जिसस तनहुँले मापदण्ड र अनुमति बिना सञ्चालित क्रसर उद्योग सञ्चालनमा रोक लगायो

-
भञ्ज्याङ समाचारदाता (दमौली)
जिल्ला समन्वय समिति तनहुँले मापदण्ड र अनुमति बिना सञ्चालित क्रसर उद्योग सञ्चालनमा रोक लगाएको छ । तनहुँको बन्दीपुर गाउँपालिका-६ स्थित सराङघाटमा सञ्चालित नमूना ग्रिड एण्ड क्रसर प्रालिलाई सञ्चालनमा रोक लगाएको हो ।
प्रचलित कानूनले व्यवस्था गरेको अधिकार प्राप्त निकायबाट सञ्चालन अनुमति प्राप्त नागरिकन उद्योग सञ्चालन गर्न नपाइने व्यवस्था बमोजिम क्रसर बन्द गर्न निर्देशन दिइएको समन्वय समिति तनहुँले जनाएको छ ।
क्रसर उद्योग स्थापना र सञ्चालन गर्नुपूर्व वातावरणीय अध्ययन प्रतिवेदन तयार गरी स्वीकृत गर्नुपर्ने व्यवस्था र तोकिएको अधिकारीबाट सञ्चालन अनुमतिपत्र लिनुपर्ने व्यवस्थालाई नमूना ग्रिड एण्ड क्रसर प्रालि उद्योगले पालना नगरेको हुँदा उक्त शर्त पूरा नभएसम्म उद्योग सञ्चालनमा रोक लगाइएको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जनाएका छन् ।

नेपाल सरकारबाट स्वीकृत गरिएको ढुंगा, गिटी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ एवं गण्डकी प्रदेश सरकारबाट जारी गरिएको ढुंगा, गिटी, बालुवा उत्खनन्, संकलन, क्रसिङ र बिक्री वितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि २०७५ को व्यवस्था अनुसार उक्त उद्योगले आवश्यक पर्ने वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गरेको एवं अधिकार प्राप्त निकायबाट सञ्चालनको अनुमतिपत्र प्राप्त नगरेको समन्वय समितिले जनाएको छ ।
जिल्ला अनुगमन समितिले गत भदौ २४ गते बन्दिपुर गाउँपालिकाको कार्यालयलाई पत्र लेखेर उक्त क्रसर उद्योगको विवरण माग गरेको थियो । त्यसपश्चात् बन्दिपुर गाउँपालिकाले अनुगमन समितिलाई भदौ २९ गते पठाएको पत्रमा अनुमतिपत्रको पहिलो शर्तमा उद्योगको वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत भएको पत्र प्राप्त नभएको उल्लेख गरिएको छ ।
नेपाल सरकारबाट स्वीकृत भएको ढुंगा, गिटी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा ११ (२) (३) को व्यवथा अनुसार वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत नगरिकन क्रसर उद्योग सञ्चालनको अनुमति पत्र प्राप्त हुन नसक्ने व्यवस्था रहेको छ ।
यस्तै, गण्डकी प्रदेश सरकारबाट जारी गरिएको डुंगा, गिटी, वालुवा उत्खनन्, संकलन, क्रसिङ र बिक्री वितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि २०७५ को दफा १४-२) ले प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत नगरी ढुंगा, गिटी, बालुवा, माटो, चट्टान, दहत्तर बहत्तर उत्खनन्, संकलन, भण्डारण र प्रशोधनको कार्य गर्ने उद्योग सञ्चालन गर्ने कार्यलाई निषेधित कार्यको रुपमा व्याख्या गरेको छ।
जिल्ला समन्वय समितिले जिल्लाका स्थानीय तहसंग त्यहाँ रहेका क्रसर उद्योगको विवरण माग गरेको छ । समितिले सबै स्थानीय तहहरुलाई आफ्नो पालिका अन्तरगत रहेका क्रसर उद्योगको दर्ता, नवीकरण, प्रबन्धपत्र नियमावली, सञ्चालन अनुमतिपत्र, घरेलु कार्यालयमा दर्ता भएको प्रमाणपत्र, आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको पत्र, स्वीकृत भएको आइइ, इआइएको पत्र उद्योगसंग माग गरी अनुगमन समितिमा पठाउन निर्देशन दिइएको छ ।
त्यस्तै, समितिले व्यास नगरपालिकाको क्षेत्रभित्रका मादी नदीका विभिन्न ठाउँबाट ठेक्कापट्टा नहुँदै ढुंगा, गिटी, बालुवा उत्खनन्, शंकलन तथा ओसारपसार भएको भन्दै आवश्यक प्रक्रिया पुरा नगरिकन उत्खनन् भएको भए रोक्नका लागि व्यास नगरपालिकामा लेखि पठाउने निर्णय गरेको छ ।
जिल्ला अनुगमन समितिको बैठकले मादी नदी नियन्त्रणका लागि जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयलाई व्यास नगरपालिकाको सिफारिस पाएपछि काम अघि बढाउन दिने निर्णय पनि गरेको छ ।










