स्वास्थ्य मापदण्ड कडाइ गरी सबै क्षेत्र खुल्ला गर्न दमौलीका व्यवसायीको माग, तनहुँमा निषेधाज्ञा केही खुकुलो बनाउने तयारी

भञ्ज्याङ समाचारदाता/दमौली

नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमण समुदायमा फैलिएपछि गत वैशाख २३ गतेदेखि तनहुँमा निषेधाज्ञा जारी गरिएको छ। जिल्लाको ग्रामीण क्षेत्रमा संक्रमणको दर बढ्दै गएपनि शहर बजार क्षेत्रमा संक्रमणको दर केही घटेको भन्दै गत असार ७ गतेदेखि निषेधाज्ञालाई खुकुलो बनाइएको छ । स्थानीय प्रशासनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै अत्यावश्यकसंगै फेन्सी, कस्मेटिक, मोबाइल, पुस्तकपसल लगायतका व्यवसायलाई बिहान ८ देखि ११ बजेसम्मको समयसिमा तोकेर खोल्न दिएको छ ।

निषेधाज्ञा खुकुलो बनाउँदै लगेपछि अहिले बजार क्षेत्रमा मानिसहरुको चहलपहल बढेसंगै व्यवसायीहरुले केही राहतको महशुस गरेका छन् । सार्वजनिक यातायातका साधान सञ्चालन नहुँदा व्यापार व्यवसाय लयमा फर्कन नसकेको व्यास-२ ग्रिनसिटीका व्यवसायी नविन श्रेष्ठ बताउँछन् । समयसिमा तोक्नु भन्दा स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गरी सबै क्षेत्रलाई खुल्ला गराउँदै लग्नुपर्ने दमौलीका व्यवसायीको माग छ ।

यो विषम् परिस्थितिमा स्वास्थ्य सुरक्षा सामाग्रिको प्रयोग तथा मापदण्ड पालनामा व्यवसायीहरु नै सचेत बन्नुपर्ने व्यवसायी बलराम घिमिरे बताउँछन् । कोरोनासंग त्रसित भएर भाग्ने नभई अब स्वास्थ्य सुरक्षाका मापदण्ड र सरकारद्वारा निर्देशनको पूर्णपालना गरी सबै क्षेत्रलाई खुल्ला गर्नुको विकल्प नभएको पुस्तक व्यवसायी रामचन्द्र सापकोटा बताउँछन् ।

अहिले बिहान ५ देखि ११ बजेसम्म तनहुँका सबै बजार क्षेत्रका व्यापार व्यवसाय खुल्ला गरिएको छ । बैंक तथा वित्तीय संघ संस्थाहरु पनि बिहान १० देखि २ बजेसम्म खुल्ला गरिएको छ । निषेधाज्ञा खुकुलो बनाउँदा खुलेका व्यापार व्यवसायका कारण बजार क्षेत्रमा मानिसहरुको चहलपहल बढ्दै गएको छ ।
व्यवसाय खुल्ला गरिएपछि व्यापारी तथा सर्वसाधारणले स्वास्थ्य सुरक्षाका सामाग्रिको प्रयोग तथा मापदण्ड पालनामा लापरवाही गर्दा जोखिम बढ्दै गएको व्यास नगरपालिकाका जनस्वाथ्य अधिकृत प्रमोद सोतीले बताए । उनले भने, ‘अहिले बजार क्षेत्रमा संक्रमणको दर केही घटेको देखिएको छ तर, ग्रामीण क्षेत्रमा संक्रमण दर बढेको छ । सबै क्षेत्र खुल्ला गर्दा नागरिकस्तरबाट लापरवाही हुँदा संक्रमण पुनः फैलने हो कि भन्ने जोखिम पनि बढेको छ ।’

यस्तै, संक्रमणजन्य रोग सधै आइरहने हुँदा त्रसित भइर भाग्ने होइन अब यस्ता रोगसंग केसरी सुरक्षित हुन सकिन्छ त्यसका विकल्पहरु प्रयोग गरी सबै क्षेत्रलाई चलायमान बनाउनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ बताउँछन्। उनले भने, ‘मानिसमा रोगसंग लढ्ने प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि खानपिन, सरसफाई, खोपको व्यवस्थापन तथा नागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धि गरी कोरोना कहरले थलपरेका क्षेत्रलाई पुनः लयहमा फर्काउनु पर्छ ।’

कोरोना भाइरस संक्रमण जोखिम कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षाका सामाग्रि तथा मापदण्ड कडाइका साथ पालना गर्न र यदी लापरवाही भएमा दण्ड सजायको समेत व्यवस्था गरी व्यवसाय खुलाउन आग्रह गरिएपनि व्यवसायी तथा नागरिकस्तरबाट लापरवाही हुँदै आएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

अहिलेको विषम् परिस्थितिमा नागरिकको स्वास्थ्य सुरक्षा नै महत्वपूर्ण भएकाले यस तर्फ सबै सचेत बन्न आग्रह गरिएको र अबको निषेधाज्ञाको कार्यविधिलाई केही परिवर्तन गरी सरकारी कार्यालयको सेवा समेत सहज बनाउने योजना तनहुँ प्रशासनले बनाएको छ ।

स्वास्थ्य कार्यालय तनहुँको पछिल्लो तथ्याङ्क अनुसार ३ हजार १५४ जना कोरोना संक्रमित मध्ये २ हजार ५३९ जना निको भएका छन् भने ८० जनाको संक्रमणका कारण मृत्यु भएको छ । ५३५ जना सक्रिय संक्रमित रहेकामा २२ जनाको आइसोलेशनमा, २ जनाको आइसियुमा र ९ जनाको एचडियूमा राखेर उपचार भइरहेको छ भने अन्य होमआइसोलेशनमा बस्दै आएका छन् ।

तनहुँका बजार क्षेत्रमा कोरोना संक्रमणको दर केही कम भएको देखिएपनि ग्रामीण क्षेत्रमा भने भुषको आगो जस्तै फैलिएको छ । तनहुँमा अहिले पनि दैनिक कोरोना संक्रमित थपिने गरेका छन् । कोरोना संक्रमितलाई समाजले गर्ने व्यवहारमा परिवर्तन नआउँदा मिल्दाजुल्दा लक्षण देखिएका ग्रामीण क्षेत्रका बासिन्दा परीक्षणको दायरामा नआउँदा संक्रमण रोकथाम तथा नियन्त्रणमा चुनौती थपिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker