“बारपाक सुलिकोटमा बालबालिकामा रक्तअल्पताको समस्या”

भञ्ज्याङ समाचारदाता/गोरखा

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाभित्रका बालबालिकामा रक्तअल्पताको समस्या देखिएको छ । गाउँपालिकाले सञ्चालन गरेको विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम अन्तर्गत पालिकाभित्र अध्ययनरत १० वर्षभन्दा माथि १२ कक्षासम्मका बालबालिकामा ‘हेमोग्लोबिन’ परीक्षण गर्दा धेरै बालबालिकामा रक्तअल्पताको समस्या देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत कृष्ण भट्टले राससलाई जानकारी दिनुभयो ।
रक्तअल्पता देखिएकामध्ये  केही बालबालिकामा कडाखालको रक्तअल्पता देखिएको उहाँले बताउनुभयो । ”रगत जाँच गरिएकामध्ये करिब २८ दशमलव ४८ प्रतिशतभन्दा बढी बालबालिकामा रक्तअल्पता देखिएको छ”, उहाँले भन्नुभयो, “परीक्षण गरिएका १४ जना बालिका र दुइजना बालकमा कडा खालको रक्तअल्पता देखिएको छ ।
शरीरमा आवश्यक पर्ने प्रोटिन, भिटामिन र खनिजको मात्रा कम हुँदा रगतमा हेमोग्लोबिनको मात्रा हुन्छ ।” उहाँका अनुसार जाँच गरिएकामध्ये पाँच सय २५ बालबालिकामा हेमोग्लोबिनको मात्रा १० देखि १२ जी/डीएल रहेको पाइएको छ भने १८ जनामा हेमोग्लोबिनको मात्रा नौ जी/डीएल भन्दा कम रहेको पाइएको छ । हेमोग्लोबिनको मात्रा पुरुषमा १३ दशमलव पाँच जी/डीएल र महिलामा १२ जी/डीएलभन्दा कम भएमा त्यसलाई रक्तअल्पता भएको मानिन्छ ।
हेमोग्लोबिनको मात्रा नौ जी/डीएलभन्दा कम भएमा कडा खालको रक्तअल्पता भएको मानिन्छ । “हेमोग्लोबिन कमीले शरीरमा रगतको मात्रा घट्ने र दैनिक कामकाज गर्नका लागि बाधा पुग्न सक्छ”, स्वास्थ्य शाखा अधिकृत भट्टले भन्नुभयो, “हमोग्लाबिनको मात्रा कम हुँदा शरीरका विभिन्न भागमा अक्सिजनयुक्त रगत पुर्याउने क्षमतामा ह्रास आउने र शरीरलाई आवश्यक पर्ने अक्सिजनको कमी हुन गई श्वासप्रश्वासमा समस्या हुन सक्छ ।”
गाउँपालिका स्वास्थ्य शाखाले स्थानीयस्तरमा रहेका ल्याबसँग समन्वय गरी मंसिर २८ बाट पुस ४ गतेसम्म पालिकाभित्रका सबै विद्यालयका बालबालिकाको हेमोग्लोबिन र रक्त सञ्चार ग्रुपको परीक्षण गरेको थियो । पोषणयुक्त खानेकुराभन्दा बाहिरबाट आयात गरिएका जङ्कफुडको प्रयोगका कारण धेरैजसो बालबालिकामा हेमोग्लोबिनको मात्रामा कमी देखिएको हुनसक्ने स्वास्थ्य शाखा अधिकृत भट्ट बताउनुहुन्छ ।
“गाउँपालिकाभित्र पोषण सुधार कार्यक्रम सञ्चालन भए, तर पोषण सुधारका लागि उत्पादन गरिएका खाद्यवस्तु बेचेर चाउचाउ खाने बानीको विकास भयो, कोदोलाई तिस्कार गर्ने, चामलको भात धेरै खाने संस्कार बसेको छ”, उहाँले भन्नुभयो, “स्थानीय उत्पादनको प्रयोगभन्दा बाहिरबाट ल्याइएको जङ्कफुड प्रयोगले समस्या निम्त्याउँदै गएको छ ।” कार्यक्रमबाट प्राप्त रिर्पोटका आधारमा आगामी दिनमा कार्यक्रम बनाउन सकियो भने पालिकाभित्रको स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उहाँ बताउनुहुन्छ ।
“यो कार्यक्रम गाउँपालिकाको एउटा सर्भे पनि हो”, उहाँले भन्नुभयो, “सर्भे गर्दा धेरै बालबालिकामा रक्तअल्पता देखिनु बालबालिकामा पोषणको अवस्था कमजोर भन्ने पत्ता लगाउनु हो, अहिले प्राप्त भएको तथ्याङ्कले आगामी दिनमा योजना बनाएर समस्या समाधान गर्न सजिलो हुन्छ ।” हेमोग्लोविनको मात्रा सुधारका लागि मुख्यरूपमा मानिस व्यक्तिगत खानपानमा सुधार गर्नुपर्ने स्वास्थ्य अधिकृत भट्टले बताउनुभयो। कोहीकसैमा परजीवी जुकाका कारणले पनि रक्तअल्पता हुनसक्ने उहाँको भनाइ छ ।
गाउँपालिकाले हरेक बर्षको मङ्सिर र जेठमा छ-छ महिनाको फरकमा बालबालिकालाई नियमितरूपमा जुकाको औषधि खुवाउने गरेको छ । ”विकासका कुरा जति गरे पनि हाम्रा बालबालिका स्वस्थ्य भएनन् भने हामी सफल हुन सक्दैनौँ”, उहाँले भन्नुभयो, “बालबालिका भनेका भोलिका कर्णधार हुन्, हामीले बालबालिकाको बृत्तिविकासमा ध्यान दिनैपर्छ ।”
पालिकाभित्रका बालबालिकामा रक्तअल्पताको समस्या धेरै देखिएपछि स्वास्थ्य शाखाले अबदेखि किशोरीका लागि सञ्चालन गर्दै आएको आइरन फोलिक एसिड चक्की खुवाउने कार्यक्रममा स्वास्थ्यकर्मी नै परिचालन गर्ने जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker