शुक्लागण्डकीको च्यवनधाममा धार्मिक महोतसव सुरु
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी-२, गाछेपानीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा शिव महिना बोलबम धार्मिक महोत्सव सुरु भएको छ । धाम क्षेत्रको विकास र वडा नं-९ मा रहेको गौं संरक्षण केन्द्रको व्यवस्थापनका लागि रकम जुटाउने उद्देश्य सहित धार्मिक महोत्सव सञ्चालन गरिएको हो ।
धार्मिक महोत्सवको एक कार्यक्रमका बीच सोमबार शुभारम्भ गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिकस्थललाई पर्यटनसँग जोडेर विकास गर्नुपर्ने बताए । उनले धार्मिकस्थललाई पर्यटनसँग जोड्न सकिए विकास सम्भव रहेको उल्लेख गरे ।
गण्डकी प्रदेश धार्मिक पर्यटनमा धनी रहेकाले धार्मिक पर्यटनको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने उनले बताए । उनले भने, ‘मुक्तिनाथ च्वयनधाम पछिल्लो समय धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेकाले यसको आवश्यक पूर्वाधार विकासका लागि सरकार सकारात्मक छ ।’
‘गण्डकी प्रदेश पर्यटनमा धनी छ, धार्मिक पर्यटनमा गण्डकी प्रदेशमा प्रशस्त सम्भावना छ । यसतर्फसरकारको ध्यान गएको छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘धार्मिक, साँस्कृतिक, प्राकृति लगायतका विविध आयमलाई पर्यटनसंग जोडेर समृद्धिको बाटो तय गर्नुपर्छ ।’
धार्मिक महोत्सव उद्घाटन समारोहमा पुर्वमन्त्री आशा कोइरालाले शुक्लागण्डकीको विकासले गण्डकी प्रदेशकै विकास हुने बताइन् । उनले यस क्षेत्रमा गण्डकी विश्वविद्यालय संचालन गर्ने भनिए पनि ल्याउन नसएकिो हुँदा शिक्षण अस्पताल ल्याउनु पर्ने, च्यवनधाम र ढोरबाराही मन्दिरकोे विकासलाई प्राथमिकता दिनुपर्ने, सेती नदीमाथि पुल निर्माण गर्न आवश्यक रहेको भन्दै मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण गराएकी थिइन् ।
महोत्सव मुल संयोजक विमलप्रसाद रिमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख भागवतवाचक राधिका दाशी, गण्डकी प्रदेश सभा सदस्यद्वय अशोककुमार श्रेष्ठ, श्यामराजा महत, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित लगायतले धार्मिक क्षेत्रको विकासमा सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग र सहकार्य गर्नुपर्ने बताएका थिए ।
यस्तै, औपचारिक कार्यक्रम अघि त्रिवेणी धाम दोभानबाट बोलबम यात्रा तथा नगरपालिका गेटबाट स्टार नौमति बाजा समुह लेखनाथको नौमति बाजा र विभिन्न सघसंस्थाको सहभागीतामा झाँकीसहितको शोभायात्रा निकालिएको थियो ।
च्वयनधाम र गौसंरक्षण केन्द्र सञ्चालनार्थ आर्थिक संकलन गर्ने उद्देश्यसहित च्यवनधाममा बोलबम महोत्सव आयोजना गरिएको हो । साउन १५ गतेसम्म हुने उक्त महोत्सवमा भागवत् मञ्जरी राधिका दासीजीले कथा वाचन गर्नेछिन् ।
महोत्सव मूल समारोह समितिका संयोजक विमलप्रसाद रिमालका अनुसार महोत्सवका क्रममा भक्तजन तथा दानवीरबाट संकलित रकम च्यवनधाम र गौ संरक्षण केन्द्रको विकासमा खर्च गरिनेछ । महोत्सवबाट रु एक करोड बराबरको रकम संकलन गर्ने लक्ष्य लिएको उनले बताए । च्यवनधामले प्रत्येक वर्ष साउन महिनामा शिव महिमा तथा बोलबम धार्मिक महोत्सव गर्दै आएको छ ।
च्यवनधाम पछिल्लो समय धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको छ । यहाँ शिव मन्दिरका साथै मुक्तिनाथकै झल्को दिने एक सय आठ धारा, एक सय आठ ओमकार कल्पवृक्ष, एक सय आठ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्कलगायतका संरचना बनाइएको छ । बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै बौद्ध गुम्बा पनि च्यवनधाम परिसरमा छ । बौद्ध धर्मावलम्बीको जागरूकतालाई सम्मान गर्दै गुम्बा पनि बनाएको च्यवनधाम समितिका अध्यक्ष होमनाथ लम्सालले बताए ।
मन्दिर क्षेत्रमा एक दशकको अवधिमा रु तीन करोडभन्दा बढी पूर्वाधार निर्माणमा लगानी गरिएको छ । उक्त रकम दान संकलनसँगै संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पनि उपलब्ध गराएका छन् । मन्दिरमा अझै पनि पूर्वाधार थप गर्ने योजना छ । त्यसका लागि तीन तहका सरकारसँग सहयोग मागिने बताइएका छ ।
अब धाम परिसरमा बृहत् योजनाअनुसार विकास गर्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लम्सालले बताए । गुम्बाको तलपट्टी मिनी चिडियाखाना बनाउने योजना बनाइएको छ । गण्डकीको तीरको ढिस्कोको माथिपट्टी हनुमानको मूर्ति र त्यसको तलपट्टी शनि देवताको मूर्ति बनाउने योजना छ ।
च्यवनधाममा नयाँ वर्ष, साउने सोमबार, कृष्णअष्टमी, बाला चतुदर्शी र शिवरात्रिमा भक्तजनको बढी घुइँचो लाग्छ । प्रत्येक वर्षो साउन महिनामा शिवपुराण लगाउने गरिएको छ । लम्सालका अनुसार साउनमा प्रत्येक सोमबार र शिवरात्रि पर्वको बेला यहाँ दैनिक पाँच हजारभन्दा बढी भक्तजन भेला हुन्छन् । च्यवनधाममा रहेको शुक्लेश्वर महादेवको मन्दिरमा पूजाअर्चना गरेपछि सन्तान नभएकालाई सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ ।










