मुग्लिन-आँबुखैरेनी सडकमा पहिरो : ‘सडकमुनि लडेको देखेकी थिइन्, श्रीमान् भन्ने थाहै भएन’
सविन लामिछाने
तनहुँको आँबुखैरेनीमा इलेक्ट्रोनिक पसल चलाउँदै आएका केशव घिमिरे शुक्रबार बिहान झिसमिसेमै नारायणघाट मुग्लिन सडकखण्डमा जाममा परेकी श्रीमती विष्णुमाया लामिछानेलाई लिन भनेर घरबाट निस्किएका थिए ।
छोरासहित चितवनको माइतीघर गएकी लामिछाने घर फर्कने क्रममा जाममा परेकी थिइन् । त्यसैले उनले श्रीमानलाई लिन बोलाएकी थिइन् ।
बिहानीपख जाम खुल्यो, उनी माइक्रोमा चढेर आँबुखैरेनीतिर लागिन् । आँबुखैरेनीमा रहेका उनका श्रीमान केशव मोटरसाइकलमा मुग्लिनतिर ।
मुग्लिन कटेर आँबुखैरेनीतिर अघि बढ्दै गर्दा साँखरमा लामिछानेले सडकमुनि एक जना मान्छे लडेको अवस्थामा देखिन् । उनले आफू चढेको माइक्रोका चालक र यात्रुलाई त्यो कुरा सुनाइन् पनि । तर कसैले चासो दिएनन् । माइक्रो सरासर आँबुखैरेनीतिर अघि बढ्यो । उनी घर पुगिन् ।
घरमा श्रीमान् हुने कुरै भएन, उनी श्रीमती लिन मुग्लिनतिर लागेका थिए । तर मुग्लिन पुगेका थिएनन् । उनका श्रीमान केशव साँखरमा दुर्घटनामा परेका थिए । जसलाई लामिछानेले देखेकी थिइन् र सहयात्रीहरुलाई सुनाएकी पनि ।
तर दुर्भाग्य, जहाँ केशव दुर्घटनामा परेर लडिरहेका थिए । त्यो ठाउँ नै बिहान ४ बजेर ५० मिनेटको आसपासमा पहिरोसहित नदीमा खस्यो, केशवपहिरोसँगै । घर पुगेकी लामिछानेले पछि मात्र साँखरमा पहिरोले सडक भत्कायो भन्ने थाहा पाइन् ।
‘दिदी र भाञ्जालाई लिन बिहानै जाँदा भीरमा खस्नुभएको रहेछ,’ निशान लामिछानेले भने, ‘दिदीले उताबाट आउँदा त्यहाँ मान्छे खसेको छ पनि भन्नुभएको रे । तर दुर्भाग्य आफ्नै श्रीमान रहेको थाहा नै भएन ।’
पहिरोस्थलबाट केशवसँगै मकवानपुरको हेटौंडाका ३३ वर्षीय यमबहादुर भुजेलको शव निकालेको तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । शव भेटिए पनि केशव चढेको ग १५ प २९५३ नम्बरको मोटरसाइकल अझै फेला पार्न सकेको छैन ।
भुजेल भने पहिरोमा नै पुरिएको बा १० च ४६७९ नम्बरको कारका चालक रहेको प्रहरीले जनाएको छ । भुजेलका भाइ विनोदका अनुसार उनी हेटौंडाबाट गोरखाका लागि यात्रु लिएर हिँडेका थिए । गोरखामा यात्रु छाडेर फर्कने क्रममा उनी पहिरोमा परेको प्रहरीले जनाएको छ । कारको नम्बर प्लेट र गाडीका केही टुक्रा भेटिए पनि पूरै कार भेटिएको छैन ।
पहिरोमा परेर बा ३३ प १०८१ नम्बरको मोटरसाइकल वेपत्ता भएको छ । तर मोटरसाइकलमा सवार व्यक्ति भने सकुशल रहेको खुलेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।
सडक आंशिक खुल्ला
पहिरोले मुख्य सडक नै बगाएपछि भित्तो खारेर बाटो निकालिएको छ । जहाँबाट साना सवारी साधन ओहोरदोहोर गरे पनि ठूला र मालवहाक गाडी सञ्चालनका लाग ४–५ दिन नै लाग्ने प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जनाए ।
दिउँसो साना गाडी चले पनि रातिको समयका लागि भने सडक पूर्ण रुपमा बन्द गरिएको छ । सडक डिभिजन कार्यालय दमौलीका प्रमुख लक्ष्मी केसीका अनुसार रातिको समयमा जोखिम भएकाले साना गाडी पनि बन्द गरिएको हो । तर अलपत्र सर्वसाधारणलाई पैदल हुँदै वारपार गर्न भने दिइने छ ।










