सडक दुर्घटनाको क्षति : विद्यालय पुग्नै पाएनन् आयुष !

नारायण खड्का/तनहुँ

तनहुँको बन्दिपुर गाउँपालिका-५ याम्पा आँधीखोलामा राजमार्गसंगै रहेका झुप्रोमा ट्रक अनियन्त्रित भई छिर्यो । झुप्रो भित्र र बाहिर सिमान्तकृत भुजेल समुदायका बालबालिका विद्यालय जाने तयारी गर्दै थिए ।

बिहानको करिब ९:३० बजे सडक छेउमा आयुष सहित छ जना बालबालिका विद्यालय जाने तयारीमा पोशाक लगाएर विद्यालय बसको प्रतिक्षामा थिए । आँवुखैरेनी गाउँपालिका-१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु घरको अगाडि सडक छेउमा बसको प्रतिक्षामा थिए ।

सोही समयमा अचानक डुम्रेतर्फबाट आएको ट्रकले बालबालिकासंगै छेउमै रहेका दुइ घरलाई ठक्कर दियो । ठक्करबाट विद्यालय जान तयारी गरिरहेका छ विद्यार्थी र अन्य दुइ जना घाइते भए । विद्यालय जान हिँडेका विद्यार्थी घाइते भएपश्चात् अस्पताल जान बाध्य भए । घाइते अवस्थामा उनीहरुलाई तत्कालै चितवनको पुरानो मेडिकल कलेज पठाइयो । घाइतेमध्ये १२ वर्षीय आयुष भुजेलको उपचारका क्रममा मृत्यु भयो ।

सिमान्तकृत भुजेल समुदायका आयुष जिपिए ‘ए’ ल्याएर कक्षा ३ उत्तीर्ण भएका थिए । नयाँ शैक्षिक सत्र सुरु भएसंगै उत्साहका साथ विद्यायल जाने आउने गर्दथे । सदाझै बुधबार पनि बिहानै खाना खाएर विद्यालय पोशकमा सजिएर घर अगाडि नै विद्यालय बस कुरिरहेका १२ वर्षीय आयुष विद्यालय पुग्नै पाएनन् ।

मुग्लिन तर्फ जाँदै गरेको ना४ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई अचानक सडक छेउमा रहेको सुनमाया र सनबहादुर भुजेलको घरमा ठोक्किन आइपुग्यो । ट्रकले दुइ घर भत्काउदै घरभित्र र घरबहिरा रहेका ८ जनालाई घाइते बनायो । उक्त दुर्घटनामा परी आयषसंगै ३ जनाले ज्यान गुमाएका छन् ।

घाइतेहरुमध्ये आयुष, ५० वर्षीय चेतबहादुर घर्ती र ६९ बर्षीय सनबहादुर भुजेल गरी ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक मोहनबहादुर खाँणले बताए । मृतकहरु आफन्तहरु रहेको बताइएको छ । प्रहरीका अनुसार ६ बर्षीया आयुषा भुजेल, १० बर्षीया जस्मिन भुजेल, १० बर्षीय इश्वर भुजेल, ८ बर्षीय समिर भुजेल र ५ बर्षीय सन्तोष भुजेल गरी ५ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । यी बालबालिकाहरु पनि विद्यालय जाने तयारी गरिरहेका थिए ।

अभिभावकहरु सडक किनारको झुप्रोमा बाँसबाट विभिन्न सामाग्रीहरु निर्माण गरी जीविकोपार्जन गर्दै आएका छन् । यी बालबालिकाहरु पनि सोही झुप्रोमा अभिभावकसंगै बस्दै आएको आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयका प्रधानध्यापक सरितादेवी पौडेलले बताइन् ।

‘सिमान्तकृत भुजेल समुदायका बालबालिकाहरुमध्ये आयुषको पढाइ राम्रो थियो । अभिभावकको आर्थिक अवस्था कमजोर भएपनि विद्यालयकले लिने अतिरिक्त शुल्कहरु निःशुल्क गरी पठनपाठनमा सहयोग गर्दै आएको थियो’, उनले भनिन्, ‘दुइ वर्ष अगाडि नै उनको परिवारले बन्दिपुर-५ स्थित चन्द्रोदय आधारभूत विद्यालयमा राख्छु भन्दा हामीले निःशुल्क पठनपाठनको व्यवस्था मिलाएका थियौ । तर आज दुःखद् घटना भयो ।’

आयुष शान्ति र झलक भुजेलका छोरा हुन् । आमाले पुर्ख्यौली पेशा (बाँसको चोयाबाट डोको/नाङ्लो बुन्ने) गर्छिन भने बुबाले केही समय अगाडदेखि मात्रै पृथ्वीराजमार्ग निर्माणका लागि स्थापना गरिएको चाइनिज क्यापमा काम गर्न थालेका थिए । सोही दुर्घटनामा परी आयुषको सानी बहिनी आयुषा पनि घाइते भएकी छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । घाइते छोराछोरीलाई लिएर संगै अस्पताल पुगेका आमाबुबा शान्ति र झलकले छोरो गुमाइसकेका छन् भने छोरीको स्वास्थ्य सुधारका लागि प्राथना गरिरहेका छन् ।

यस्तै, सडक निर्माणको क्रममा भएका खाल्डाखुल्डी, पानी हाल्दा हिलो र सुख्खा हुँदा धुलोका कारण यस्ता अप्रीय घटनाहरु निम्तिदै आएको स्थानीय रेशम भुजेलले बताए । ‘यतिबेला सडकको अवस्था दयानीय छ’, उनले भने, ‘त्यहि माथी तीव्र गतिमा सवारी साधनहरु गुड्दा यस्ता घटना निम्तिरहेका छन् । हामी सडक छेउछाउ बस्नेलाई कहिले धुलो र हिलोले सताएको छ भने कहिले यस्ता अप्रीय घटनामा आफन्त गुमाउनपर्दाको पीडाले थप पीडित बनाउने गरेको छ ।’ सडकको अवस्था ठिक छैन भन्ने थाहा हुँदाहुँदै पनि लापर्वाहीका साथ सवारी साधन चलाउँदा दुर्घटना निम्तिने गरेको छ ।

चार घण्टा पछि राजमार्ग सुचारु

यस्तै, दुर्घटनाको विषयलाई लिएर बुधबार दिउँसो करिब ४ घण्टा राजमार्ग पूर्णरुपमा बन्द रहेको थियो । जिल्ला प्रशासन कार्यालय तनहुँको रोहवरमा ४ बुँदे सहमति गरी दिउँसो करिब २ बजेबाट राजमार्ग सुचारु गरिएको थियो ।

दुर्घटनाका पीडित र सरकार पक्ष बीच सवारी दुर्घटनाका दोषीलाई कानून बमोजिम कारवाही गर्ने, घाइतेको शीघ्र उपचारको पहल गर्ने, घाइते र मृतकका परिवारलाई कानून बमोजिम क्षतिपूर्ति दिलाउने, पीडित परिवारलाई उचित राहतको लागि सम्बन्धित निकायसं समन्वय र पहल गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए ।

यस्तै, पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नती कार्य भइरहेको हुँदा राजमार्गको यात्रा जोखिमपूर्ण बन्ने गरेको छ भने राजमार्ग छेउछाउँका बासिन्दाले दुर्घटनासंगै धुलो र हिलोको सास्ती झेल्दै आएका छन् ।

४४ वटा सडक दुर्घटनामा २२ जनाको मृत्यु

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको बैशाख २० गतेसम्म पृथ्वीराजमार्गको तनहुँ खण्डमा ४४ वटा सडक दुर्घटना भएका छन् । जसमा २२ जनाको मृत्यु भएको छ भने ४२ जना गम्भीर र ११ जना सामान्य घाइते भएका छन् । दुर्घटनामा २६ वटा मोटरसाइकल, ५ वटा ट्याक्टर, ९ वटा जीप/कार, ५ वटा माइक्रो, ५ वटा बस, २ वटा टिप्पर र ५ वटा ट्रक परेका छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा भएको ९७ दुर्घटनामा ४४ जनाको मृत्यु भएको थियो भने ६३ जना गम्भीर र ८५ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा भएको १३० वटा दुर्घटनामा ४८ जनाको मृत्यु भयो भने ७६ जना गम्भीर घाइते भएका थिए । यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा भएको एक सयवटा दुर्घटनामा ४९ जनाको मृत्यु भयो भने ६४ जना गम्भीर घाइते भएको ट्राफिक प्रहरी कार्यालय तनहुँको तथ्याङ्कमा उल्लेख छ ।

