तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौ : मुख्यमन्त्री पाण्डे

दमौली : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न प्रदेश सरकारले सहजीकरण गर्ने बताएका छन् ।
ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको आयोजनाको शनिबार निरीक्षण गर्दै उनले आयोजना निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिए। आयोजना निर्माणका क्रममा आइपर्ने समस्या समाधानका लागि प्रदेश सरकारले सहजीकरण गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ । उनले तनहुँ जलविद्युत् आयोजनाले देशको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने उल्लेख गरे ।
मुख्यमन्त्री पाण्डेले तनहुँ जलविद्युत् आयोजनाको ‘प्याकेज–१’ अन्तर्गत बाँध निर्माणस्थल र ‘प्याकेज–२’ अन्तर्गत विद्युत् गृहको निरीक्षण गर्नुभएको थियो । उहाँलाई आयोजना प्रमुख श्यामजी भण्डारीले हालसम्मको कार्यप्रगतिका बारेमा जानकारी गराएका थिए ।
प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेदेखि कार्यान्वयनमा आएको थियो ।
यसको हालसम्मको प्रगति ४३ दशमलव पाँच प्रतिशत रहेको छ । भण्डारीका अनुसार प्याकेज–२ अन्तर्गतको विद्युत्भित्र संरचनागत कार्य सम्पन्न भई उपकरण जडान भइरहेको छ । यसअन्तर्गत भूमिगत विद्युत् गृहमा ६७ र ‘प्याकेज–३’ अन्तर्गत प्रसारणलाइन निर्माणमा ७४ प्रतिशत प्रगति भएको उनले जानकारी दिए । उनका अनुसार आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत ५० करोड ५० लाख अमेरिकी डलरमध्ये एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार,नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।










