साहासिक पदयात्राका लागि थोराङ्ला पास

सन्तोष गौतम/रासस

म्याग्दी : शरद यामको सुरुआत र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश । अग्ला र नाङ्गा डाँडाको पृष्ठभूमिमा जता हेरे पनि देखिने हिमशृङ्खला । हिमाली बुकीको चरन खर्कबाट बेशी झर्दै गरेका चौरी, याक, भेडाच्याङग्रा र घोडाका बथान ।

विविधतायुक्त भूगोल, संस्कृति, प्रकृतिको सङ्गम र साहासिक मानिने थोराङ्ला झञ्ज्याङको पदयात्राको आकर्षण हो । थोराङ्ला झञ्ज्याङ समुन्द्री सतहदेखि पाँच हजार चार सय १६ मिटर उचाइमा छ । गण्डकी प्रदेशको लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला समेटिएको अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेकाले थोराङ्लालाई साहासिक गन्तव्यका रुपमा लिइन्छ ।

शरद यामको सुरुवातसँगै मनाङदेखि थोराङ्ला झञ्ज्याङ पार गरेर मुस्ताङतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढेको उपल्लो मनाङका होटल व्यवसायी समेत रहनुभएका जिल्ला समन्वय समिति मनाङका सदस्य घ्याचो गुरुङले बताउनुभयो ।

“थोराङ्ला र तिलिचो ताल घुम्न आउने मुख्य याम शरद र वसन्त नै हो”, उहाँले भन्नुभयो, “पहिले पथप्रर्दशक र भरिया बाहेक अधिकांश विदेशी पर्यटक मात्र आउने थोराङ्ला पदयात्रा पछिल्लो समय नेपालीहरुको पनि रोजाइमा परेको छ ।” थोरङ्ला ला भनेको तिब्बती भाषामा पास हो । शाब्दिक रुपमा यात्राको उच्च बिन्दु हो ।

दसैँ तिहारको बिदामा थोराङ्ला र तिलिचो घुम्नका लागि देशका विभिन्न ठाउँबाट कर्मचारी, व्यापारी, विद्यार्थीहरुको टोली आउने क्रम बढेको गुरुङले बताउनुभयो । सडक यातायात, आवास तथा होटलको व्यवस्था, पदमार्गको स्तरोन्नति, सञ्चार सुविधा विस्तार, डिजिटल मार्केटिङ र भ्रमणसम्बन्धी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले घुम्नैपर्ने गन्तव्यमा सूचीकृत गरेका कारण अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आकर्षण बढेको हो ।

मनाङदेखि थोराङ्ला हुँदै मुस्ताङ भ्रमण गरेर फर्किएकी काठमाडौँकी जुली श्रेष्ठले मनमोहक हिमशृङ्खला, विविधतायुक्त भूगोल, संस्कृति, रहनहसन, धार्मिक तथा वस्तुकला अवलोकन गर्न पाउँदा रमाइलो महसुस भएको अनुभव सुनाउनुभयो । यात्रामा अन्नपूर्ण प्रथम द्वितीय र चौथो धौलागिरिको साथै माछापुछ्रे, मनास्लु गङ्गपूर्ण तिलिचो चुचुरो अन्य हिमाल देख्न सकिन्छ ।

“तिलिचो यात्रा हुँदै थोरङ्ला पास गरेर मुक्तिनाथ झर्नु साहसिक यात्रा हो”, श्रेष्ठले भन्नुभयो, “अन्नपूर्ण सर्किटमा थोरङला सबैभन्दा उच्च स्थान भएकाले जोखिमपूर्ण पनि छ ।” चामेदेखि पाँच दिनको यात्रा गरेर थोराङ्ला हुँदै मुस्ताङको मुक्तिनाथ झर्न सकिन्छ । लामो अवधिको पदयात्रा गर्न चाहनेले लमजुङको बेशीसहरदेखि नै यात्रा सुरु गर्न सक्छन् ।

धेरैजसो पदयात्रीहरु गाडीबाट चामे पुगेर त्यहाँदेखि हिँड्ने गर्छन् । चामेबाट अपर पिसाङ र मनाङमा बास बस्ने गर्छन् । यहाँ बास बरेर पदयात्रीहरुले शरीरलाई त्यहाँको वातावरणसँग अनुकूलता मिलाउन सकिन्छ । माथिल्लो मनाङदेखि करिब चार घण्टाको पैदलयात्रा गरेर चार हजार ३६ मिटर उचाइको याकखर्क पुगिन्छ । छिनछिनमा बादल र घाम लाग्ने याकखर्कमा चौरीगाईको खर्क छन् । यहाँ इन्टरनेट सुविधा भएका होटल र लज पनि छन् ।

याकखर्कदेखि सात दशमलब तीन किलोमिटर यात्रा गरेपछि समुन्द्री सतहदेखि चार हजार चार सय ५० मिटर उचाइमा रहेको थोराङ्ला फेदीमा पुगिन्छ । थोराङ्ला फेदीदेखि चारदेखि पाँच घण्टा यात्रा गरेपछि चार हजार आठ सय छ मिटर उचाइको थोराङ्ला हाइक्यापमा पुगिन्छ ।

होटलहरुको सुविधा भएको हाइक्यापमा बास बसेका पर्यटकहरु बिहान उज्यालो नहुँदै थोराङ्लातर्फको यात्रामा निस्कन्छन् । दिउँसो हावाहुरी चल्ने र मौसम खराब हुने भएकाले बिहानै थोराङ्ला पुग्नका लागि रातिनै यात्रा गर्नुपर्ने पथप्रर्दशक सन्देश अधिकारीले बताउनुभयो ।

हाइक्याम्पदेखि थोराङ्ला हुँदै करिब १३ घण्टाको यात्रा गरेपछि तीन हजार सात सय ६२ मिटर उचाइमा अवस्थित मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथमा पुगिन्छ ।

सन् १९७० मा पदयात्राका लागि खुल्ला गरिएको थोराङ्लामा पछिल्लो समय विदेशीसँगै नेपाली पर्यटकहरु पनि आकर्षित भएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा १३ हजार नौ सय १० जना विदेशी पर्यटकले थोराङ्ला पास गरेर मनाङ हुँदै मुस्ताङ आएका थिए । उक्त आर्थिक वर्षको साउनदेखि असोजसम्म दुई हजार दुई सय ४२ जनाले थोराङ्ला पार गरेका थिए । चालु आर्थिक वर्षको असोज तेस्रो हप्तासम्म थोराङ्ला पार गरेर मुस्ताङ आउने पर्यटकको सङ्ख्या एक हजार सात सय ८१ जना रहेको एक्याप जोमसोमका प्रमुख रेग्मीले बताउनुभयो ।

अन्य ठाउँमा सडकका कारण पदमार्गहरु विस्थापित भएपनि थोराङ्लामा सडक पुग्ने सम्भावना नरहेकाले यसको दीर्घकालीन पर्यटकीय सम्भावना रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङको भनाइ छ । गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले थोराङ्लादेखि मुक्तिनाथ झर्ने मुस्ताङ तर्फको पदमार्ग स्तरोन्नति गरिरहेको उहाँले बताउनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker