तनहुँको सबै क्षेत्रमा निषेधाज्ञा जारी
भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । आईतबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारी सागर आचार्यले यस अघि गत २२ वैशाखमा जारी आदेश संसोधन गर्दै जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको उल्लेख गरेका छन् । यसअघि घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाको १ नं. वडा बाहेक अन्य वडामा निषेधाज्ञा जारी गरिएको थिएन । स्वास्थ्य मादण्ड पुरा गरेर खाद्यान्न, औषधी, कृषि उपज, स्वास्थ्य संस्था, भेटेरिनरी पसल, दुरसञ्चार, बैंकको एटिएम आदिका लागि निर्वाध सञ्चालनको व्यवस्था मिलाइएको छ ।
यस्तै, विहान ५ देखि ९ बजेसम्म कृषि उपजको ढुवानीको व्यवस्थालाई निरन्तरता दिइएको छ । आदेशमा उत्पादन र सार्वजनिक निर्माण कार्यमा खटिने जनशक्तिलाई निर्माण स्थलमै खाने बस्ने प्रबन्ध गरेर स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालन गर्न भनिएको छ । त्यसो हुन नसकेका खण्डमा निर्माणका काम बन्द गर्ने उल्लेख गरिएको छ । प्रशासनले बिरामी, कुरुवा तथा मृत्यु संस्कारमा जानेका लागि प्रशासनबाट अनुमति लिनुपर्ने उल्लेख गरेको छ ।










