तनहुँमा “चैते–५” को बीउ उत्पादन सुरु

बाहिरबाट चैते धानको बीउ ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न जिल्लामा ‘चैते–५’ जातको मूल बीउ उत्पादन थालिएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले चैते धान प्रवद्र्धन कार्यक्रमअन्तर्गत जिल्लामा नयाँ जात चैते–५ को बीउ उत्पादन सुरु गरेको हो ।

कृषकलाई चैते धानखेतीतर्फ आकर्षित गर्न चालु आर्थिक वर्षमा करिब पाँच हेक्टर क्षेत्रफलमा तीन सय केजी चैते–५ को मूल बीउ उत्पादन सुरु गरिएको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो । जिल्लामा चैते धानखेतीतर्फ किसानको आकर्षण घट्दा उत्पादन घटेकाले चैते धान प्रवद्र्धन कार्यक्रम लागू गरी जिल्लामा बीउ उत्पादन सुरु गरिएको उहाँले बताउनुभयो ।

“चैते–५ को उन्नत बीउ छ हजार केजी खरिद गरी तीन सय केजी उत्पादन सुरु भएको छ । बीउ उत्पादन भएपछि आगामी वर्षदेखि चैते धानको बीउ बाहिरबाट ल्याउनुपर्दैन”, लामिछानेले भन्नुभयो। उहाँका अनुसार चैते–५ धान चाँडो पाक्ने, मसिनो दाना हुने, खानामा मिठो, बढी उत्पादन दिने तथा रोग कीरा सहन सक्ने खालको प्रजाति हो । यो जातको बोट मध्यम उचाइको हुने भएकाले सामान्यतयाः सिँचाइ सुविधा भएको मलिलो जग्गामा यसको खेती गर्न सकिने उहाँले बताउनुभयो ।

पछिल्लो एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान घट्दो अवस्थामा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पुरानो बीउ प्रयोग गरिएकाले पनि धान उत्पादन घट्दो क्रममा रहेको भन्दै नयाँ जातको धानको बीउ रोप्नुपर्ने केन्द्रका प्रमुख लामिछानेले बताउनुभयो ।

विसं २०६० मा ३५ हजार सात सय ८६ मेट्रिक टन वर्षे धान उत्पादन भएकामा विसं २०७९ मा ३३ हजार दुई सय ८० मेट्रिक टन धान उत्पादन भएको छ । त्यतिबेला १२ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती हुने गरेकामा अहिले घटेर आठ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा धान खेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यसअवधिमा वर्षे धानखेती गर्ने क्षेत्रफल चार हजार २० हेक्टर क्षेत्रफल घटेको छ भने दुई हजार पाँच सय छ मेट्रिक टन धान उत्पादनमा कमी आएको छ ।

“विसं २०६० मा ११ हजार सात सय ८० मेट्रिक टन चैते धान उत्पादन भएकामा विसं २०७९ मा सात हजार नौ सय ३८ मेट्रिक टन चैत धान उत्पादन भएको छ”, केन्द्रका प्रमुख लामिछानेले भन्नुभयो, “तीन हजार आठ सय हेक्टर क्षेत्रफलमा चैते धानखेती हुने गरेकामा अहिले घटेर एक हजार ८९० हेक्टर क्षेत्रफलमा मात्रै चैत धान उत्पादन हुने गरेको छ । यसअवधिमा चैते धानखेती गर्ने क्षेत्रफल एक हजार ९१० हेक्टर क्षेत्रफल घटेको छ भने तीन हजार ८४२ मेट्रिक टन धान उत्पादनमा कमी आएको छ ।”

कार्यालयले चालु आर्थिक वर्षमा चैते धान प्रवद्र्धन कार्यक्रमका लागि रु एक करोड ४० लाख बजेट विनियोजन गरेको थियो । विभिन्न १२ सहकारीमार्फत किसानलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइएको केन्द्रले जनाएको छ । यो कार्यक्रमका लागि रु एक करोड चार लाख ९५ हजार खर्च भएको छ । यो कार्यक्रमबाट ५३४ घरधुरी लाभान्वित भएका छन् । कार्यक्रममार्फत ५६ वटा मिनीटिलर खरिद, एकवटा रिपर हेड, पाँच केज हुइल, तीनवटा धान काट्ने मेसिन, १२ धान चुट्ने मेसिन, ११८ स्प्रेयर, ४४५ त्रिपाल, १८ डिजिटल तराजुलगायत सामग्री खरिद गरी वितरण गरिएको केन्द्रका प्रमुख लामिछानेले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker