरेको छ ।
नगरसभाले विधायन समितिका संयोजक खेमराज पोखेलबाट प्रस्तावित व्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण विधेयक, २०८१, व्यास नगर प्लाष्टिकजन्य वस्तुको प्रतिबन्ध गर्ने सम्बन्धी विधेयक, २०८१, व्यास नगरपालिका सूर्तिजन्य पदार्थ (बिक्री वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने) विधेयक, २०८१ सर्वसम्मतले पारित गरेको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।

यस्तै न्यायिक समितिका संयोजक उपप्रमुख इन्दिरा दरैबाट प्रस्तुत आ.व. २०८०/०८१ को न्यायिक समिति प्रतिवेदन, लेखा समितिका संयोजक काशीराम श्रेष्ठबाट प्रस्तावित लेखा समिति प्रतिवेदन, आर्थिक विकास समितिका संयोजक रमेशचन्द्र हड्खलेबाट प्रस्तुत आर्थिक विकास सम्बन्धी प्रतिवेदन, पूर्वाधार विकास समितिका संयोजक मनबहादुर गुरुङले प्रस्तुत गरेका पूर्वाधार सम्बन्धी प्रतिवेदन, सामाजिक विकास समितिका संयोजक काजीमान श्रेष्ठबाट प्रस्तुत सामाजिक विकास सम्बन्धी प्रतिवेदन, सार्वजनिक सेवा तथा सुशासन समितिका संयोजक सुरेश थापाबाट प्रस्तुत सार्वजनिक सेवा तथा सुशासन सम्बन्धी प्रतिवेदन, विधायन समितिका संयोजक खेमराज पोखरेलबाट प्रस्तुत विधायन समिति सम्बन्धी प्रतिवेदन र वन तथा वातावरण समितिका संयोजक रनसिं नेपालीबाट प्रस्तुत वन तथा वातावरण सम्बन्धी प्रतिवेदन संशोधन सहित सर्वसम्मत पारित गरिएको छ ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेद्वारा प्रस्तुत कर्मचारी संगठन संरचना सम्बन्धी संशोधन प्रस्ताव र घर नक्सा सम्बन्धी अभिलेखीकरण सम्बन्धी प्रस्ताव पारित गर्ने निर्णय गरिएको छ ।
नगरसभामा आर्थिक वर्ष २०८०/०८१ अन्तर्गत असार २४ गतेसम्मको कुल आय १ अर्ब २६ करोड १३ लाख २ हजार ९७४ रुपैयाँ मध्ये १ अर्ब १९ करोड ८५ ३ तीन हजार ७६ रुपैयाँ खर्च भएको नगरसभामा जानकारी गराइएको थियो ।











