बेनी–जोमसोम सडक खण्डमा वैकल्पिक मार्गको माग

बेनी :  बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डमा पहिराले सडक क्षतविक्षत भएपछि यहाँका सरोकारवालाहरुले वैकल्पिक सडकको माग गरेका छन् । अविरल वर्षासँगै आएको बाढी र पहिराले अन्नपूर्ण गाउँपालिकाको नारच्याङ पुलदेखि दानासम्म करिब ५५ बढी ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
पहिरोग्रस्त क्षेत्रको विकल्पमा नारच्याङको गाडपार र दानाको ठाँटीटोल जोड्ने गरी कालीगण्डकी नदीमा बेलिब्रिज बनाएर वैकल्पिक मार्ग सञ्चालनमा ल्याउन स्थानीय र सरोकारवालाले माग गरेका हुन् । अहिले बेनी–जोमसोम सडकका सवारी साधन बेनीबाट नारच्याङ गाउँ हुँदै घरापमा पुगेर रोकिने गरेका छन् ।
यसअघि नै घरापदेखि गाडपार हुँदै कोप्चेपानीसम्म सडकको ट्र्याक खनिएकाले सडकको मर्मत गरी कालीगण्डकी नदीमा बेलिब्रिज बनाउन सकेमा दानाको पहिरोग्रस्त जोखिमयुक्त ठाउँको वैकल्पिक मार्ग तयार हुने जिल्ला समन्वय समितिका निवर्तमान सदस्यसमेत रहनुभएका गाडपारका अगुवा मेखबहादुर गर्वुजाले जानकारी दिनुभयो ।
दानाको गुइँठे, सुकेबगर, जलथले, खामभिक्ता लगायतका क्षेत्रमा पहिरोले कालीगण्डकीको नदी तीरबाटै बेससमेत बगाउन थालेपछि बेनी–जोमसोम सडकमा एक सातादेखि सिधा यातायात अवरुद्ध बनेको छ । दानाको ठाँटीटोल र गाडपार जोड्ने बेलिब्रिजका लागि दुवैतर्फका भूगोलसमेत पक्की रहेकाले पहिरोको दीर्घकालीन रोकथाम नहुँदासम्म वैकल्पिक सडकले राहत दिने गर्बुजाले बताउनुभयो ।
“हामीले पटक–पटक बेलिब्रिज बनाउन माग गर्दै आएका छौं, गाउँपालिका र बेनी–जोमसोम–कोरला सडक आयोजनालाई पनि ध्यानाकर्षण गराएका छौँ, कम्तीमा बेनी–जोमसोम सडक खण्डका विभिन्न ठाउँमा रहेका बेलिब्रिजलाई यहाँ स्थानान्तरण गर्न सके अहिले यात्रुहरुले भोग्दै आएको सास्ती हट्ने थियो”, गर्वुजाले भन्नुभयो ।
दाना क्षेत्रका विभिन्न ठाउँमा खसेको पहिरोले सडकमा ठूलो क्षति भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । यस सडक आयोजनाअन्तर्गत अहिले बेनीदेखि नारच्याङपुलसम्म र दानादेखि जोमसोम खण्डको सडक मात्रै सञ्चालनमा रहेको छ ।
सडक अवरुद्ध भएपछि घाँसादेखि नारच्याङको घरापसम्म नै सर्वसाधारण र पर्यटकहरुले पैदल हिँडेर आवतजावत गर्नुपरेको छ । विदेशी पर्यटक र तीर्थयात्रीले हिलोमा जोखिम मोलेर कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । सडक खण्डका बीचमा पर्ने दाना क्षेत्रमा मात्रै दर्जनौं ठाउँमा पहिरोले सडक अवरुद्ध बनेको र मर्मत गरी सञ्चालन गराउने प्रयास जारी रहेको सुपरभाइजर शेरचनले बताउनुभयो ।
कालीगण्डकीको तीरदेखि नै सडकको बेस भत्किएकाले सडक मर्मत गरी सञ्चालन गराउन समस्या भएको छ । सडक अवरुद्ध भएपछि मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दानामा खाद्यान्न, इन्धन लगायतका अत्यावश्यक सामग्रीको ढुवानीमा समेत समस्या भएको छ भने बिरामीलाई अस्पताल जान पनि सकस भएको छ ।  रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker