२७औं वन्यजन्तु सप्ताह : “मानव-वन्यजन्तु सह-अस्तित्व हाम्रो दायित्व”
नारायण खड्का/तनहुँ

‘मानव-वन्यजन्तु सह-अस्तित्व : हाम्रो साझा दायित्व’ भन्ने मूल नाराका साथ २७औं वन्यजन्तु सप्ताह सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २०५३ सालदेखि नयाँ वर्षो पहिलो हप्ता वन्यजन्तु सप्ताहको रुपमा मनाउँदै आएको छ । सोही अनुसार तनहुँको भानुभक्त प्राणी उद्यानले पनि विहीबार एक कार्यक्रम गरी मानव वन्यजन्तु बीचको सहअस्तित्वका विषयमा चर्चा गर्दै सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरेको छ ।
तनहुँको छिर्कनमा रहेको भानुभक्त प्राणी उद्यानको कार्यालयले अन्तरक्रिया, चरा अवलोकन साथै उद्यान सिमाना निरीक्षण तथा अनुगमन, सरसफाई, स्कूल शिक्षा कार्याक्रम, उपभोक्ता स्तरमा वन डढेलो सचेतना सम्बन्धी कार्यक्रम, मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणका विषयमा स्थानीय सरोकारवालासंग छलफल लगायतका कार्यक्रम गरी वन्यजन्तु सप्ताह मनाउने तयारी गरेको छ ।
‘मानव वन्यजन्तु बीचको सहअस्तित्व कायम गर्न नसक्दा पछिल्लो समय मानव वन्यजन्तु बीच द्वन्द्व बढ्दै गएको छ’, वन्यजन्तु सप्ताहको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले भने, ‘मानव वन्यजन्तु दुबै प्रकृतिमै आधारित भएर बाँचेका छन् । दुबैलाई बासस्थान तथा आहारा पनि आवश्यक भएकाले सहअस्तित्वलाई स्वीकार गरी वातावरण र वन्यजन्तुमैत्री क्रियाकलाप आजको आवश्यकता हो ।’
वन्यजन्तुको बासस्थान, आहारा नासिदै जाँदा वन्यजन्तु मानवबस्तिसम्म आइपुग्दा द्वन्द्व बढ्दै गएको छ । ‘वन्यजन्तु बेगरको मानव र मानव बस्ती बेगरको वन्यजन्तुको कल्पना गर्नपनि नसकिने हुँदा मानव समुदायबीचको सहअस्तित्व आवश्यक र यसका लागि सरकारले स्पष्ट कार्यविधिका साथै स्थानीय बासिन्दाको वातावरणमैत्री व्यवहारको खाँचो रहेको प्रजिअ अर्यालले बताए ।
मानव र वन्यजन्तुको सहअस्तित्व स्वीकार नहुँदा विभिन्न घटना घट्ने गरेकाले दुबैको अस्तित्व बराबर रहेको छ । मानव र वन्यजन्तुको सहअस्तित्वका विषयमा सचेत नबन्दा तनहुँमा बिगत चार वर्षेखि मानिस र वन्यजन्तु चितुवा बीच द्वन्द्व हुँदै आएको भानुभक्त प्राणी उद्यानका संरक्षण अधिकृत भोजराज पन्थले बताए।

‘वृहतरुपमा जनचेतना मुलक कार्यक्रम, वासास्थानको व्यवस्थापन, खानेपानीको स्रोत संरक्षण लगायतका कार्य गर्दै गएपछि पछिल्ला केही महिना यता तनहुँमा मानव वन्यजन्तु द्वन्द्व घट्दै जाँदा क्षतिमा समेत कमि आएको छ’, उनले भने, ‘वन्यजन्तुको संरक्षण भनेको सम्पूर्ण मानव जातिकै लागि भएको हुँदा जनस्तरबाटै अपनत्व लिएर जबसम्म संरक्षण कार्यमा जुटिदैन तबसम्म यो विषय पेचिलो बन्ने छ ।’
तनहुँमा बिगत चार वर्ष यता मानव र वन्यजन्तु चितुवाबीच बढेको द्वन्द्वका कारण ११ जना बालबालिकाको ज्यान गएको छ भने दर्जन भन्दा बढि व्यक्ति घाइते भएका छन् । यस्तै यो अवधिमा करिब १५ वटा चितुवा मृत अवस्थामा भेटिएका थिए भने १२ वटा चितुवा सुरक्षित रुपमा नियन्त्रणमा लिइ स्थान्तरण गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । द्वन्द्वका कारण पीडित परिवारलाई सरकारले करिब डेढ करोड बढि राहत समेत वितरण गर्नुपरेको छ भने बाली र पशुधनको क्षति पनि ठूलो परिणाममा छ।
तनहुँको भानु नगरपालिकाको वडा नं. ५ र ६, व्यास नगरपालिकाको वडा नं. ११ र १२ वडा क्षेत्रका ८ वटा समुदायिक वन, ५ वटा कबुलियती वन, ९६१ रोपनी निजी/आवादी जमिन, खोलानाला गरी ४२५ हेक्टर क्षेत्रफलमा भानुभक्त प्राणी उद्यान रहेको उद्यानका रेञ्जर दिपेश मिचारले बताए । उनका अनुसार यस उद्यानमा साल, कटुस, चिलाउने लगायतका ४० प्रजातीका वनस्पति, चितुवा, रतुवा, स्याल, खरायो, वन विरालो, रातो बाँदर, सालक गरी १३ प्रजातीका स्तनधारी जनवार र करिब १८५ प्रजातिका पंक्षी रहेका छन् ।
नेपालका रैथाने र गैर-रैथाने वन्यजन्तुको संरक्षण तथा संरक्षण मार्फ आमोदप्रमोद प्रदान गरी संरक्षण शिक्षा प्रदान गर्ने, वन्यजन्तुको वैज्ञानिक अध्ययन अनुसन्धान स्थलका रुपमा उद्यानलाई विकास गरिदै छ । पर्य-पर्यटन प्रवर्द्धन गरी स्थानीय जनताको जीवनस्तरमा वृद्धिमा टेवा पुर्याउनुका साथै घाइते र टुहुरा वन्यजन्तुको उद्धार र व्यवस्थापन गर्ने उद्यानको मुख्य उद्देश्य रेहको छ ।
भानुभक्त प्राणी उद्यानमा सहज पहुँच, पानीको श्रोत प्रशस्त, जलवायु तथा भौगोलिक विविधता, पर्यटकीय सहरहरुसंग जोडिनुका साथै धार्मिक, साँस्कृतिक र ऐतिहासिक रुपमा महत्वपूर्ण क्षेत्रको रुपमा रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा प्राणी उद्यान घोषणा गर्ने प्रावधान नहुनु, निजी जग्गा अधिग्रहण र मुआब्जा वितरण, विस्तृत परियोजना प्रतिवेदन निर्माण नहुनु, आवश्यक मात्रमा कर्मचारी पदपुर्ति नहुँनु जस्ता चुनौतीहरु उद्यानले झेल्दै आएको उद्यानका संरक्षण अधिकृत पन्थले बताए ।
हामीले अवलम्बन गरेका विकासका मोडेलले दिन प्रतिदिन जैविक विविधताहरु नास हुँदै गएका छन् । सडक विस्तार, विद्युतका हाइटेन्सन लाइन विस्तार जस्ता मानवीय क्रियाकलापले वनहरुमा भएको खण्डिकरणका कारण वन्यजन्तुको बासास्थान नासिदै गएका छन् । जैविक विविधता र वन्यजन्तुको संरक्षणका लागि विकास र संरक्षण जस्ता विषय संगसंगै लग्नु पर्दछ । विकास र संरक्षण दुबै मानवजातिकै लागि भएकाले यी दुइ कार्य गर्दा एकले अर्काको अस्तित्व स्वीकार्य गरी जान सकियो भने विकाससंगै र संरक्षण पनि हुन्छ ।










