पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुँदै आँधीमूल

भञ्ज्याङ समाचारदाता/दमौली

आँधीमूल बराही मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । आँबुखैरेनी गाउँपालिका-१ स्थित आँधीमूल पूजाअर्चना, दर्शन तथा वनभोजका आकर्षक गन्तव्य बन्दै गएको छ । पृथ्वीराजमार्गबाट नजिकै रहेका कारण यो ठाउँ पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुन थालेको हो । पृथ्वीराजमार्गको सत्रसयबाट २० मिनेटको दूरीमा आँधीमूल पुग्न सकिन्छ ।

आँधीमूलमा रहेको मन्दिर, २३ वटा धारा लगायतले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । आँधीमूलमा ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ । आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । आँधीमूल स्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढाटाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसी तिथि बाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ ।

आँधीमूल वनभोजस्थलको रुपमा समेत विकास हुन थालेको छ । यहाँ दैनिक वनभोजका लागि आन्तरिक पर्यटक आउने गरेको स्थानीयवासी गंगा थापाले बताए । उनले भने, “शनिबार त थामिनसक्नु भीड हुन्छ, अरु दिनमा पनि दुइ/तीन वटा समूह वनभोजका लागि आउने गरेका छन ।” आँबुखैरेनी गाउँपालिका-१ का वडाध्यक्ष किसन थापाले पछिल्लो समय यस ठाउँमा आउने पर्यटकको संख्या बढ्न थालेको जानकारी दिए । उनले भने, “सञ्चारमाध्यमबाट पनि यस ठाउँको प्रचारप्रसारमा ठूलो सहयोग मिलेको छ, त्यही कारण तनहुँका अतिरिक्त छिमेकी जिल्लाबाट पनि वनभोजका लागि पर्यटक आउनुहुन्छ ।”

पर्यटकको चहलपहल बढ्न थालेसँगै यस ठाउँमा थप पूर्वाधार निर्माण गर्ने सोच राखिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए । ‘सत्रसयदेखि आँधीमूलसम्म पुग्ने सडक कालोपत्रका लागि काम सुरु भइसकेको’ अध्यक्ष थापाले भने, ‘कच्ची रहेको सडकलाई कालोपत्र गर्नसके पर्यटकको संख्या झन् बढ्ने विश्वास लिएका छौँ । सडक कालोपत्रका लागि नाला निर्माणको काम सुरु गरिएको छ ।’

यस क्षेत्रको संरक्षण र विकासका लागि गाउँपालिकाले रु १५ लाखको लागतमा तारबारको काम गरिसकेको छ । हावाहुरी आउँदा र पानी परेको समयमा बस्न सहज बनाउने उद्देश्यले यस ठाउँमा ट्रष्ट निर्माण गरिएको छ । जंगलको खोचमा अवस्थित यस ठाउँमा पर्यटक सवारी साधन र पैदल हिँडेर सहजरुपमा नै पुग्न सक्छन् ।

गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको छ । प्यागोडाशैलीको मन्दिर, पार्क, दुइ पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जा लगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् । कञ्चन पानी रहेको पोखरीमा ठूलै सङ्ख्यामा खेल्ने माछा यस तीर्थस्थलको प्रमुख आकर्षण हो । जलदेवताका रुपमा विश्वास गरिने यहाँका माछा मरेमा अनिवार्यरुपमा संस्कार (काजकिरिया) गर्नुपर्ने प्रचलनले यहाँको सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ ।

प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आइएकामा विसं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । परापूर्वकालदेखि नै हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विर्सजन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ने कार्य चलिआएको छ । जल, जंगल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्रयाउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् ।

मन्दिरका पुजारी युवराज मास्के मगरका अनुसार दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउनेक्रम बढ्दै गएको छ । गण्डकी प्रदेश सरकारले पनि प्रदेशमा रहेका ११० पर्यटकीय गन्तव्यमध्येमा आँधीमूललाई राख्दै यसको विकासका लागि पनि चासो दिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker