नर्सिङ शिक्षा अध्ययन छात्रवृत्तिका लागि व्यास नगरपालिकाद्वारा कार्यविधि पारित

दमौली : तनहुँको व्यास नगरपालिकाले नर्सिङ शिक्षा अध्ययन छात्रवृत्तिका लागि छात्रवृत्ति वितरण सम्बन्धी कार्यविधि २०८२ पारित गरेको छ । नगरकार्यपालिकाको आइतबार बसेको बैठकले नगर नर्सिङ्ग शिक्षा (प्रसुति सेवा) अध्ययन छात्रवृत्रि वितरण सम्वन्धी कार्यविधि पारित गरेको हो ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि वातावरणीय अध्ययन प्रतिवेदनको सिफारिस र प्राविधिक प्रतिवेदनका आधारमा वडा नम्बर १३ र १४ मा पर्ने सेती नदीतर्फ र वडा नम्बर ५,६,७,१० अन्तर्गत को मादी नदीतर्फको ढुंगा, गिटी, बालुवाको प्रदेश कानुन र व्यासनगर आर्थिक ऐन–२०८२ ले तोकेको दर रेटमा टेन्डर प्रकृया अगाडि बढाउन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
आर्थिक वर्ष २०८२/०८३ को आन्तरिक आय अनुमानित कुल २० करोड रुपैयाँ रहेकोमा श्रावण महिनामा जम्मा १ करोड ८लाख ५७ हजार ६७२ रुपैयाँ आम्दानी भएको बैठकमा जानकारी प्राप्त भएको जनाइएको छ ।
यस्तै, बैठकले व्यास नगरपालिकाका शहरी, अर्ध शहरी र ग्रामीण वडाहरूमा भएका सडकहरूमा नाला सफाई, सडक सफाई, जेव्रा क्रसिङ लगायतका कार्यहरू सम्बन्धित टोल विकास संस्थाहरूसँग सहकार्य गरी आवश्यक रकम वडा बजेटबाट व्यवस्थापन गर्न गराउन सबै वडा कार्यालयहरूलाई निर्देशन दिने निर्णय गरेको छ ।
नगरपालिकाले मंगलबार हरितालिका तीज पर्वको अवसरमा अति आवश्यक सेवा बाहेकका कार्यालयहरूलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
नगरपालिका अन्तर्गतका विभिन्न ऋण लिने ऋणीहरूले ऋण रकम नबुझाउँदा कतिपय बैंकहरूले लिलाम प्रक्रिया अगाडि बढाउँदा मूल्याङ्कन घटाइएको, लिलाम हुने ऋणीलाई लाभास तिराइएको, विभिन्न प्रक्रियामा ऋणीहरूलाई सहभागी नबनाइएको कारणले ऋणी र बैंकहरूबीच कटुता सिर्जना भएको सन्दर्भमा ऋणीहरू र बैंकका प्रतिनिधिहरुवीच नगरपालिकाको मध्यस्यतामा छलफल समेत भएको हुँदा ऋणी र बैंकका प्रतिनिधिहरु बीच पर्याप्त छलफल गराएर मात्र प्रक्रिया अघि बढाउन सबै वडा कार्यालयहरूलाई निर्देशन दिने निर्णय गरिएको छ ।










