तनहुँमा ७०७ सम्बन्ध विच्छेदका मुद्दा : उमेरै नपुगी विवाह, उमेर पुगेपछि सम्बन्ध विच्छेद

सविन लामिछाने/तनहुँ

तनहुँको व्यास नगरपालिका वडा नं. १४ की दमौली (परिवर्तिन नाम)ले १५ वर्षको उमेरमा २०७० सालमा प्रेमविवाह गरिन् । सोचेअनुसार वैवाहिक जीवन चल्न नसकेपछि उनले शुक्रबार जिल्ला अदालत तनहुँमा सम्बन्ध विच्छेद मुद्दाको दर्ता गराइन्।

पतिले मदिरा सेवन गरी कुटपिट गर्ने, मानसिक तथा शारीरिक यातना दिएका कारण उनले अंशसहित सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी हुन्। ‘सानैमा नजानेर विवाह गरियो, मैले धेरै दुःख पाएँ, अब म उसँग बस्न सक्ने अवस्था छैन’ उनले भनिन्, ‘श्रीमान्ले दिएको पीडा सहन नसकेपछि सम्बन्ध विच्छेद गर्ने प्रक्रियामा छु ।’

व्यास नगरपालिका वडा नं. १ की दमौली एक (परिवर्तिन नाम)का दुइ वटा छोराछोरी छन् । १५ वर्षको उमेरमै विवाह गरेकी उनले पनि जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी छिन् । उनले भनिन्, ‘२८ वर्षकै उमेरमा श्रीमान्सँग छुट्टएरि बस्ने दिन आउला भन्ने सोचेकै थिइन ।’

बालविवाह गरेकी उनलाई अहिले पछुतो छ नै, श्रीमानबाट छुट्टएरि बस्नको लागि अदालतको सहारा लिनुपरेको छ । ‘मेरो त भविष्य डामाडोल भयो नै तर यी दुइ छोराछारीको समेत भविष्य देखेर आफैलाई सराप्छु,’ उनले भनिन् ।

भिमाद नगरपालिकाकी २४ वर्षकी महिलाले २०७९ असारमा सम्बन्ध विच्छेदको लागि जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता गरिन् । २० वर्षको उमेरमा वैवाहिक जीवन सुरूआत गरेकी उनले श्रीमानले दिनहुँ जसो शारीरिक यातना दिने, कुटपिट गरेपछि माइतीमा बस्दै आएकी छन् । ‘दिनरात झगडा हुन्छ, अब म तँलाई पाल्न सक्दिन, तँ आफ्नो बाटो लाग, म मेरो बाटो लाग्छु भन्नुहुन्छ’ उनले भनिन्, ‘श्रीमान्को व्यवहार र बचन खप्न नसकेपछि सम्बन्ध विच्छेदको निर्णयमा पुगें ।’

यी त प्रतिनिधि घटनामात्रै हुन् । तनहुँमा उमेर नपुग्दै विवाह गर्ने र बुझने भएपछि समस्यामा परेर सम्बन्ध विच्छेद गर्ने बढेका छन् । जिल्ला अदालत तनहुँका अनुसार जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । श्रेस्तेदार मिनबहादुर कुँवरले अनुसार आर्थिक वर्ष २०७८/०७९ मा सम्बन्ध विच्छेदको संख्या ७ सय ७ रहेको छ ।

गएको साउनमा ५७, भदौमा ६१, असोजमा ४८, कात्तिकमा ६८, मंसिरमा ७३, पुसमा ७४, माघमा ६४, फागुनमा ७९, चैतमा ६७, वैशाखमा ५०, जेठमा ५७ र असारमा ४९ मुद्दा दर्ता भएका थिए ।

आर्थिक वर्ष २०७७/०७८ मा ६७८ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । जसमा ४६३ फर्र्छौट भएका छन् भने २१५ को फैसला हुन बाँकी छ । गएका आर्थिक वर्षमा जिल्ला अदालतमा कुल १ हजार ५१ मुद्दा दर्ता भए जसमा ७४७ मात्रै सम्बन्ध विच्छेदका मुद्दा रहेका छन्। ‘जिल्ला अदालतमा सम्बन्ध विच्छेद गर्ने भनेर दैनिकजसो नै आउने गरेका छन्’, कुँवरले भने ।

सम्बन्ध विच्छेदका मद्दामा अधिकांश २० देखि ३० वर्ष उमेरको हुने गरेका छन् । उनले भने, ‘विवाह गर्ने उमेरमा सम्बन्ध विच्छेद गर्न आउँछन्, हामीले मिलाउन खोज्छौं । तर उनीहरु छुट्टनिे भन्छन् ।’

उमेर नपुगेर नै भएको विवाहका कारण, पछि आफू बुझने भएपछि समस्या देखिंदा सम्बन्ध विच्छेद गर्न आउने गरेको उनको भनाइ थियो। सम्बन्ध विच्छेदपछि आमा बुवाले त स्वतन्त्र जीवन बिताउलान् तर त्यसको प्रत्यक्ष असर भने बालबालिकालाई पर्ने गरेको छ ।

आमा बुवाको सम्बन्ध विच्छेदले बालबालिकामा मनोवैज्ञानिक असर पारेको अधिकारकर्मी एवं अधिवक्ता सरिता भण्डारीले बताइन् । उनले भनिन्, ‘छोराछोरी जन्मेपछि सम्बन्ध विच्छेद गर्ने गरेका छन् । बच्चाहरु सानो हुँदा अभिभावकहरु कुनै कारणले सम्बन्ध विच्छेद गर्छन्, त्यसपछि बच्चाको जिम्मेवारी आमा वा बुवा एक्लैले राम्रोसँग पूरा गर्न सक्दैनन् ।

उनका अनुसार सम्बन्ध विच्छेदका घटना बालविवाह, विपन्नता, मोबाइल फोनको दुरुपयोग, वैदेशिक रोजगारी, अशिक्षा जस्ता कारणले हुने गरेको छ । यसैगरी कुटपिट, खान लगाउन नदिनु, बच्चा जन्माउने विषयमा कुरा नमिल्नु, सम्पत्ति प्राप्तिमा लोभ हुनुलगायतका कारणले पनि सम्बन्ध विच्छेद हुने गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker