कृषिमा वितरणमुखी भन्दा प्रविधिमैत्री कार्य गर्न व्यासलाई नगरबासीको सुझाव
भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिकालाई नगरबासीले कृषिमा वितरणमुखी भन्दा प्रविधिमैत्री कार्य गर्न सुझाव दिएका छन् । आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि नगरबासीहरुले उक्त सुझाव दिएका हुन् ।
नेपाल पत्रकार महासंघ तनहुँको समन्वयमा नगरपालिकाले वडा नं. ७ स्थित कलेस्तिमा शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि वितरणमुखी रुपमा अनुदान प्रदान गर्नुभन्दा प्रविधिमैत्री तर्फ ध्यान दिन आग्रह गरेका छन् ।
वडा नं १० का निवर्तमान् वडा अध्यक्ष तुलसीराम सापकोटाले व्यास नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन् गरेर सार्वजनिक जमिनमा भण्डारण भएकाले राजश्व उठाउनु पर्ने बताए । उनले अस्थायी रुपमा व्यास-१० का भत्तेरीमा कुहीने फोहोर राख्ने ब्यवस्था भएकाले ठाउँको ब्यवस्थापन गनुपर्ने र नागरिकका मनभित्र गुम्सिएका गुनासा र प्रश्नका जिज्ञासा मेटाउन सार्वजनिक सुनुवाई कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताए ।
यसैगरी व्यास-१० का हिमलाल सुवेदीले व्यास नगर अस्पतालको निर्माणमा ढिलाईबारे चासो राखेका थिए । व्यास-१० का श्रीराम कुंवरले छाडा कुकरहरुको नियन्त्रण गर्न माग राखेका थिए । व्यास-८ का धर्मराज बगालले व्यास नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि वितरणमुखी काम गरेको भन्दै प्रविधिमैत्री काम गर्न आग्रह गरे ।
कार्यक्रममा व्यास-७ का पूर्ण बाँनीयाले वडा नं. ६ र ८ का ३ हजार रोपनी खेतीयोग्य खेतहरु रिस्ती खोलाले वर्षेनी बगरमा परिणत गर्दै लगेको हुँदा तटबन्दनको व्यवस्था गरी संरक्षण गरिदिन आग्रह गरेका थिए ।
वडा नं. ९ का पदम थापाले बाँदर नियन्त्रण गर्न माग राखेका थिए । भिम बहादुर बस्नेतले कवादी खोलामा पुल निर्माण भएपनि करिब २ सय मिटर सडक कच्चीरहेको भन्दै कालोपत्रे गर्न माग गरेका थिए । उद्योग धन्दा तथा उत्पादनमुलक काम गर्ने बजेट विनियोजन गर्न आग्रह गरेका थिए ।
उक्त कार्यक्रममा नगरप्रमुख बैकुण्ठ न्यौपानेले नागरिकहरुले राखेका जिज्ञासा तथा गुनासो सम्बोधन गरेका थिए । नागरिहरुले उठाएका प्रश्नहरुमा सम्बन्धित वडाका वडा अध्यक्ष तथ शाखा प्रमुखहरुले सहजिकरण गरेका थिए ।
कार्यक्रममा वरिष्ठ अधिकृत कुमार कञ्चन जिसीले नगरपालिकाले गरेका विकास निर्माण तथा कार्यालयबाट सम्पादन गरिएका गतिविधीका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा नगरपालिका पूर्वाधार तथा योजना शाखा प्रमुख डा. राजु पौडेलले योजनाहरुको अवस्थाका बारेमा प्रस्तुत गरेका थिए । वडा नं. ६ को प्रगतीका बारेमा ६ का अनिल मिश्र, वडा नं. ७ का सचिव दुर्गा पौडेल, ८ का गोविन्द पौडेल, ९ का सन्तोष गोदार, १० का पुष्प खनालले वडाका प्रगती विरण प्रस्तुत गरेका थिए ।