लयमा फर्कदै तनहुँको पर्यटन : बन्दिपुरका पर्यटन व्यवसायी उत्साहित

नारायण खड्का

कोरोना कहरको चपेटामा परेको तनहुँको पर्यटन क्षेत्र विस्तारै लयमा र्फकन थालेको छ । नेपालीका ठूला चार्डपर्व दसै, तिहार, छठसंगै पर्यटकीय सिजन पनि सुरु भएकाले अहिले तनहुँका पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । पहाडकी रानीको उपनामले परिचित बन्दिपुरमा वाह्य पर्यटकको समेत आगमन हुन थालेसंगै व्यवसायीहरु उत्साहित बनेका छन्।

कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि भन्दै गरिएको बन्दाबन्दी, निषेधाज्ञाले पर्यटन क्षेत्र पनि नराम्रोसंग थल पर्‍यो । अहिले कोरोना संक्रमण दर केही घट्दै गएको र खोपको दायार पनि बढ्दै गएपछि होटल तथा पर्यटन क्षेत्र खुल्दै गएको बन्दिपुरकी होटल व्यवसायी संगिता प्रधानले बताइन।

‘पर्यटकीय नगरी बन्दिपुर पनि कोरोनाको चपेटामा नराम्रोसंग पर्‍यो’, उनले भनिन्, ‘कोरोना संक्रमण फैलिएसंगै बन्द भएका यहाँको पर्यटकीय गतिविधि विस्तारै लयमा र्फकन थालेका छन् । पाहुनाको स्वागतमा आतुर रहने बन्दिपुर करिब तीन वर्ष पूर्णरुपमै बन्द हुन पुग्यो । अब भने आशा जागेको छ ।’ गत असार महिना यता निषेधाज्ञा खुकुलो भएपनि बन्दिपुरमा पर्यटक नपुग्दा निराश बनेका पर्यटन व्यवसायीहरु दसैं पर्वसंगै आन्तरिक पर्यटकको आगमनले भने उत्साहित बन्न थालेको बन्दिपुर सामुदायीक होमस्टेकी सचिव माया सुनार बताउँछिन ।

‘दसैंसंगै बन्दिपुरमा आन्तरिक पर्यटकको आगमन बढेको छ । कोरोनाका कारण थला परेको यहाँको होमस्टे लगायत पर्यटकीय क्षेत्रमा चहलपहल बढेको छ’, सचिव सुनारले भनिन्, ‘छिटफुट वाह्य पर्यटकसंगै आन्तरिक पर्यटक आउने क्रम बढेकाले सुरक्षित र व्यवस्थित रुपमा व्यवसायलाई अगाडि बढाउन व्यवसायीहरु लागि परेका छन् ।’

बन्दिपुरमा दसैंको फुलपातीदेखि पर्यटकको संख्या बढेको छ । आन्तरिक पर्यटकको चापसंगै विदेशी पर्यटक पनि देखिन थालेको बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधान बताउँछन् । उनले भने, ‘बन्दिपुरमा विदेशी पर्यटकमा भारतीय बढी छन् । विदेशी पर्यटकले पनि छिटफुट बन्दिपुरका होटल अग्रिम बुकिङ गर्न थालेका छन् । कोरोनाले थल परेको यहाँको पर्यटन व्यवसाय अब विस्तारै लयमा र्फकन्छ कि भन्ने आशा जगाएको छ ।’

पहिलो चरणमा कोरोनाको जोखिम बढेपछि २०७६ चैत्रदेखि बन्दिपुरको पर्यटन सुस्ताएको थियो । गत वर्षको दसैंपछि बन्दिपुरको पर्यटन चलायमान हुँदैगर्दा दोस्रो लहरको कोरोना फैलिएर गत बैशाखदेखि फेरि बन्द हुन पुगेको थियो ।

बन्दिपुरमा पर्यटन लक्षित व्यवसायका लागि करोडौं रुपैयाँ लगानि भएको छ । होटल तथा भौतिक पूर्वाधारमा ठूलो लगानि गरेपनि कोरोना कहरको चपेटामा पर्दा व्यवसायीहरुले बैंकको ऋण समेत तिर्न नसकेको क्षेत्रीय होटल संघ बन्दिपुर इकाईका अध्यक्ष विपिन प्रधान बताउँछन् ।

‘सरकार तथा सरोकारवाला निकायले कर तथा बैंक ऋण चुक्ता गर्ने समयअवधि थप जस्ता सहुलियत दिए राहत पुग्ने व्यवसायीको माग छ’, अध्यक्ष प्रधानले भने, ‘कोरोनाको प्रभावले बन्दिपुरको पर्यटन थला पर्दा व्यवसायीलाई बैंकको ऋण र घरभाडा तिर्न धौधौ भएको छ । बैंकको ऋण र घर भाडा तिर्न नसक्दा कतिपय होटल व्यवसायी पलायन पनि भएका छन् । अहिले देखिएको पर्यटकको चापले बैंकको ऋण र घरभाडा तिर्न केही सहज हुने आशामा व्यवसायी छन् ।’

यस्तै, पर्यटन क्षेत्रलाई सुरक्षित र सहज बनाउने योजनामा बन्दिपुर गाउँपालिकाले पनि आवश्यक छलपल गरी योजना बनाउँदै अगाडि बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए । उनले भने, ‘व्यवसायीहरुले कर छुटको माग गरेपनि आन्तरिक आम्दानी न्यून रहेका कारण त्यसका विषयमा छलफल भइरहेको र गाउँपालिकाले व्यवसायीहरुलाई राहत दिन व्यवसायीक हित कोष स्थापना गर्ने तयारी गरेको छ ।’

यस्तै, पर्यटक बढिरहेको समयमा बन्दिपुर कोरोनाबाट सुरक्षित भएको प्रचासप्रसार गरेर घुम्न आउनलाई निम्तो बाँड्ने तयारीमा पनि बन्दिपुरेले योजना बनाएका छन् । बन्दिपुरमा साना ठुला गरी करिब ७० बढी होटल रेस्टुरेन्ट सञ्चालनमा छन् । आसपासका गाउँहरुमा आधादर्जन बढी होमस्टे सञ्चालनमा छन् ।

ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रुपमा रहेको तनहुँका पर्यटकीय स्थलहरुमा अहिले आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दै गएको छ । गाउँगाउँमा सञ्चालित होमस्टेहरुमा पनि यतिबेला आन्तरिक पर्यटकहरु पुग्दा थला परेको पर्यटन व्यवसाय विस्तारै लयमा र्फकन थालेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker