डुम्रेस्थित एक घरमा आगलागी, करिव ४० मिनेटमा आगलागी नियन्त्रण

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार स्थित एक घरमा बुधबार विहान ११ः ४० बजे आगलागी भएको छ । उक्त आगलागीमा मानवीय क्षति नभएपनि घरमा रहेको करिव ५० मुरी धान क्षति भएको छ ।
स्थानीय केशव अधिकारीको घरमा आगलागी भएको जिल्ला प्रहरीले जनाएको छ । पक्की घरको पाँचौ तलमा आगलागी भएको खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय आबुखैरेनी, ईलाका प्रहरी कार्यालय भानु र प्रहरी चौकी डुम्रे तनहु“बाट प्रहरी निरीक्षक समेत ३६ जना प्रहरी कर्मचारीहरु र स्थानीयको सहयोगमा करिव ४० मिनेटमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
उक्त आगलागीबाट करिव ५० मुरी धान, पुराना काठपात तथा झ्याल ढोका र टिनको छानो जली नष्ट भएको जिल्ला प्रहरी नायव उपरीक्षक अशोक थापाले बताए । सो घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।










