तनहुँको दमौलीमा मापदण्ड विपरीतका “होर्डिङबोर्ड” हटाइदै
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले बजार व्यवस्थित बनाउन मापदण्डविपरीत राखिएका ‘होर्डिङबोर्ड’ हटाउन सुरु गरेको छ । नगरपालिकाले दमौली बजारलाई व्यवस्थित बनाउने योजना अनुरुप विभिन्न ठाउँमा विज्ञापनका लागि राखिएका होडिङबोर्ड, भित्तामा टाँसिएका पर्चा पमप्लेट लगायतका सामाग्रि नगरपालिकाले हटाउन थालेको हो ।
नगर प्रहरी शाखाका प्रमुख आशिस परियारका अनुसार सोमबार मात्रै तरकारी लाइन, सफासडक, मालपोत लाइन, सत्यवति लाईन, भोर्लेटारचोक लगायत मुख्य बजार क्षेत्रको मापदण्ड विपरितका होडिङबोर्ड हटाइएको छ । उनका अनुसार नगरपालिकाले तोकेको निश्चित ठाउँमा मात्र मापदण्ड अनुसारको बोर्ड भने राख्न पाइने छ ।
‘बोर्ड राख्न पाइन्छ, तर नगरपालिकासंग सम्झौता गरेर नगरपालिकाले तोकेको निश्चित ठाउँमा मात्र राख्न पाईन्छ’, उनले भने, ‘बजार क्षेत्रको सडकपेटीमा नियमविपरीत अव्यवस्थितरुपमा राखिएका व्यापारिक प्रयोजनका सामग्री हर्टाई व्यवस्थित गर्न आग्रह गरिएको छ ।’
यस्तै, नगरपालिकाले इन्टरनेट सेवा प्रदायकसंग समन्वय गरी बजार क्षेत्र भित्र रहेका अव्यवस्थित तारहरु पनि व्यवस्थित गर्न थालेको छ । विद्युतको पोलमा जथाभावी तार लगाउँदा आगलागीको जोखिम बढेको र सहर पनि कुरुप देखिएको भन्दै नगरपालिकाले इन्टरनेट सेवा प्रदायकलाई तार व्यवस्थित गर्न आग्रह गरेको थियो ।
दौ महिना भित्रमै दमौली बजार क्षेत्रका अव्यवस्थित तारहरु पनि व्यवस्थित हुने नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । नगरपालिकालेको समन्वयमा तारहरु व्यवस्थित गर्न थालिएको उनले बताए । नगरप्रमुख न्यौपानले भने, ‘इन्टरनेट र टिभी सेवा प्रदायकले आवश्यकता भन्दा बढी तार विद्युतको पोलमा झुड्याइदिन्छन्, शहर कुरुप मात्रै भएको छैन, कहिलेकाँही पोलमा आगलागीका घटना समेत भएका छन् । त्यसैले तार व्यवस्थित गर्न आग्रह गरेका थियौं, सोही अनुसार तारहरु व्यवस्थित गर्न थालिएको छ ।’