पृथ्वीराजमार्गको आँबुखैरेनीदेखि पोखरासम्म सडक बिस्तार तथा स्तरोन्नती कार्य भइरहेको छ । राजमार्ग बिस्तारका कार्यलाई व्यवस्थित नबनाइदा यात्रा जोखिमपूर्ण बन्ने गरेको छ । घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्य त छदै छ सडकको धुलो मार्नका लागि निर्माण पक्षले हाल्ने गरेको पानीका कारण सडक हिलाम्मे हुँदा साना सवारी साधनका यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाँध्य छन् ।

सडक सुरक्षा मापदण्डको पालना गर्न आवश्यक छ : सांसद वाग्ले

यस्तै, तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले बन्दिपुर-५ याम्पा आँधीखोलामा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् शोक वक्तव्य जारी गरी उक्त घटनाले आफूलाई दुखित तुल्याएको उल्लेख गरेका हुन् ।

दुर्घटनामा परी मृत्यु भएका १२ र्वषीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षीय सनबहादुर भुजेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै वाग्लेले अन्य घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले भने ‘तनहुँको नवनिर्वाचित सांसदको हैसियतमा जति दुःखी छु, त्यति नै चिन्तित देशको सडकको दुरावस्था र बढ्दो सडक दुर्घटनाहरुबाट छु । नागरिकको जीवनको रक्षा सरकारको पहिलो दायित्व र कर्तव्य हो ।’

नेपालमा सडक दुर्घटनाबाट मृत्युदर दक्षिण एसियाली दाँजोमै उच्च हुँदै गएको बताउँदै वाग्लेले सडक सुरक्षाको सन्दर्भमा यसअघि भएका अध्ययन प्रतिवेदनहरुको कार्यान्वयन र सडक सुरक्षा मापदण्डको पालनाको लागि तत्काल पहल गर्न आवश्यक रहेको बताए ।

‘यस अतिरिक्त सरकारले सडक दुर्घटनामा परी मृत्यु भएका परिवारलाई प्रदान गरिने बीमा रकम प्राप्तिको प्रक्रिया सरलीकृत गर्दै पीडामा परेका परिवारजनलाई थप सास्ती नदिने उपायहरु खोज्न पनि आवश्यक छ’ उनले भने, ‘सडक दुर्घटनामा घाइते भएकाहरुलाई बेवास्ता गरिदा सयौं नागरिक अङ्भङ्ग भई उपेक्षित जीवनयापन गर्न बाध्य भएका छन् । सामाजिक सुरक्षा प्रत्याभूत गर्ने दायित्वबाट राज्य भाग्न नमिल्ने कुरालाई हामी सबैले मनन गर्नुपर्छ ।’

सडक दुर्घटना रोकथाम गर्न सकिने विषय भएको उल्लेख गर्दै वाग्लेले वर्षायाम सुरु हुनै लाग्दा हाम्रा सडकहरुलाई थप सुरक्षित कसरी बनाउने भन्ने विषयमा सरकारका सम्बन्धित निकायहरुले आजैबाट विपद्पूर्वको तयारी थाल्नुपर्ने बताएका छन् ।

उनले सडक सुरक्षा मापदण्डको पूर्ण पालना, विपद् न्यूनीकरणको लागि पूर्वतयारी र सडक स्तरोन्नति लगायतका विषयमा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण हुन आवश्यक रहेको बताएका छन् । नेपाल प्रहरीसहित सरकारी निकायहरु, जनप्रतिनिधि र नागरिक सबैले मिलेर काम गर्ने हो भने हामीले हाम्रा सडकहरुलाई सुरक्षित र विश्वासिलो बनाउन सकिने सांसद वाग्लेले बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker